काठमाडौं । जीवन बीमा होस् वा निर्जीवन बीमा, यी दुबै करार हुन् । किनकी बीमालेख खरिद बिक्री गर्दा बीमित र बीमकबीच र कहिलेकाहीँ तेश्रो पक्ष समेतको संलग्नतामा करारका लागि न्यूनत्तम आवश्यक शर्तहरू पुरा गरिएका हुन्छन्।
सबैभन्दा पहिले बीमितले बीमकले पूर्व निर्धारण गरेका शर्तहरूको अधिनमा रहेर बीमा गर्न प्रस्ताव गर्छ, दोश्रो चरणमा बीमकले प्रस्ताव मूल्याङ्कन सहित प्रस्ताव स्वीकार्ने निधो गर्छ र तेश्रो चरणमा बीमितले बीमकको शर्त बमोजिमको बीमाशुल्क भुक्तानी गर्छ र चाैथाे तथा अन्तिम चरणमा बीमकले बीमालेख जारी गरेर बीमित वा प्रस्तावकलाई हस्तान्तरण गरिदिन्छ।
तर, बीमालेखमा समावेश गरिएका कतिपय शर्तहरू प्राविधिक हुने भएकाले सर्वसाधारणले अर्थ्याउन नसक्ने हुन्छन्। यस्तो अवस्थामा बीमितले प्राविधिक शब्दहरू बारे सोधीखोजी गर्नुपर्ने अवस्था हुन्छ। सर्वसाधारणको जानकारीका लागि यहाँ निर्जीवन बीमामा प्रयोग हुने पाँचवटा प्राविधिक शब्दहरू सरल शब्दमा व्याख्या गरिएका छन्ः
१. प्रिमियम अर्थात् बीमाशुल्क( Premiums): बीमावापत बीमितले भुक्तानी गर्नुपर्ने शुल्क । यस्तो शुल्क प्राप्त गरेपछि बीमितको जोखिम बीमकले व्यहोर्न सहमति जनाउँछ।
२. कटौतीयोग्य वा अधिक (Excess): बीमा गरिएको सम्पत्ति वा विषयवस्तुमा कुनै नोक्सानी हुन गएको अवस्थामा नोक्सानी भएकोमध्ये केही रकम बीमित स्वयमले नै व्यहोर्ने प्रावधान जनाउँछ। यस्तो अवस्थामा बीमित सम्पत्तिको जोखिम बीमालेखमा समावेश हुँदैन र सोवापत बीमितले बीमाशुल्कको रकममा केही सहुलियत प्राप्त गर्छन्। उदाहरणका लागि, मोटरगाडीको बीमा गर्दा क्षतिमध्ये बढीमा ५ हजार वा १० हजार रूपैयाँसम्मको क्षति स्वयमले व्यहोर्छु भन्ने बीमितले सहमति जनाएको हुनसक्छ। यस्तो अवस्थामा मोटर दुर्घटनामा परेर वा अन्य कुनै कारणले क्षति हुन गएमा १० हजार रूपैयाँसम्मको क्षति भएमा बीमित स्वयमले नै व्यहोर्नुपर्छ, दाबी लाग्दैन। त्यो भन्दा बढी रकमको क्षति भएको छ भने क्षति रकममध्ये १० हजार कटाैती गरेर बाँकी रकम मात्र बीमकले भुक्तानी गर्नुपर्छ।
३. बीमाङ्क वा बीमा रकम (sum assured): बीमा गरिएको सम्पत्तिको क्षति भएको अवस्थामा बीमकले भुक्तानी गर्न प्रतिबद्धता जनाएको रकमको अधिकतम सीमा हो। बीमित सम्पत्ति नोक्सानी वा क्षति भएको अवस्थामा बीमकले क्षति मूल्याङ्कनका अाधारमा बीमालेखमा उल्लेख भए बमोजिमको रकम भुक्तानी गर्नुपर्छ।
४. बहिष्करणहरू(Exclusion): यसमा बीमा गरिएको सम्पत्तिको कुनै अंश बीमालेखको जोखिम अन्तर्गत समावेश गरिएको हुँदैन। यस्तो अवस्थामा क्षति भएमा बीमित स्वयमले नै सम्पूर्ण क्षति व्यहोर्नुपर्छ। जस्तो कि स्वास्थ्य बीमामा अाँखाको शल्यकृया बाहेकको र दाँत अधिकांश उपचारवापतको खर्च स्वास्थ्य बीमामा समेटिएको हुँदैन, बीमित स्वयमले नै व्यहोर्नुपर्छ।
५. दाबी(claims): सम्पत्ति नोक्सानी भएको अवस्थामा बीमितिको तर्फबाट बीमकसँग क्षतिपूर्ती माग गर्नुलाई दाबी भनिन्छ।
तपाईले यी आधारभूत कुराहरू जति धेरै बुझ्नुहुन्छ, बीमा छनौट गर्दा तपाई त्यति नै विश्वस्त हुनुहुनेछ।












