IME Life New

कृषि यान्त्रिकीकरणबाट उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सरोकारवालाको जोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आयात प्रतिस्थापन गर्न कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ को उद्घाटन समारोहमा बोल्दै उनीहरूले आधुनिक प्रविधिको प्रयोग विस्तार, स्वदेशमै कृषि उपकरण उत्पादन र यान्त्रिकीकरणका लागि आवश्यक नीतिगत तथा वित्तीय सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषि क्षेत्रका विभिन्न प्रविधि, उपकरण तथा सेवाहरू प्रदर्शनमा राखिएका छन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले वि सं २०७० मा मिनी टिलर चलाएर सुरु गरिएको प्रदर्शनी पछिल्लो समय थप व्यवस्थित र आधुनिक बन्दै गएको बताए । उनले यस वर्षको प्रदर्शनीमा बीउबिजनदेखि पशुपालन, मल, दाना, मौरीपालनलगायत कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाको सहभागिता रहेको जानकारी दिए ।

Esewa
Crest

प्रदर्शनी सफल बनाउन सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई धन्यवाद दिँदै उनले कृषि यान्त्रिकीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताए । केन्द्रीयस्तरको कृषि यान्त्रिकीकरण प्रदर्शनी आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदर्शनीस्थलको भौतिक अवस्था जीर्ण रहेकाले सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले कृषि मेसिनरी आयातमा भन्सार छुट, किसानलाई कृषि उपकरण खरिदका लागि सहज ऋण व्यवस्था तथा कृषि उपकरण मर्मतसम्भारसम्बन्धी तालिम र सीप विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्न सकिने बताए । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषिसम्बन्धी वस्तुको आयात करिब चार खर्ब ४१ अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै उनले यसमा खाद्यान्न मात्र नभई कच्चा खाद्य तेल, पशु आहार तथा प्रशोधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने स्पष्ट पारे ।

उनले किसानलाई भाषण र आश्वासनभन्दा प्रविधि तथा उत्पादन बढाउने साधन आवश्यक रहेको बताए । परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्न कृषि यान्त्रिकीकरण महत्त्वपूर्ण आधार भएको उनको भनाइ थियो ।

मन्त्री साहले कृषि मेसिनरी व्यवसायीलाई केवल उपकरण आयात तथा बिक्रीमा सीमित नभई स्वदेशमै कृषि औजार, मेसिन, पार्टपुर्जा र प्राविधिक उत्पादन गर्ने उद्योग विकासमा लाग्न आग्रह गरे । स्वदेशी कृषि मेसिनरी उत्पादनलाई प्राथमिकता, लगानीमैत्री वातावरण निर्माण तथा नेपाली भूगोल र किसानको क्षमताअनुसारका साना, किफायती र सहजै मर्मत गर्न सकिने उपकरण उत्पादनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

उनले कृषि यान्त्रिकीकरणलाई कृषि र उद्योग जोड्ने महत्त्वपूर्ण आर्थिक क्षेत्रका रूपमा विकास गर्न मन्त्रालयले आवश्यक नीतिगत सहजीकरण गर्ने बताए । कृषि मेसिनरीमा आत्मनिर्भर बन्न निजी क्षेत्रले पनि स्वदेशी उत्पादन, अनुसन्धान, प्रविधि हस्तान्तरण र नवप्रवर्तनमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।

ग्लोबल आइएमई बैंकका कार्यकारी निर्देशक सुरेन्द्रराज रेग्मीले किसान र प्रविधिलाई एउटै मञ्चमा जोड्ने काम गरेकोमा आयोजकलाई धन्यवाद दिए । कृषि क्षेत्रमा अपेक्षित उत्पादन र उत्पादकत्व हासिल हुन नसकेको अवस्थामा आधुनिक यान्त्रिकीकरणको प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो । उनले नेपालको भौगोलिक अवस्था र खेती प्रणालीलाई ध्यानमा राखेर बैंकले कृषि क्षेत्रमा वित्तीय साझेदारको भूमिका निर्वाह गरिरहेको बताए ।

खाद्य तथा कृषि संगठन (एफएओ) का कार्यक्रम व्यवस्थापक दीपक तुलाधरले जलवायु परिवर्तन, श्रमिक अभाव र युवाहरूको कृषि क्षेत्रप्रतिको घट्दो आकर्षणका कारण नेपालमा कृषि यान्त्रिकीकरणको आवश्यकता बढ्दै गएको बताए । यद्यपि, आवश्यकताबिनाको यान्त्रिकीकरणभन्दा किसानको आवश्यकता र खेती प्रणालीअनुसार उपयुक्त प्रविधि प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

एफएओले उत्पादन, भण्डारण र प्रशोधनका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै तुलाधरले साना किसानले महँगा उपकरण खरिद गर्न नसके पनि यान्त्रिकीकरणको सुविधा उपयोग गर्न पाउने व्यवस्था आवश्यक रहेको बताए । यसका लागि जलवायुमैत्री कृषि यान्त्रिकीकरणको प्रयोगमा एफएओले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो ।

बागमती प्रदेश सरकार कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधिर श्रेष्ठले कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा आगामी दिनमा पनि सहकार्य जारी रहने बताए । उनले साना कृषि उपकरणमा अनुदान वितरण गर्दा आवश्यकता र उपयोगितालाई ध्यान दिनुपर्ने बताए । अनुदानका कारण कतिपय स्थानमा आवश्यकताभन्दा बढी उपकरण पुगेको र प्रयोगविहीन अवस्थामा थन्किएको उल्लेख गर्दै उनले अनुदान प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले कृषि यान्त्रिकीकरणमा अनुदानको अत्यधिक प्रयोगले उपकरणको महत्त्व र गुणस्तरमा समेत असर पर्न सक्ने बताए । उनले कृषि उपकरणको गुणस्तरमा व्यवसायीहरूले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै केही व्यवसायीका कारण समग्र क्षेत्रकै गुणस्तर प्रभावित हुन नहुने धारणा राखे ।

राष्ट्रिय योजना आयोगका सदस्य देवेन्द्र गौचनले कृषि यान्त्रिकीकरणलाई कृषि क्षेत्रको रूपान्तरण, उत्पादन वृद्धि र लागत न्यूनीकरणसँग जोडेर अघि बढाउनुपर्ने बताए । उनले कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगसँगै नीतिगत स्पष्टता, लगानी र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको धारणा राखे । कृषि यान्त्रिकीकरणलाई किसानको वास्तविक आवश्यकता र देशको भौगोलिक अवस्थाअनुसार विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल कृषि अनुसन्धान परिषद्का प्रतिनिधिले नेपालमा कृषि यान्त्रिकीकरणको क्षेत्रमा पछिल्लो समय सकारात्मक काम भइरहेको बताए । उनले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न दिगो कृषि यान्त्रिकीकरणको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले पछिल्लो समय गाउँगाउँसम्म कृषि यान्त्रिकीकरणको पहुँच विस्तार हुँदै गएको र यसले किसानलाई खेतीपाती गर्न सहज बनाएको बताए । सरकारले पनि यस क्षेत्रमा ठूलो लगानी गर्दै आएको उल्लेख गर्दै उनले कृषि यान्त्रिकीकरण नीति पुनरावलोकन गर्नुपर्ने समय आएको बताए । उनले अनुदान वितरणलाई प्रभावकारी बनाउनुपर्ने र कृषि उपकरणको मर्मतसम्भारलाई पनि प्राथमिकता दिनुपर्ने बताए । उपकरण उपलब्ध गराएर मात्रै नहुने भन्दै उनले त्यसको मर्मत तथा सञ्चालनका लागि आवश्यक जनशक्ति र सेवाको व्यवस्था गर्न व्यवसायीहरूलाई आग्रह गरे ।

नामियाकी उपाध्यक्ष सुनिता निमाफुकिले कृषि यान्त्रिकीकरणको विकासका लागि व्यवसायी, सरकार र किसानबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले कृषि उपकरणको पहुँच गाउँगाउँसम्म पुर्‍याउन, किसानलाई आधुनिक प्रविधिबारे जानकारी दिन तथा उपकरणको प्रयोग र मर्मतसम्भारसम्बन्धी सीप विकासमा ध्यान दिनुपर्ने बताइन् । कृषि यान्त्रिकीकरणले खेतीपातीलाई सहज बनाउनुका साथै उत्पादन लागत घटाउन र कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सहयोग गर्ने उनको भनाइ थियो ।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले सहआयोजकको भूमिका निर्वाह गर्नेछ ।

तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शन गरिनेछ । यसले किसान, कृषि उद्यमी तथा कृषि व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS