काठमाडौं । सुपर खुदी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन मिति परिवर्तन गरेको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज एक सूचना जारी गर्दै सुपर खुदी हाइड्रोपावरको आइपीओ अब फागुन ५ गतेबाट बिक्री खुला गरिने जानकारी गराएको हो। यसअघि यो आइपीओ फागुन ४ गतेबाट निष्कासन हुने भनिएको छ। अन्य कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासनसँग मिति जुध्न पुगेकोले मिति परिवर्तन गर्नुपरेको क्यापिटलले जनाएको छ।
कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याएर बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता सर्वसाधारणका जारी गर्दैछ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री गरिसकेको छ भने ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।
लगानीकर्ताले यो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपीओको निष्कासन बन्द छिटोमा फागुन १० र ढिलोमा फागुन १९ गते बैंकिङ समयपछि हुनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट सी–आस्बा प्रणालीमार्फत र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।












