काठमाडौं । एडभर्टाइजिङ एशोसिएसन अफ नेपाल अन्तर्गतको स्वायत्त संस्था एड क्लब अफ नेपालले मी टीभीको समर्थनमा झम्सिखेलस्थित मोक्समा ‘एकदेशमाः पारस खड्का’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल क्रिकेट टिमका पूर्व कप्तान, नेपाल क्रिकेट संघका सचिव तथा हालै सम्पन्न नेपाल प्रिमियर लिगका संयोजक पारस खड्का प्रमुख वक्ताका रूपमा सहभागी थिए । उनले आफ्नो प्रारम्भिक संघर्षदेखि २०१४ को आइसीसी टी ट्वान्टी विश्वकपमा नेतृत्व गर्ने यात्रा, नेपाललाई ओडीअआई मान्यता दिलाउने सफलता, खेल प्रशासनमा संलग्नता तथा ब्रान्ड एन्डोर्समेन्टको यात्राबारे प्रेरणादायी अनुभवहरू साझा गरे ।
पारसले खेलमा समर्पण र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धता कसरी ब्रान्ड एन्डोर्समेन्टको दृष्टिकोणमा समान रूपले लागु हुन्छ भन्ने विषयमा प्रकाश पार्दै, जुनसुकै क्षेत्रमा पनि इमानदारी र जोसको महत्व रहेको उल्लेख गरे ।
कार्यक्रमको प्रारम्भमा विज्ञापन क्षेत्रका पेशेवर हीना द्वारा वाचन गरिएको एक भावनात्मक कविता प्रस्तुत गरिएको थियो, जसले माहोललाई थप प्रेरणादायी बनायो । त्यसपछि ः इटीभी का बिजनेस डेभलपमेन्ट म्यानेजर प्रविण अर्याल ले आउँदै गरेका दुई प्रमुख कार्यक्रमहरूको बारेमा जानकारी दिँदै मी टीभीको गुणस्तरीय सामग्री निर्माणप्रति प्रतिबद्धता उजागर गरे ।
कार्यक्रमको क्यु एन्ड ए सेसन एड क्लब अफ नेपालका संयुक्त गभर्नर दिपेन्द्र टण्डन द्वारा संचालित गरिएको थियो, जहाँ पारस खड्काले आफ्नो व्यावसायिक तथा व्यक्तिगत अनुभवहरू खुलस्त रूपमा साझा गरे ।
कार्यक्रमको समापनमा एड क्लब अफ नेपालका गभर्नर बिधान राजभण्डारी र एडभर्टाइजिङ एशोसिएसन अफ नेपालका अध्यक्ष सुदीप थापाले पारस खड्कालाई सम्मान स्वरूप विशेष स्मृति चिन्ह प्रदान गरे। समापन मन्तव्यमा बिधान राजभण्डारी ले कार्यक्रमलाई सफल बनाउन योगदान दिने सम्पूर्ण व्यक्तिहरू र सहभागीहरू प्रति आभार व्यक्त गरे ।
९० भन्दा बढी विज्ञापन, मिडिया र कर्पोरेट क्षेत्रका विज्ञहरूको उपस्थितिमा सम्पन्न यो कार्यक्रमले एड क्लब अफ नेपालको एजेन्सीहरू, मार्केटरहरू, मिडिया हाउसहरू, कलाकारहरू, इनफ्लुएन्सरहरू र उद्योगका नेताहरूबीचको सहकार्य प्रवद्र्धन गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।
नेपालको विज्ञापन र मार्केटिङ समुदायका लागि एक महत्वपूर्ण मंचको रूपमा एड क्लब अफ नेपालले नयाँ विचारहरू, नवप्रवर्तन, र उद्योग सम्बन्ध सुदृढ गर्न निरन्तर काम गरिरहने छ ।

















