काठमाडौं । दसैँ बिदाअघिको अन्तिम करोबारमा शेयर बजार शुक्रबार बढेको छ। नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहका रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.७६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहले ०.७२ प्रतिशतको बढोत्तरीका साथ बजारको बढाइ धानेको छ। यो दिन व्यापार समूह सर्वाधिक ०.५४ प्रतिशतले घटेको छ।
बजारमा आज १७४ कम्पनीको शेयरभाउ बढेको छ भने ९१ कम्पनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा चिरख्वा हाइड्रोपावरको शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो कम्पनीको शेयरभाउ १४.८२ प्रतिशतले बढेको छ।

यसैगरी आज हिमालयन एभरेष्ट इन्स्योरेन्सका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको शेयरभाउ ४.९८ प्रतिशतले घटेको छ।

बजारमा आज ४ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोपावरको भएको छ।

बजार जानकारहरुका अनुसार यो वर्ष भोटेकोशी र बूढीगण्डकी बाढीको ठूलो क्षतिको मारमा व्यापारीहरु परेका छन्। त्यसमाथि असोजमा बैंकको सावा र ब्याज तिर्ने बेला भएकोले बजार केही प्रभावित भएको छ। असोज मसान्तको प्रभाव सकिएको र बाढी प्रभावित क्षेत्रका बासिन्दालाई साँवा–ब्याज तिर्न राष्ट्र बैंकले समय लम्ब्याएकोले दसैँपछि शेयर बजारमा सकारात्मक लहर छाउने उनीहरुको तर्क छ।
तिहारअघि बजारमा सुधार आउने बजार जानकारहरुको तर्क छ। शेयर बजार सुधारलाई लिएर सरकारदेखि नियामक निकायहरु लागिपरेकोले बजार सकारात्मक नै रहने उनीहरुको तर्क छ।












