काठमाडौं । ह्याबिट्याट पावर कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आब्हान गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा पुष ११ गते बिहीवार कम्पनीको रजिष्टर्ड कार्यालय, हाडिगाउँ, काठमाडौमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
उक्त सभामा लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सम्बन्धित छलफल गरी पारित गर्ने जनाएको छ ।
साथै कम्पनीको संचालकहरुको सेवा सुविधा तथा बैठक भत्ता निर्धारण गर्ने विषयमा समेत छलफल हुने जनाएको छ ।
सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । कम्पनीले आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता साधारण शेयर जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहको लागि र बाँकी १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ ।
कम्पनीले पाँचथर जिल्लामा ९.९ मेगावाट क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

















