काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
प्रहरीले काठमाडौं–१६ बस्ने धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा, काठमाडौं–३२ बस्ने उदयपुर घर भएका ४६ वर्षीय विष्णु खत्री, काठमाडौं–१ बस्ने सिन्धुली घर भएका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, टोखा–६ बस्ने गोरखा घर भएका ३८ वर्षीय राजेश बराम र गोकर्णेश्वर–८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार आशिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ, विष्णुले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ, दिनेशले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, राजेशले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितबाट १५ लाख ५० हजार रुपैयाँ र छिरिङले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितबाट ७ लाख ४० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको भन्ने पीडितहरु उजुरी परेको थियो। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले आशिकालाई काठमाडौं–१६ बाट बिहीबार, विष्णुलाई काठमाडौं–३२ बाट र दिनेशलाई काठमाडौं–१२ बाट शुक्रबार, राजेशलाई काठमाडौं–६ बाट शनिबार तथा छिरिङलाई गोकर्णेश्वर–३ बाट आइतबार पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाएको छ।












