काठमाडौं । नेपालमा लघु बीमा कम्पनीहरू सञ्चालनमा आएको तीन वर्षको छोटो अवधिमा यसले संख्यात्मकरूमा लघु बीमाको पहुँच विस्तारमा योगदान पुर्याएकोमा दुईमत छैन । तर शहर केन्द्रित र अझै पनि नेपालको हकमा बिलासी मानिने मोटर गाडी र अनिवार्य वैदेशिक रोजगारी बीमामा लघु बीमा कम्पनीको अधिकांश व्यापार केन्द्रित हुनुले यसको उद्देश्य र प्राप्ती बीच बेमेलको अवस्था देखिन्छ।
नेपाल बीमा प्राधिकरणले लघु बीमा सम्बन्धमा करिब एक महिनाको अवधिमा दुईवटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। एउटा कार्यकारी निर्देशक सुशिल देव सुवेदीको नेतृत्वमा नेपाली संस्करण र अर्को निर्देशक पुजन ढुंगेलको संयोजकत्वमा अंग्रेजी भाषामा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएका छन्।
दुबै प्रतिवेदनको मुख्य निष्कर्ष छ, लघु बीमकहरू मुख्य लक्ष्यबाट विमूख भएका छन् । दुबै प्रतिवेदनले नियामकीय हस्तक्षेपको आवश्यकता औँल्याएका छन् । दुइ मध्ये निर्देशक पूजन ढुंगेलको संलग्नतामा तयार पारिएको अध्ययन प्रतिवेदनले दिएका सुझावहरू यसअघि नै इन्स्योरेन्स खबरमा प्रकाशन गरिएको छ। यहाँ हामीले सुवेदी संलग्न अध्ययन टोलीले तयार पारेको नेपालकाे लघुबीमा व्यवसायकाे अध्ययन तथा विश्लेषण नामक प्रतिवेदनमा समावेश गरिएका सुझाव समेटेका छाैं ।
१) कानुनी तथा नीतिगत सुधार
१) लघु बीमाको बीमाङ्क सीमामा पुनरावलोकनः लघुबीमा सम्बन्धी निर्देशिका, २०७९ मा लघुबीमकले गर्न पाउने बीमाङ्कको सीमा लक्षित वर्ग (न्यून आय तथा पिछडिएको वर्ग) लाइ समेट्ने गरी लघु बीमा निर्देशिका संशोधन गरिनुपर्छ। हाल जीवन बीमाको बीमाङ्क रू पाँच लाख र निर्जीवन बीमाको बीमाड्क पचास लाख रूपैयाँसम्म तोकिएको छ।
२) लघु बीमकलालाई इजाजतपत्र दिंदा तोकिएको प्रदेशमा मात्र व्यवसाय विस्तार गर्ने बाध्यकारी व्यवस्था गर्नु पर्दछ । बीमकको शाखा स्वीकृति सम्बन्धी निर्देशिकामा लघुबीमकको हकमा छुट्टै व्यवस्था गर्नु पर्दछ। दुर्गम क्षेत्रका लागि वैकल्पिक वितरण प्रणालीको प्रयोग सम्बन्धमा स्पष्ट व्यवस्था गर्नु पर्दछ।
३) लघुबीमकलाई दुर्गममा काम गर्न प्राधमिकता दिनको लागि जोखिममा आधारित पूँजी लगायत अन्य नियामकीय प्रावधानमा सहुलियतको व्यवस्था गरिनु पर्दछ . सरकारले लघुबीमाको बीमाशुल्कमा लाग्दै आएको करमा छुट गर्न सके अझ प्रभावकारी हुने देखिन्छ।
४) न्यून आय भएका र पिछडिएको वर्गमा लघु बीमा पुर्याउन कृषि, स्वास्थ्य, दुर्घटना, सम्पत्ति जस्ता बीमा तर्फ लघु निर्जीवन बीमकलाई केन्द्रित गर्न कुल व्यवसायको न्यूनतम सीमा तोक्नु पर्ने देखिन्छ।
५) बीमा ऐन, २०७९ को दफा ७६ मा संशोधन गरेर जीवन र निर्जीवन दुबै किसिमको बीमा बण्डलिङ (एकै ठाउँ एक साथ उपलब्ध गराउने) गर्दा व्यवसाय दिगो, सरल, सहज र किफायति हुने देखिएकोले सोही अनुरूप हुने व्यवस्था गर्नुपर्ने देखिन्छ।
५.२.२ संस्थागत सुशासन, जनशक्ति र बजारमा सुधार
१) लघु बीमकको प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकीय तहका कर्मचारीहरूलाई अनिवार्य केन्द्रीय कार्यालयबाटै कार्य सम्पादन गर्न लगाउनुपर्छ। केन्द्रीय कार्यालय रहेको प्रदेशमा व्यवसायिक गतिविधि विस्तारमा प्राथमिकता दिने सम्बन्धमा बीमकको संचालक समितिलाई जिम्मेवार बनाउनु पर्छ।
२) लघुबीमकले दीर्धकालिन कार्ययोजना बनाइ न्यून आय भएका र पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखि जनशक्ति परिचालन गर्नु पर्दछ।
३) अभिकर्ताहरूको सङ्ख्यासँगै गुणात्मक सुधारका लागि लघुबीमा प्रशिक्षण र तालिम, जनचेतनामूलक कार्यकम तथा सामाजिक उत्तरदायित्व लगायतका कार्यकमहरु बीमकले निरन्तर सचालन गर्नु पर्दछ।
५.२.३ प्रविधि र वितरण प्रणालीमा सुधार
१) सञ्चालन लागत न्यून गर्न लघु बीमकले संस्थागत अभिकर्तासँग सम्झौता गरी जोखिमाङ्कन तथा दाबी सम्बन्धी अधिकार प्रत्यायोजन गर्नुपर्छ।
२) वितरण प्रणालीको उच्च लागतलाई न्यूनीकरण गर्न लघुवित्त संस्था, सहकारी र स्थानीय निकायहरूसँग सम्झौता गरी साझेदारी अभिकर्ता ढाँचालाई विस्तार गरिनु पर्दछ।
३) मोबाइल बैंकिड, डिजिटल वालेट प्रणाली र दुरसच्चार प्रणाली मार्फत लघुबीमा सेवालाई विस्तार गर्नु पर्दछ। डिजिटल पूर्वाधारमा लगानी बढाउनु पर्दछ।
५.२.४ बीमालेख विविधिकरण, सामाजिक सुरक्षा र दाबी व्यवस्थापनमा सुधार
१) लक्षित वर्गका लागि मौसम सूचकाङ्कमा आधारित सरल बीमालेखको विकास गरेर सरकारको कृषि बीमा अनुदान कार्यकमसँग जोड्नुपर्छ।
२) लघु बीमकले लक्षित वर्ग केन्द्रित स्वास्थ्य बीमा योजनाहरू तथा वैकल्पिक वितरण प्रणालीको विकास गर्नु पर्दछ।
३) लघु जीवन बीमामा रहेको महिलाहरूको बाहुल्यतालाई उपयोग गर्दै महिला उद्यमी सुरक्षा र मातृत्व स्वास्थ्य समेट्ने महिला केन्द्रित लघुबी योजनाहरू प्रवर्द्धन गरिनुपर्दछ।
४)डिजिटल दाबी फर्छ्याैट प्रणाली लागू गर्ने, अनलाइन ट्रयाकिङबाट दाबी भुक्तानी प्रणालीको विकास गर्ने, टोल फ्री हेल्पलाइनमा आधारित लघुबीमित उजुरी व्यवस्थापन प्रणालीको विकास गर्ने र बीमालेखका शर्तहरू स्थानीय भाषामा सरल रूपमा उपलब्ध गराउने व्यवस्था गर्नु पर्दछ।
एआइ सिर्जित तस्वीर












