काठमाडौं । जलवायू तथा माैसम पूर्वानुमान विभागले भोटेकोशीमा पुनः बाढी बढेकाले रसुवादेखि चितवन मुग्लिनसम्मको क्षेत्रका बासिन्दालाइ सतकर्ता अपनाउन अनुरोध गरेको छ।
विभागको बाढी पुर्वानुमान महाशाखाले शुक्रबार राती ८ः४५ बजे जारी गरेको चेतावनीयुक्त सूचनामा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचना अनुसार भोटेकोशीमा पुन बाढी बढेकोले त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउँदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।’
यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयको अाधिकारिक फेसबुक पेजमा राखिएको सूचना साझा गर्दै अात्तिनुपर्ने अवस्था नरहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन्।
मन्त्रालयको फेसबुक पेजमा राखिएको सूचनामा लेखिएको छ, ‘चिनियाँ पक्षबाट प्राप्त आधिकारिक जानकारी अनुसार सीमावर्ती क्षेत्रमा भएको तालको जलस्तर तथा रङमा परिवर्तन आई पानी बाहिरिन सक्ने जोखिम देखिएको छ। उक्त तालमा जलको सञ्चित मात्रा सीमित रहेकाले तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढीको उच्च जोखिम नरहे तापनि नदीको जलसतह र बहावमा अकस्मात वृद्धि हुन सक्ने सम्भावना रहेको छ। तसर्थ, सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण सर्वसाधारण नागरिकहरूलाई उच्च सतर्कता तथा सजगता अपनाउनु हुन यो सूचना जारी गरिएको छ।’












