काठमाडौं । गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल र अत्यधिक वर्षाका कारण धानबालीमा क्षति पुगेका ३४८ जना किसानले जलवायु बीमाको भुक्तानी पाएका छन्।
रसुवामा आएको विनाशकारी पहिरो र बाढीलगत्तै देशभर फैलिएको वर्षाले पूर्व तथा पश्चात कटानी (खेतमै सुकाउन राखिएको धान) दुवै चरणलाई लक्षित गरी प्यारामेट्रिक (मौसमी सूचकांकमा आधारित) धान बीमा लागू गरिएका ९ वटै जिल्लामा प्रभाव पारेको थियो।
मौसम मापन केन्द्रको तथ्यांकअनुसार वर्षाको मात्रा २०० मिलिमिटरको सीमा नाघेपछि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी ४ जिल्लामा बीमा दाबी स्वतः सक्रिय भएको हो। देशभर बाढी र डुबानको जोखिम रहँदा यी किसानले भने लामो प्रशासनिक प्रक्रिया वा क्षतिको पर्खाइमा बस्नु परेन।
यो बीमाका लागि भूउपग्रहमा आधारित विवरण तथा मौसमी विवरणहरु उपलब्ध गराए प्राविधिक सहयोग गरिरहेको संस्था प्लान्ट स्याटका अनुसार बीमा योजनाअन्तर्गत ३४८ जना किसानलाई कुल २ हजार ३४५ कट्ठा क्षेत्रफलको धानबाली नोक्सानीबापत कुल ६ लाख १२ हजार ७९९ रुपैयाँ भुक्तानी गर्न लागिएको छ।
प्यारामेट्रिक बीमा प्रणालीअन्तर्गत कुनै फारम भर्नुपर्ने, टोली खटाएर निरीक्षण गराउनुपर्ने वा ढिलाइ सहनुपर्ने बाध्यता रहँदैन। सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको डिजाइन गरिएको यो प्रणालीमा मौसम मापन केन्द्रले तोकिएको सीमा नाघेको पुष्टि गर्नासाथ किसानहरुलाई प्रत्यक्ष रकम हस्तान्तरण गरिन्छ।
जलवायु परिवर्तनका जोखिमहरु हाम्रा परम्परागत संयन्त्रहरुले धान्न सक्नेभन्दा तीब्र गतिमा बढिरहेका छन्। तर, १ हजार २०४ जना साना किसान सम्मिलित यस पहलले उपयुक्त प्रविधि र नीतिगत व्यवस्थाको सही संयोजन भएमा किसानहरुले जलवायु संकटको सामना एक्लै गर्नु पर्दैन भन्ने कुरा सिद्ध गरेको छ।
जलवायु संकटको मारमा परेका किसानहरुले यसपटक राहतका लागि वर्षौं कुर्नुपरेन । उनीहरुले तोकिएको समयमै भुक्तानी पाएका छन् र पुनः नयाँ बाली लगाउनका लागि तयार भएका प्लान्टस्याटले जनाएको छ।












