काठमाडौं । धेरै मानिस बीमा अभिकर्ता अर्थात् बीमा सल्लाहकारको काम बीमालेख बिक्रीसम्म मात्र सीमित हुन्छ भन्ने सोच राख्छन्। तर, अनुभवी अभिकर्ताका लागि वास्तविक जिम्मेवारी बीमालेख सेवा र दाबीको समयमा सुरु हुन्छ।
१७ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत एक सल्लाहकारले आफ्नो अनुभव साट्दै केही वर्षअघि आफ्ना एक ग्राहकलाई ब्रेन ट्युमर भएको र उपचारका क्रममा अस्पताल खर्च २५ लाख रुपैयाँभन्दा बढी पुगेको जानकारी दिए। तर, बीमा कम्पनीले उच्च रक्तचाप (हाइपरटेन्सन) को जानकारी नदिएको भन्दै दाबी अस्वीकृत गरिदिएको थियो। कम्पनीको दाबीअनुसार उच्च रक्तचाप नै उक्त रोगको मुख्य कारण थियो।
सामान्यतया धेरै अभिकर्ताले कम्पनीको निर्णय ग्राहकलाई सुनाएर आफ्नो कर्तव्य पूरा भएको ठान्छन्। तर, ती अनुभवी अभिकर्ताले कम्पनीको निर्णयलाई सहज रुपमा स्वीकार गरेनन्। उनले चिकित्सकहरुसँग परामर्श गरे, मेडिकल रिपोर्टहरू सूक्ष्म रूपमा अध्ययन गरे र अन्ततः अनुभवी वरिष्ठ विशेषज्ञसँग छलफल गरे। उनले अन्य बीमा कम्पनीहरुको दाबी अनुसन्धानमा संलग्न अनुभवी पूर्वकर्मचारीहरुसँग पनि परामर्श लिए।
त्यसपछि प्राप्त मेडिकल निष्कर्षले बीमा कम्पनीको तर्कलाई कमजोर बनायो। विशेषज्ञहरुले ब्रेनको प्रभावित भाग र उच्च रक्तचापबीच प्रत्यक्ष सम्बन्ध पुष्टि नभएको बताएपछि नयाँ प्रमाण, विशेषज्ञ राय र आवश्यक कागजातसहित बीमितका तर्फबाट यो दाबी पुनः ब्युत्याइँयो। बीमा नियामकसमक्ष समेत कागजपत्र लिएर बीमित पक्षका तर्फबाट अभिकर्ताले पहल गरे । अन्ततः पुनरावलोकनपछि बीमा कम्पनीले दाबी पुनः विचार गर्दै २३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्यो।
ती अभिकर्ताका अनुसार बीमा केवल एउटा आर्थिक उत्पादन मात्र नभई संकटको समयमा साथ दिने भरोसा हो। ‘अस्पतालमा डर र तनावबीच बसेको व्यक्तिलाई कागजी प्रक्रियामात्र होइन, आफ्नो पक्षमा उभिएर लड्ने र नैतिक समर्थन गरिदिने सहयोगी हातको पनि आवश्यकता पर्छ’, ती अभिकर्ताले भने।
त्यसैले व्यावसायिक अभिकर्ता र दाबी अस्वीकृत गरिएका बीमित पक्षलाई समेत सुझाव दिँदै ती अभिकर्ता भन्छन्, ‘बीमा कम्पनीले दाबी अस्वीकृत गर्दैमा निराश हुनुहुँदैन । थप प्रमाण, विशेषज्ञहरूको सल्लाह र केही कानुनी प्रावधानको सूक्ष्म अध्ययनसहित सही पहल भए पुनः न्याय पाउन सकिन्छ।’












