काठमाडौं । आजसम्म शेयर किन्ने शेयरधनीहरुले कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । माछापुच्छ्रे बैंकले लाभांश र सभा प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज ८ गतेसम्म कायम शेयरधनीहरुलेमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
त्यस्तै, कालिञ्चोक दर्शनले पनि लाभांश र सभा प्रयोजनका लागि भोलि असोज ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज असोज ९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
माछापुच्छ्रे बैंकले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
यसैगरी सभाले गत आर्थिक वर्षका लागि अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशतले हुन आउने ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त रायसुझाव वा निर्देशनबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ। यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।
त्यस्तै, कालिञ्चोक दर्शनले आफ्नो १२ औँ वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ६३ करोड रुपैयाँको कुल ८.९४७४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८.५ प्रतिशतले हुन आउने ५ करोड ३५ लाख ५० हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४४७४ प्रतिशतले हुन आउने २८ लाख १८ हजार ४२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको व्यावसायिक क्षेत्र विस्तार तथा लगानी विविधीकरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।












