IME Life New

निर्देशिकाले तोकेको बीमांकी विश्लेषकको योग्यता र जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकीय सेवाका लागि बीमकसँग आफ्नै जनशक्ति उपलब्ध होस् भन्ने उद्देश्यले ‘गाइडलाइन रिलेटेड टु एक्चुअरी अप्वाइन्टमेन्ट फर इन्सुरर्स–२०२४ गाइडलाइन’ जारी गर्यो। यो निर्देशिकामा प्रत्येक जीवन बीमकका लागि कम्तीमा एकजना एक्चुअरियल एनालिस्ट (बीमांकी विश्लेषक) नियुक्ति गर्नुपर्ने बाध्यकारी प्रावधान छ। २०८१ वैशाख ४ गते जारी निर्देशिकामा जीवन बीमक र पुनर्बीमकले तत्कालै र निर्जीवन बीमकले निर्देशिका जारी भएको ६ महिनाको अवधिभित्र बीमांकी विश्लेषक नियुक्त गर्नुपर्ने समयावधिसमेत तोकिएको थियो।

निर्देशिकाले जीवन बीमक, निर्जीवन बीमक, लघु बीमक र पुनर्बीमकका लागि पूर्णकालीन ‘इन हाउस’ बीमांकी विश्लेषकको नियुक्ति अनिवार्य गरिदिएपछि बीमांकी विज्ञान अध्ययनरत विद्यार्थीका लागि रोजगारको अवसर पनि खुला गर्यो। निर्देशिकाको प्रावधानबमोजिम जीवन बीमकमा १४ जना, निर्जीवन बीमकमा १४, लघु बीमकमा ७ र पुनर्बीमकमा २ समेत गरी कुल ३७ जना बीमांकीले रोजगारी पाउने वातावरण बनेको छ।

Esewa
Crest

निर्देशिकाले स्वदेशभित्रै बीमांकी सेवाका लागि दक्ष जनशक्ति उत्पादन र उनीहरुलाई रोजगारीको अवसर उपलब्ध गराउने बाटो खुला गरिदिएको छ। यसको नतिजा देखा पर्न कम्तीमा पनि अझै एक दशकको समय लाग्न सक्छ। तर, ढिलै भए पनि ७० दशक लामो इतिहास बोकेको नेपालको बीमा क्षेत्रमा यसको प्रारम्भ हुनु सकारात्मक पक्ष हो। नेपालमा हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्कुल अफ म्याथमेटिकल साइन्स(गणित विज्ञान महाविद्यालय)ले यो विषय अध्यापन गराइरहेको छ।

प्राधिकरणले यो निर्देशिका जारी गरेपछि एक्चुअरियल सोसाइटी अफ नेपालले कोशेढुंगा भन्दै प्राधिकरणको कदमको स्वागतसमेत गरिसकेको छ। सुरुआती चरणमा बीमांकी विश्लेषकको नियुक्तिबाट उनीहरुलाई नियुक्त बीमांकी (अप्वाइन्टेड अक्चुअरी) मार्फत प्रशिक्षित गरेर स्वदेशमै दक्ष बीमांकी जनशक्ति उत्पादनको वातावरण तयार गर्ने प्राधिकरणको उद्देश्य हो।

बीमांकी विश्लेषकका रुपमा नियुक्तिका लागि स्नातक तह उत्तीर्ण, कुनै तीनवटा बीमांकी पेसागत परीक्षाको तीनवटा पत्र उत्तीर्ण, कम्तीमा तीन महिना नेपाली बीमा क्षेत्रमा कार्यानुभव प्राप्त गरेको, अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट एसोसिएट्ससिप प्राप्त गर्न तयारी गरिरहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ।

बीमांकी विश्लेषकको मुख्य चार जिम्मेवारी

क) बीमांकी कार्यहरुलाई बीमांकीबारे जानकारी भएका तर गैरप्राविधिक प्रकृतिका व्यक्तिहरुसमक्ष प्रस्तुत गर्ने,

ख) बीमांकी समाधान तयार पार्दा सरोकारवालाको आवश्यकतालाई प्राथमिकतामा राख्दै विश्लेषण गर्ने,

ग) बीमांकी कार्यमा पेसागत तथा नैतिक मापदण्डहरुप्रतिको ज्ञान झल्काउने,

घ) पेसागत कार्यमा पियर रिभ्यु (संगी विश्लेषण) को भूमिकाबारे अवगत रहेर काम गर्ने।

निर्देशिकाको प्रावधानहरु पूर्ण रुपमा कार्यान्वन भए नभएको सुनिश्चित गर्ने जिम्मेवारी बीमा प्राधिकरणको हो। निर्देशिकाअनुरुप सबै बीमकले प्रशिक्षार्थी बीमांकीको नियुक्ति गरेको सुनिश्चित गर्ने कार्य प्राधिकरणले गर्नुपर्छ। प्राधिकरणले नेपाल बीमक संघ, जीवन बीमक संघ नेपालको सामाजिक उत्तरदायित्व कोष र बीमा कम्पनीको कर्मचारी दक्षता अभिवृद्धि, सामाजिक उत्तरदायित्व कोषको रकमबाट एक्चुअरियल सोसाइटी अफ नेपाल र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालसँगको सहकार्यमा बीमांकी पेसालाई आफ्नो वृत्तिविकासका माध्यम बनाउन आकांक्षी विद्यार्थीका लागि नियमित तालिम तथा प्रशिक्षणको अवसर जुटाइदिनुपर्छ।

प्राधिकरण स्रोतका अनुसार १४ वटा जीवन बीमक, ३ वटा लघु जीवन बीमक र २ वटा पुनर्बीमा कम्पनीले बीमांकी विश्लेषक नियुक्त गरिसकेका छन्। ‘१४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकलाई बीमांकी विश्लेषक नियुक्तिको विवरण माग आज पत्र पठाएका छौँ’, स्रोत भन्यो, ‘१–२ दिनमा सबै निर्जीवन बीमकबाट बीमांकी विश्लेषक नियुक्तिसम्बन्धी विवरण आउला।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS