काठमाडौं । दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ।
सानिमा बैंक र एभरेष्ट बैंकको सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी दुवै बैंकले भोलि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आजसम्म कायम शेयरधनीहरुले यी बैंकको लाभांश पाउन योग्य हुनेछन्।
सानिमा बैंकले आफ्नो २२ औँ वार्षिक साधारणसभा आउँदो असोज १२ गते आयोजना गर्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
यसैगरी एभरेष्ट बैंकले आफ्नो ३२ औँ वार्षिक साधारणसभा आउँदो असोज १४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।












