काठमाडौं । बैंकिङ सेवा क्षेत्रमा एक दशकभन्दा लामो अनुभव संगालेका इन्जिनियर विभोर झा हिमालयन लाइफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी पदमा नियुक्त भएका छन्।
इन्स्योरेन्सको सञ्चालक समिति बैठकले झालाइ नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो । झासँग बैंकिङ सेवामा डेढ दशकभन्दा लामो अनुभव छ। उनले प्रमुख वित्तीय अधिकृत, ट्रेजरी फ्रण्ट प्रमुख, प्रमुख निर्देशित ऋण अधिकृत लगायतको जिम्मेवारीमा रहेर बैंकिङ क्षेत्रमा लामो समयको अनुभव हासिल गरेका छन् । उनी सानिमा क्यापिटलको सञ्चालक समिति सदस्य समेत हुन् ।
झाले वित्तीय व्यवस्थापन विषयमा स्नातकोत्तर तह र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तहको अध्ययन पुरा गरेका छन्। सानिमा बैंकमा उनी १२ वर्षभन्दा बढी अवधिसम्म कार्यरत थिए। हिमालयन लाइफमा प्रवेश गर्नु अघि उनी सानिमा बैंकमा प्रमुख निर्देशित ऋण अधिकृतको जिम्मेवारीमा थिए। सानिमा बैंकभन्दा अघि उनी नबिल बैंक लिमिटेडमा पाँच वर्षभन्दा बढी समय कार्यरत थिए।
सहायक कम्पनीको लगानी दुरूपयोग सम्बन्धी प्रकरणमा प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल निलम्बनमा परेपछि हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले आइएमइ लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी दिनेश अमात्यलाइ निमित्त प्रमुख कार्यकारी अधिकृतकोरूपमा भित्र्याइसकेको छ।












