काठमाडौं । मुलुकको व्यापार घाटा २६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो।
चालु आर्थिक वर्ष २०८३।८४ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २६ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब २४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.६ प्रतिशतले वृद्धि भएकोे थियो ।
यो दुई महिनामा कुल वस्तु आयात ३१.६ प्रतिशतले वृद्धि भई रु.४ खर्ब १ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६.२ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई रु.७६ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको थियो ।












