काठमाडौं । सरकारले नागरिक बजेट पुस्तिका तयार गरी सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले नागरिक बजेट पुस्तिका तयार गरी सार्वजनिक गरेको हो। चालु आर्थिक वर्ष २०८३।८४ को वार्षिक बजेट तथा कार्यक्रमलाई सरल रुपमा आमनागरिकसमक्ष पुर्याउने उद्देश्यले यो पुस्तिका तयार गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राज्यको स्रोतसाधनको विनियोजन र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन र जबाफदेहिता सुनिश्चित गर्नु सरकारको दायित्व रहेको छ। त्यसैले बजेटका प्राथमिकता, करका प्रावधान र विकास लक्ष्यहरुलाई सर्वसाधारणले सहजै बुझ्ने भाषामा यस पुस्तिकामा समेटिएको मन्त्रालयले जनाएको छ।
रोजगारी सिर्जना, पूर्वाधार विकास र समतामूलक आर्थिक रुपान्तरणलाई केन्द्रमा राखी उत्पादनशील र प्रविधिमैत्री अर्थतन्त्रको राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा यो बजेट महत्वपूर्ण कोशेढुंगा साबित हुने अर्थमन्त्री स्वर्णिम वाग्लेको विश्वास छ।
बजेटका मुख्य विशेषता
- नीति तथा कानुनी सुधार, सुशासन र सेवा प्रवाहलाई जोड दिइएको छ।
- उत्पादन र रोजगारीलाई बजेटको केन्द्रमा राखिएको छ।
- सीमित स्रोतलाई प्राथमिकता प्राप्त तथा उच्च प्रतिफल दिने क्षेत्रमा केन्द्रित गर्न नीति लिइएको छ।
- निजी क्षेत्रको लगानी र उद्यमशीलतालाई आर्थिक विकासको प्रमुख आधारका रुपमा अघि बढाइएको छ।
- डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमताको प्रयोगलाई आर्थिक गतिविधिसँग जोड्ने व्यवस्था गरिएको छ।
- सार्वजनिक खर्चलाई मितव्ययी, नतिजामुखी, जबाफदेही बनाउने व्यवस्था गरिएको छ।
- राजस्व प्रणालीलाई सरल, पारदर्शी र लगानी तथा प्रविधिमैत्री बनाउने नीति लियएको छ।
- युवा तथा स्टार्टअपमार्फत रोजगारी र उद्यम सिर्जनामा जोड दिइएको छ।
- संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय समन्वय र हस्तान्तरणलाई निरन्तरता दिइएको छ।












