काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको केवाईसी अपडेट गर्न आज भदौ २५ गतेदेखि विद्युतीय माध्यमबाट स्वास्थ्य बीमा नवीकरण बन्द गरेको छ।
बीमा बोर्डले एउटा सूचना जारी गर्दै स्वास्थ्य बीमा नवीकरण बन्द गरिएको जानकारी गराएको हो। स्वास्थ्य बीमा नवीकरणपूर्व परिवारका सबै सदस्यको केवाईसी अपडेट आवश्यक भएको हुँदा विगतमा प्रयोग हुँदै आएको कनेक्टआईपीएस, ई–सेवा तथा खल्तीलगायतका विद्युतीय माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था आजदेखि लागू हुने गरी बन्द गरिएको सूचनामा उल्लेख छ। केवाईसी अपडेट भएपश्चात पुनः ती माध्यमबाट समेत सोझै नवीकरण गर्न सकिने बोर्डको भनाइ छ।
बोर्डका अनुसार सम्पूर्ण बीमितले एचआईबी ई–पोर्टल (eportal.hib.gove.np) मार्फत आफ्नो पुरानो बीमा विवरण सिंक्रोनाइज गरेर अनिवार्य केवाईसी अपडेट गरी सोही पोर्टलबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिनेछ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको अनलाइन आबद्धता तथा नवीकरणसम्बन्धी सेवा थप व्यवस्थित, सरल, सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले बीमा बोर्डले एचआईबी ई–पोर्टल सञ्चालनमा ल्याएको हो।












