काठमाडौं । बीना राई पेसाले बीमा अभिकर्ता हुन्। खोटाङको मझुवागढी नगरपालिका–४ मा जन्मिएकी बीनाको कर्मघर भने भक्तपुर हो। हाल बीना सिटिजन लाइफको मैतिदेवी शाखा कार्यालयबाट एजेन्सी म्यानेजरका रुपमा काम गर्दै आइरहेकी छन्। उनी जीवन बीमा क्षेत्रमा एक साहसी महिलाका रुपमा चिनिएकी छन्। उनी सफलताको खोजीमा अथाह मेहनत र संघर्ष गर्दै अगाडि बढिरहेकी छन्।
२०३८ सालमा जन्मिएकी बीनाको बाल्यकाल रमाइलो रुपमै बित्यो। पारिवारिक अवस्थाका कारण कहिले काठमाडौं त कहिले खोटाङ गर्दै उनले आफ्नो बाल्यकाल बिताइन्। अन्ततः बीनाले खोटाङ आफ्नै जन्मभूमिबाट एसएलसीसम्मको अध्ययन पूरा गरिन्। लाहुरे र राजनीतिक पृष्ठभूमि भएको पारिवारिक माहोलमा हुर्किएकी बीना सानैबाट खाना बनाउने, जाँड–रक्सी बनाउने काम गर्दै संयुक्त परिवारमा बाल्यकाल बिताइन्।
यसरी लागिन् बीमा अभिकर्ता पेसामा
बीना बीमा क्षेत्रमा आउनुअघि फाइनान्स कम्पनीमा काम गर्थिन्। फाइनान्स कम्पनीमा संस्थापक शेयरधनी भएर काम गर्दै आइरहेकी बीनाको एकजना चिनेको साथीले ‘साविक ज्योति लाइफमा एउटा कार्यक्रम छ जाऊ’ भनेपछि उनी त्यो कार्यक्रममा सहभागी भइन्। त्यसपछि ती साथीले बीनालाई ‘अभिकर्ता बनेर काम गरौँ, समय मिल्दा गर्न सकिने पेसा, सामाजिक हितमा भएको पेसा एकदम राम्रो छ’ भनेपछि बीनाले ‘हुन्छ गर्छु’ भनेर तालिममा सहभागी भइन्। बीमाबारे नबुझेकी बीना तालिम लिएपछि त बीमाबारे ज्ञान भयो। त्यसपछि उनले साविक ज्योति लाइफबाट २०७६ सालमा लाइसेन्स लिइन् र काम गर्न थालिन्। उनले साविक ज्योति लाइफमा एक हप्ता काम गर्दा ३ वटा पोलिसी बिक्री गरेकी थिइन्।
सिटिजनमा बीनाको यात्रा
छोटो समयमात्रै साविक ज्योति लाइफमा काम गरेकी बीनाले साविक सूर्या लाइफबाट एकजना चिनेको भाइ अमर प्रधानमार्फत ३ वटा पोलिसी खरिद गरेकी थिइन्। बीनाले साविक ज्योति लाइफबाट लाइसेन्स लिएको कुरा ती भाइले थाहा पाएपछि ‘दिदी आनुस् हजुर अभिकर्ता नै भएर काम गर्ने हो भने सिटिजन लाइफमा काम गरौँ मिलेर’ भने। त्यसपछि सिटिजन लाइफकै नेपाल टप अभिकर्ता सिनियर एजेन्सी म्यानेर टुकबहादुर राणा (जसलाई बीनाले माइती भनेर सम्बोधन गर्छिन्)ले पनि बीनालाई ‘सिटिजनमै आऊ, राम्रो छ कम्पनी र पोलिसी’ भनेपछि फेरि बीनाले २०७६ मै सिटिजन लाइफबाट काम गर्ने निधो गरेर लाइसेन्स लिइन्। उनले सिटिजन लाइफबाट खुसी भएर लाइसेन्स लिई काम गरिन्।

आफ्नै भाइ मानेको अमर प्रधान र माइती मानेको दाई टुकबाहदुर राणाको हौसला र प्रेरणाले गर्दा बीना बीमा क्षेत्रमा सफल छिन्।
आज बीमा क्षेत्रमा आफूले गरेको प्रगति नै अमर प्रधान र माइती टुकबहादुर राणाको श्रेय रहेको बीना बताउँछिन्। बीनाले भनिन्, ‘अमर प्रधान भाइ र मेरो माइती टुकबहादुर राणाले मलाई दिनुभएको साथ र हौसलाप्रति म धेरै आभारी छु। आज मैले बीमा क्षेत्रमा जति गर्न सकेँ यो सबै देन उहाँहरुकै हो। मलाई यो क्षेत्रमा स–साना कुरामा उनीहरुले धेरै सपोर्ट गर्नुभएको छ। उहाँहरुले मलाई दिनुभएको यो साथका लागि म धेरै धन्य छु।’
अभिकर्ता पेसाबाट धेरै खुसी र सन्तुष्टि मिलेको बीनाको भनाइ छ। ‘अभिकर्ता भनेको सामाजिक पेसा रहेछ’, बीनाले भनिन्, ‘म सामाजिक कार्यमा पनि धेरै रुचि राख्ने मान्छे हुँ। त्यही भएर यो पेसामा सामाजिक हित जोडिएको हुनाले म सोचेभन्दा धेरै खुसी छु। मानिसको घर घरमा गएर बीमा गर्नुस्। आफ्नो जीवनको सुरक्षा गर्नुस् भनेर सबलाई आह्वान गर्नु, बीमाबारे ज्ञान दिनु पनि सामाजिक भाव नै हो। त्यसकारण म धेरै खुसी छु।
अभिकर्ता पेसालाई नराम्रो भन्ने व्यक्तिलाई लक्षित गर्दै बीनाले भनिन्, ‘जुन पेसामा पनि काम गरेबापत त पारिश्रमिक लिने र दिने गर्दछन्। हो, त्यस्तै अभिकर्ता पेसामा पनि काम गरेबापत हामीले पारिश्रमिक नै लिएको हो। यसमा नराम्रो भन्नुपर्ने केही छैन। चोरेर ठगेर पो खानु भएन। काम गरेर नै खाएको हो। यसमा मलाई केही भन्नु छैन।’
अभिकर्ता बनेकोमा परिवारबाट पनि धेरै सहयोग मिलेको बीनाको भनाइ छ। भर्खर–भर्खर अभिकर्ता बन्दै गर्दा पनि परिवारमा सबैले आफ्ना आफन्तीहरुले बीमा बुझेर बीनाको कामलाई सपोर्ट गरेर सबैले बीमा गराइदिएको उनले बताइन्।
बीमाको महत्व धेरै छ
‘बीमा आर्थिक सुरक्षा हो, आजको स–सानो बचतले भोलिको ठूलो आर्थिक जोखिम बहन हुन्छ। बीमा भनेको अनिवार्य बचत हो, अरु बचतलाई आवश्यक पर्न साथ चलाइन्छ तर बीमाको बचतलाई चलाइँदैन र अन्तिममा एकमुष्ट रकम प्राप्त हुन्छ। बीमा सुरक्षा पनि हो, कुनै एक व्यक्ति आज बिहानदेखि बेलुकीसम्म खटेर आफ्नो परिवारका लागि काम गरिरहेको हुन्छ। यदि केही गरी उसको परिवारमा त्यो व्यक्ति नै रहेन भने आर्थिक रुपमा परेको भारलाई चाहिँ बीमाले मद्दत गर्दछ। अहिलेको समयमा बीमा अपरिहार्य छ। अहिले कमाउने हुँदा नै एउटा बीमा पोलिसी खरिद गरी राख्यो भने भविष्यमा पर्न सक्ने आर्थिक भारलाई केही हदसम्म बीमाले मद्दत गर्दछ’, बीनाले भनिन्।
बीमा अभिकर्तामा असल छवि, लगनशीलता, बोलीमा मीठासपन, हसिलो व्यवहार र धर्यताजस्ता गुण हुनु आवश्यक रहेको बीनाले बताइन्। ‘एक बीमा अभिकर्तामा ग्राहकलाई इन्स्योरेन्सको काममात्र नभएर उनीहरुलाई परेको समस्याहरुलाई समाधान गर्न सक्ने गुणहरु हुनुपर्छ’, उनले भनिन्, ‘कम्पनीको जानकारी दिइरहने, नरम बोल्ने स्वभाव, झुटो नबोल्नेजस्ता गुण बीमा अभिकर्तामा हुनु जरुरी हुन्छ।’
अभिकर्ता पेसामा लागेपछि आफूमा धेरै परिवर्तन आएको बीनाको अनुभव छ। झड्ङ्ग गर्ने, रिसाउने स्वभाव भएकी बीनालाई यस पेसामा आबद्ध भएपछि नरिसाउने, सहनशील, नम्र बोल्ने, सबैसँग घुलमिल हुनेलगायतका धेरै बानी चेन्ज भएको छ। ‘अभिकर्ता पेसामा लागेपछि ममा धेरै परिवर्तन भएको मैले महसुस गरेकी छु। सबैसामु निर्धक्क भएर बोल्न सक्ने भएँ। कसरी हिँड्ने, कोसँग कसरी बोल्नलगायतका धेरै कुराहरु सिक्ने मौका पाएँ’, उनले भनिन्।

यो पेसामा आउन चाहने नवप्रवेशीलाई बीनाले धेरै राम्रो पेसा भएकाले सबैलाई यही पेसामा आउन आग्रह गरेकी छन्। प्लसटुको योग्यता भए पनि हुने, ३ हजार ५०० रुपैयाँ खर्च गरेर लाइसेन्स निकालेर लाखौँ आम्दानी गर्न सकिने भएकाले यो पेसा धेरै राम्रो रहेको उनको भनाइ छ। ‘घरमा बसिरहने महिलाका लागि त अभिकर्ता पेसा धेरै राम्रो छ। दिनभरि घरमा बस्नुभन्दा यस पेसामा लागेर आत्मानिर्भर बन्न सकिन्छ। २–४ रुपैयाँ माग्न आफ्नो श्रीमानलाई गुहार्न नपर्ने महिलाहरुको लागि अभिकर्ता जति उत्कृष्ट पेसा अरु छैन। त्यसकारण अिभकर्ता पेसा सबैका लागि उत्तम पेसा हो’, उनले भनिन्, ‘जति मेहनत गर्यो त्यति नै कमाइ गर्न सकिने पेसा हो। घरपरिवार अनि बालबच्चा सबैलाई समय दिएर गर्न सकिने पेसा भएकाले यो पेसामा लाग्न सबैलाई आग्रह गर्छु।’
बीना पूर्वाञ्चल क्षेत्रीय भलिबल खेलाडी (२०५७।५८), किराँत–राई भक्तपुर जिल्ला सदस्य र चाम्लिङ खाम्बातिम भक्तपुरको कोषाध्यक्ष समेत हुन्।
बीनाले सिटिजन लाइफबाट धेरै अवार्ड प्राप्त गरिसकेकी छन्। उनले सन् २०२०, २०२१, २०२२ र २०२४ मा गोल्ड क्लबअन्तर्गतको अवार्ड पाएकी थिइन्। सन् २०२१ मा एमडीआरटी भइन्। सन् २०२५ मा डाइमन्ड क्लबअन्तर्गतको अवार्ड पाइन्। सन् २०२५ मै सिटिजन दीक्षित भइन्। हिरो अफ द मन्थ २०७८।७९ (असोज र कात्तिक) र हिरो अफ द डे २०८१।८२ (वैशाख)मा भएकी थिइन्।
कम्पनीले दिने लक्ष्य पूरा गरेर नेपालका विभिन्न ठाउँमा घुमिसकेकी बीना विदेश भ्रमणः सिंगारपुर, थाइल्यान्ड, मलेसिया, दुबई र बाली (इन्डोनेसिया)समेत भ्रमण गरिसकेकी छन्।



















