IME Life New

पहिलोपटक ‘मृत्युदर तालिका’ परिमार्जनको विषयमा बोल्यो बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमाका लागि प्रयोग हुने नयाँ मृत्युदर तालिका (Mortality Table) तयार पार्ने घोषणा गरेको छ। प्राधिकरणले आर्थिक वर्ष २०८२।८३ को वार्षिक नीति तथा कार्यक्रममा नयाँ मृत्यदर तालिका तयार पार्ने घोषणा गरेको हो।

मृत्युदर तालिका परिमार्जनसम्बन्धी विषय प्राधिकरणले पहिलोपटक औपचारिक रुपमा सम्बोधन गरेको हो।

Esewa
Crest

पछिल्लो समयमा इन्स्योरेन्स खबरले १८ बैशाख २०८२ गते १५ वर्ष बितिसक्दा पनि ‘नयाँ मृत्युदर तालिकाको छैन सुरसार, प्राधिकरणको काम सधैँ गफमा मात्र सीमित’ शीर्षकको समाचार प्रकाशन गर्दै नयाँ मृत्युदर तालिकाका लागि प्राधिकरणलाई दबाब दिएको थियो।

जीवन बीमाका लागि बीमाशुल्क निर्धारण गर्दा जोखिम मूल्यांकन गर्ने प्रयोजनका लागि बीमांक (एक्चुअरी)ले मृत्युदर तालिकालाई पनि आधार बनाउँछन्। मृत्युदर तालिकामा प्रति १ हजार बीमितमध्ये मृत्यु हुने सम्भावनाको संख्या कति प्रतिशत छ भन्ने पूर्वानुमान गर्ने आधार प्रदान गर्छ। यस्तो तालिकामा लिङ, भूगोल, पेसा, शैक्षिक स्तरलगायतको आधारमा पनि मृत्युको सम्भावनालाई तालिकामार्फत वर्गीकरण गरिएको हुन्छ।

१२ वर्षपछि मृत्यु दर तालिका परिमार्जन गर्न पुनः तात्यो बीमा समिति

बितेका वर्षहरुमा बीमितको कुल संख्या, बीमा अवधिभित्रै भएको बीमितको मृत्यु संख्यासहितको तथ्यांकका आधारमा निश्चित उमेर समूहभित्र प्रतिलाखमा कति प्रतिशत बीमितको मृत्यु हुन्छ भन्ने पूर्वानुमान गरिन्छ।

नेपाल बीमा प्राधिकरण (साबिक बीमा समिति)ले पहिलोपटक २०६६ सालमा मृत्युदर तालिका जारी गरेको थियो। त्यसयता १५ वर्ष बितिसक्दासमेत मृत्युदर तालिका परिमार्जन भएको छैन।

१५ वर्ष बितिसक्दा पनि नयाँ मृत्यु दर तालिकाको छैन सुरसार, प्राधिकरणको काम सधैं गफमा मात्र सीमित

यो अवधिमा नेपालीको औसत आयुमा उल्लेख्य वृद्धि भएको छ। यसबाहेक दुर्घटना, रोग, प्राकृतिक विपत्तिलगायतका कारणले हुने मृत्यु संख्यामा उल्लेख्य परिवर्तन आइसकेको छ।

नेपालमा मृत्युदर तालिका परिमार्जन नहुँदा जीवन बीमकले वास्तविकताभन्दा परको मृत्युदर तालिकाका आधारमा जीवन बीमासँग निहीत जोखिमको अनुमान गर्नुपरेको छ। यसको प्रत्यक्ष असर बीमाशुल्क दर निर्धारणमा परिरहेको छ।

नेपालीको औसत आयू ७१.३ वर्ष पुग्दा पनि जीवन बीमाका लागि महँगो शुल्क तिर्न बाध्य

नेपालीको औसत आयु उल्लेख्य बढेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ। राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालीको औसत आयु ६०.४ वर्ष थियो।

छिमेकी मुलुक भारतमा पछिल्लो समयमा मृत्युदर तालिका २०१५–१७ कार्यान्वयनमा छ। बंगलादेशले सन् २०२४ देखि नयाँ मृत्युदर तालिका २०१५–१८ प्रचलनमा ल्याइसकेको छ।

मृत्युदर तालिका परिमार्जन गर्दै बीमा समिति, एक्चुरिको महंगो शुल्कले मूल्याङ्कन खर्चिलो

प्राधिकरणले २०७५ सालमै मृत्युदर तालिका परिमार्जनका लागि त्रिभुवन विश्वविद्यालय गणित विज्ञान विद्यालयसँगको सहकार्यमा मृत्युदर तालिका अध्ययन गर्ने तयारी गरेको थियो। यसका लागि पुराना बीमकहरुसँग पछिल्लो १० वर्षको मृत्यु दाबीसम्बन्धी विवरणसमेत संकलन गरेको थियो। तर, यो प्रयास विवरण संकलनमै सीमित रह्यो। नयाँ तालिका तयार भएन।

२०७७ सालमा साबिक बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) मा सूर्यप्रसाद सिलवाल अध्यक्ष भएर आए। २०७९ असारमा पुनः मृत्युदर तालिका परिमार्जनका लागि बीमा समिति जुर्मुराएझैँ गर्यो। तारे होटलमा जीवन बीमक र बीमांकीसमेत सहभागी गराएर अन्तर्क्रिया आयोजना गर्यो। तर, यतिमै सीमित रह्यो।

मृत्युदर तालिका तयार पार्न आवश्यक पर्ने तथ्यांक संकलन, प्रशोधन र प्रारम्भिक तहको अध्ययन अनुसन्धानका लागि पछिल्लो समयमा स्वदेशभित्रै जनशक्ति (एक्चुअरी) उपलब्ध छन्। मृत्युदर तालिका तयार पार्ने काम जटिल र प्राविधिक काम भए पनि यसको प्रारम्भिक तहको काम स्वदेशी जनशक्तिबाटै गर्न सम्भव देखिएकाले पूर्णतः विदेशी विशेषज्ञमै भर परेर तालिका बनाउनुपर्ने अवस्थाभन्दा अहिले तालिका तयार पार्न लाग्ने खर्च भार थोरै हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS