काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीसँगै प्रभावित र विस्थापित बनेका बीमितहरूको लागि ६ महिनासम्म बीमा ब्याज छुट गर्न निर्देशन दिएको छ।
प्राधिकरणले नविकरण बीमाशुल्क भुक्तानीका लागि मोहलत पनि ६ महिना थप्न निर्देशन दिएको छ । प्राधिकरणका अनुसार, बीमा कम्पनीहरुबाट बीमा सम्बन्धी कागजात नष्ट भएको भएमा कागजात विवरण प्राप्त गरी अध्यावधिक गरेर राख्न सम्बन्धित बीमित तथा अभिभावकले बीमकलाई सहयोग गरिदिन निर्देशन दिएको छ।
बीमालेख साथमा नभएको कारणबाट बीमाशुल्क वा बीमालेख कर्जाको नियति किस्ता तिर्न नसकेको अवस्था आएमा ६ महिनासम्मका लागि ब्याज नलाग्ने गरी मोहलत अविध थप गरिदिन प्राधिकरणले निर्देशन दिएको छ।
यस्तो छुट सुविधाका लागि सम्बन्धित बीमित वा निजको परिवारजनले स्थानीय तहको सिफारिश वा प्रहरी कार्यालयको सिफारिश वा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिश पेश गर्नुपर्नेछ।
बीमालेख हराएको वा नष्ट भएको अवस्थामा बीमकले निःशुल्करूपमा बीमालेखको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ।
रसुवाको भोटेकोशीबाट शुरू भएर त्रिशुली हुँदै नारायणी नदीसम्म फैलिएको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा समेत पाँच जिल्लाका सर्वसाधारण प्रभावित बनेका छन् ।
बाढीका कारण सडक सम्पर्क टुटेर फँसेकामध्ये १३ हजार ३९६ जना भन्दा बढीको उद्धार गरिएको थियो । यीमध्ये ३०० विदेशी नागरिक थिए । यद्दपी प्राधिकरणको वेबसाइटमा उद्धार गरिएकामध्ये ३०३ विदेशी सहित ४८९८ जनाको नाम सहितको परिचय मात्र पुष्टी भएकाले उनीहरूको विवरण मात्र प्रकाशन गरिएको छ। यसैगरी त्रिशूली जलविद्युत आयोजना ३ ए को सुरूङबाट २ जना र त्रिशूली जलविद्युत आयोजना १ को सुरूङबाट एक चिनियाँ नागरिक सहित ३ जनाको जीवितै उद्धार गरिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, अझै पनि ३५ देशका ६०० सहित ५ हजार बेपत्ता रहेका छन् । बाढी पहिरोले डुबाएर बगाएकामध्ये १३५५ जनाको शव बाढी प्रभावित क्षेत्रबाट झिकिएको थियो ।












