काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आज एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी ल्याव मेड तथा विएस्सी एमआइटीमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले विद्यार्थीहरुले प्राप्त गर्ने सफलताले नै कलेजले शैक्षिक मानक बनाउने भएकोले मेहनत गरेर अध्ययन गर्न सुझाए ।
एमविविएसमा भर्ना हुँदा शैक्षिक अभिमुखीकरण कार्यक्रममा बस्दाको क्षणको सम्झना गर्दै उनले सुरुका दिनहरुमा के होला ? कसरी जाने ? अन्यौलता भएपनि दोश्रो वर्षदेखि सहज बन्दै जाने बताए । मेडिकल शिक्षामा अनुशासन, मेहनत र लगनशीलता सफलताको प्रमुख आधार रहेको उनको भनाई छ ।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा.मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्याय, कलेजका बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी लगायतले विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरु प्रदान गरेका थिए ।