काठमाडौं। बैंकका कर्मचारीले वार्षिक रुपमा पाउने अनिवार्य बिदा सञ्चित गर्न नपाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले नमुनाका रुपमा जारी गरेको कर्मचारी सेवा विनियमावलीमा संशोधन गर्दै तयार गरिएको मस्यौदामा यो व्यवस्था थप गरेको हो। बैंक कर्मचारीलाई न्यूनतम ७ दिन (अन्य बिदाका अतिरिक्त) कर्मचारी सेवासुविधा समितिको सिफारिसमा समितिले तोकेबमोजिम पूर्ण सुविधासहितको अनिवार्य बिदा दिइने प्रस्ताव गरिएको हो। ‘यो बिदा लगातार लिएको हुनुपर्छ’, मस्यौदामा प्रस्ताव गरिएको छ, ‘यो बिदा सञ्चित गर्न पाइने छैन।’
हाल अनिवार्य बिदा सञ्चित गर्न नपाउने व्यवस्था रहेको छैन।
यसैगरी मातृत्व संरक्षण बिदामा पनि राष्ट्र बैंकले संशोधित मस्यौदामा प्रस्ताव गरेको छ। ‘अब बैंक वा वित्तीय संस्थाको सेवामा रहेका महिला कर्मचारीले प्रसुति हुनुभन्दा अगाडि वा पछाडि गरी १४ हप्ताको पूरा तलब भत्तासहितको मातृत्व संरक्षण बिदा पाउनेछन्’, मस्यौदामा प्रस्ताव गरिएको छ, ‘निजले सोभन्दा बढी उपभोग गरेको मातृत्व संरक्षण बिदा निजले पाउने अन्य बिदाबाट कट्टी हुने गरी हिसाब मिलान गर्न सकिनेछ। तर, मातृत्व संरक्षण बिदा अपुग हुने भएमा र अन्य बिदा नरहेको खण्डमा त्यस्तो महिला कर्मचारीलाई विज्ञ चिकित्सकको सिफारिसमा बढीमा १ वर्षसम्म बेतलबी बिदा प्रदान गर्न सकिनेछ।’
यो व्यवस्था पनि हाल रहेको छैन।
त्यस्तै कुनै कर्मचारीको आमा, बुबा, श्रीमान, श्रीमती र छोरा–छोरीको मृत्यु भई आफै किरिया बस्नुपर्ने भएमा १५ दिनसम्म क्रिया बिदा पाउने व्यवस्था रहेको छ। अब भने कर्मचारीको सासु–ससुराको मृत्यु भएमा वा कुल धर्मअनुसार निजको श्रीमान वा श्रीमती आफैँ किरिया वसेको अवधिमा निज कर्मचारीलाई समेत क्रियाबिदा प्रदान गरिने व्यवस्था राख्न मस्यौदामा प्रस्ताव गरिएको छ। यो बिदामा बसेको कर्मचारीले पूरा तलब भत्ता पाउनेछ।
विवाह बिदामा बसेका कर्मचारीलाई राहात
संशोधितत मस्यौदामा विवाह बिदामा बसेको बैंक कर्मचारीलाई ठूलो राहात दिइएको छ।
मस्यौदामा क्रिरिया बिदा, मातृत्व तथा प्रसूति स्याहार बिदा, अनिवार्य घर बिदा, विवाह बिदा र बिरामी बिदामा वसेको कर्मचारीलाई बाहेक अन्य बिदा स्वीकृत गराई बसेका कर्मचारीलाई बैंक वा वित्तीय संस्थाले आवश्यकताअनुसार बोलाई काममा लगाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। हाल अरुबाहेक विवाह बिदामा बसेका कर्मचारीलाई पनि आवश्यकताअनुसार बोलाई कामममा लगाउन सक्ने व्यवस्था रहेको छ।
मस्यौदामा यसरी बिदाको अवधिको बीचमै बोलाई काममा लगाएको अवस्थामा बाँकी दिनको बिदा सञ्चित गर्न सकिनेछ। यसरी काम गरे वापत निजलाई सट्टा बिदा वा तलब भत्ता बराबरको रकम प्रदान गरिने प्रस्ताव गरिएको छ।












