IME Life
GBIME

नयाँ काम गर्ने हुटहुटीले सहकारीबाट रीतालाई बीमातिर डोर्यायो, अहिले अब्बल नेतृत्व

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मानिसको जीवनमा अनेक मोड आउँछन्। ती मोडमा उनीहरुले थुप्रै चुनौतीको सामना गर्नुपर्छ । यसरी चुनौतीलाई सामना गर्दै अगाडि बढ्ने मानिस सफल हुन्छन्। खोला किनारका ढुंगा पनि पानीको छालमा कयौं पटक ठोकिन्छन् । अनि तिनै ढुंगा राम्रा बन्छन् । मानिसको जीवन पनि त्यस्तै हो। जति धेरै दुःख उति नै बढी मेहनत। अनि जति धेरै चुनौती उति नै अवसर। यिनै पक्षलाई स्वीकार गर्दै अगाडि बढ्ने आँटले नै मानिसलाई सफलताको शिखरमा पुर्याउँछ । यस्तै अथाह मेहनत र परिश्रम गरेर व्यावसायिक सफलता हासिल गरेकी महिला हुन्, रीता पाठक (गजुरेल)।

जीवन बीमा क्षेत्रमा एक साहसी र सफल महिलाका रुपमा परिचित छिन्, रीता। उनी हाल सिटिजन लाइफ इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजर,कर्पोरेट सेल्स हेड पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आइरहेकी छन् । अहिले पनि बीमा क्षेत्रको उच्च तहमा महिलाको उपस्थिति न्यून नै छ । तर, रीता भने उच्च तहमा नै बसेर आफ्नो जिम्मेवारी हाँकिरहेकी छन् ।
रीताको डिपार्टमेन्टअन्तर्गत सहकारी, माइक्रो इन्स्योरेन्स, ग्रुप इन्स्योरेन्स, वैदेशिक रोजगार बीमा, डाइरेक्ट इन्स्योरेन्सलगायतका काम पर्दछन्। रीताले आफ्नो जिम्मेवारी पूरा गर्न अथाह मेहनत गर्छिन्। उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दूरदराजमा पुगेर हरेक सहकारी संस्था तथा गाउँघरका व्यक्तिलाई बीमा शिक्षा दिने गरेकी छन् । निःतान्त बीमा पोलिसी बेचेर आफ्नो टार्गेट मिट गर्नुभन्दा पनि रीता बीमा शिक्षा, सचेतना, जागरणजस्ता कार्यक्रम अगाडि बढाएर बीमा पहुँच कसरी विस्तार गर्ने भन्ने धाउन्नमा हुन्छिन् ।

Crest

हाल ललितपुरको इमाडोलमा बसोबास गर्दै आएकी रीताको जन्मघर भने चितवनको रत्ननगर टाँडी हो। रीताको बाल्यकाल सुख र रमाइलोमा बित्यो। सम्पन्न परिवारमा जन्मिएकी रीतालाई केही कुराको पनि अभाव भएन । ‘बुवा व्यवसायी व्यक्तित्व भएका कारण पनि हामीले विभिन्न ठाउँमा घुम्ने मौका पायौँ। घुमाउन लग्नुहुन्थ्यो। हाम्रो रमाइलो परिवार थियो’, बाल्यकाल सम्झिँदा रीता भन्छिन्, ‘सानोमा हामीलाई यो कुराको चाहिँ रहर छ है भन्ने वातावरण आमा–बुवाले सिर्जना हुन दिनुभएन। हाम्रो हरेक इच्छा अनि चाहना पूरा गर्दिनुहुन्थ्यो। हाम्रो बाल्यकाल धेरै सुखमय बित्यो ।’

रीताले स्नातकसम्मको अध्ययन आफ्नो जन्मथलोबाट नै पूरा गरिन् । उनले विवाहपछि काठमाडौंबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नाकोत्तर पूरा गरिन्। सम्पन्न परिवारमा हुर्किए पनि रीता आफूले केही गर्नुपर्छ भन्ने भाव बोकेकी थिइन्। उनले धेरै संघर्ष र चुनौतीलाई झेल्दै अगाडि बढिन्। रीता सानै उमेरबाट सामाजिक काममा रुचि राख्ने गर्थिन् । विशेषगरी रीतालाई महिलाको हकहितका लागि काम गर्न मन पर्थो । ‘महिलाहरु घरबाहिर आएर काम गरे हुन्थ्यो भन्ने लाग्थ्यो’, उनले भनिन्, ‘महिलाहरु आफ्नो खुट्टामा आफैँ उभिए हुन्थ्यो भन्ने लाग्थ्यो ।’
सुखमा हुर्किए पनि रीता जहिले पनि आफूलाई व्यस्त नै राख्न रुचाउँथिन्। सानैबाट उनलाई परिश्रम गर्न मन लाग्थ्यो । अहिले पनि रीतालाई हात खाली राख्न मन नै लाग्दैन। अफिसमा होस् वा घरमा केही न केही काममा व्यस्त हुनैपर्छ, उनलाई। ‘अहिले पनि मलाई ‘तँ काम गर्नुपर्छ’ भन्ने बाध्यता घरमा छैन’, उनले भनिन्, ‘मेरा दुई छोरा अमेरिकामा इन्जिनियर अनि श्रीमान नेपाल सरकारको वरिष्ठ इन्जिनियरिबाट रिटायर्ड भएका हुन् । तर, आफ्नो पेसा जिम्मेवारी, कामप्रतिको लगाव र अझै केही गर्छु भन्ने हुटहुटिपनले मलाई बीमा क्षेत्रमा अड्याइरहेको छ ।’

बीमा क्षेत्रमा आउनुअघि रीता श्रीमानको जागिर जता सरुवा भयो उतै बस्ने गर्थिन्। त्यतिबेला उनले आफ्ना बालबच्चा र परिवारलाई समय दिइरहेकी थिइन् । जब उनीहरु काठमाडौं सिफ्ट भए तब आफूलाई व्यस्त राख्न रुचाउने रीताले अब आफू पनि केही गर्नुपर्छ भन्ने सोच राखिन् । उनले आफ्ना परिवार र छरछिमेका महिला तथा दिदी–बहिनीलाई भेला पारेर महिला समूह बनाएर सहकारी संस्था स्थापना गरी चलाएकी थिइन् । जसमा महिलाहरु अग्रसर भएर सबैलाई स–साना बचत गर्न भन्दै हिँड्ने गरेकी थिइन् । ‘मलाई सधैँ अगाडि बढ्न हौसला दिने मेरी काकी सासुआमा संगीता गजुरेललाई धेरै धन्यवाद दिन चाहन्छु’, उनले भनिन्, ‘मेरी काकी सासुआमाले मलाई सधैँ अगाडि बढ्नपर्छ भनेर साथ र समर्थन गरेर नै हामीले सहकारी सञ्चालन गरेका थियौँ। हामीले महिलाका लागि धेरै काम गर्यौं । सहकारीमार्फत महिलालाई विभिन्न सीपमूलक तालिम दियौँ। मैले धेरै समय सहकारीमा काम गरेँ । सहकारीमार्फत विभिन्न नेसनल र इन्टरनेसनल तालिम लिएँ ।’रीता यसरी लागिन् इन्स्योरेन्समा
महिलाका लागि विभिन्न सीपमूलक तालिम तथा जनचेतना फैलाइरहेकी रीता सहकारी संस्थामा नै आबद्ध भएर काम गर्दै आइरहेकी थिइन्। त्यो समयमा उनका साथीभाइ र आफन्त भने मेट लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्थे। रीतालाई पनि सहकारीबाट मुभ भएर फरक र नयाँ खालको काम गर्न रुचि थियो। तर, त्यो समयमा रीताका बालबच्चा साना थिए। उनका आफन्त र साथीभाइले पनि उनलाई मेट लाइफमा काम गर्न आग्रह गरे तर रीताले ‘अलि पछि गर्छु, अहिले बच्चा साना छन्’ भनिन्। त्यो समयमा नेपालमा भर्खर बीमा कम्पनीहरु स्थापना हुने तरखरमा थिए। उनका आफन्त र साथीभाइले ‘इन्स्योरेन्स क्षेत्रमा काम गर्न राम्रो हुन्छ। करिअरका हिसाबले पनि राम्रो हुन्छ’ भनेका थिए। आफूलाई सधैँ व्यस्त राख्न रुचाउने रीता साथीहरुले इन्स्योरेन्समा आउन आग्रह गरेको केही समयपछि बच्चाको व्यवस्थापन गरेर इन्स्योरेन्समा काम गर्ने निधो गरिन्। अन्ततः रीताले २०६१ सालबाट मेट लाइफ इन्स्योरेन्समा एजेन्टका रुपमा काम गर्न थालिन्। उनले मेट लाइफमा राम्रो प्रदर्शन गरेर अगाडि बढिन्। त्यस कम्पनीमा हुँदा रीता म्यानेजर लेभलसम्म पुगेकी थिइन्। लामो समय उनले मेट लाइफमा बिताइन्। उनी त्यस कम्पनीमा राम्रो काम गर्ने कर्मचारीका रुपमा स्थापित भएकी थिइन्।

लामो समय एउटै कम्पनीमा काम गर्दै आएकी रीतालाई कम्पनी मुभ गर्न मन लागिरहेको थियो। त्यही समय अर्थात् २०७४ सालमा नेपालमा धेरै बीमा कम्पनी खुले। त्यसमा सिटिजन लाइफ पनि बीमा बजारमा नयाँ कम्पनीका रुपमा खुल्यो। उनलाई कम्पनीको पोलिसी, कम्पनीको टिम, कर्मचारी, व्यवस्थापनलगायतका यावत कुराले आकर्षण गरायो। ‘नयाँ कम्पनी नयाँ जोश–जाँगरका साथ आएको योङ टिमसँग काम गर्न पाए आफू अझै अगाडि बढ्थेँ भन्ने आँट जाग्यो’, उनले भनिन् ।त्यसपछि रीताले २०७४ सालबाट सिटिजन लाइफमा म्यानेजर लेभलबाट काम सुरु गर्न थालिन्। आफ्नो सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान नै रीताले इन्स्योरेन्स क्षेत्रमा बिताएकी थिइन्। ‘लामो समय बीमा क्षेत्रमा काम गरेको अनुभव भए पनि नयाँ कम्पनीमा काम गर्न सबैलाई चुनौती नै हुन्छ’, रीताले भनिन्, ‘नयाँ कम्पनीमा काम गर्न धेरै चुनौती हुन्छन्। बजार विस्तार गर्नुपर्यो। मान्छेलाई विश्वास दिलाउनुपर्यो। नयाँ–नयाँ पोलिसी ग्राहकसामु चिनाउन गाह्रो नै हुन्छ तर मेहनत गर्दै जाँदा नसकिने केही पनि रहेनछ। मैले सुरुआती समयमा धेरै मेहनत गरँे। घरपरिवार सबैलाई छोडेर कम्पनीको कामले कहिले काहीँ म १ महिना त कहिले ४५ दिनसम्म भ्यालीबाहिर नै हुन्थेँ। त्यही माथि म त महिला, चुनौती नै चुनौती थियो।’

रीता हरेक गाउँमा पुगेर बीमा बुझाउँथिइन्। ‘फेरि त्यो समय नेटवर्किङ बिजनेसको थियो। त्यसले पनि बीमालाई प्रभाव पारेको थियो’, उनले थपिन्, ‘नेटवर्किङ बिजनेस नकारात्मक प्रभाव पारेको त्यो समयको बीमालाई हामीले अहिलेको यो अवस्थामा ल्याउन सफल भयौँ।’
‘सुरुमा ब्रान्डिङको चुनौती थियो। कडा मेहनत गरेँ। आज त्यो मेहनतले मलाई सफलता पनि दिलाएको छ तर म यहाँसम्म आइपुगे भनेर मैले मेहनत गर्न छाडेकी छैन। हिजो जति मेहनत गर्थे आज पनि मेरो मेहनत त्यति नै छ’, रीता भन्छिन्।

‘म बुवा–आमाको पनि असल छोरी, सासु–ससुराको पनि असल बुहारी, श्रीमानको पनि असल श्रीमती र छोराको नजरमा पनि असल आमा छु’, सधै असल कर्म गरेर अगाडि बढ्दै आइरहेकी रीता भन्छिन्, ‘त्यस्तै, अहिले कम्पनीको पनि म असल कर्मचारी हुँ। जति मलाई कम्पनीले विश्वास गरेको छ, त्यति नै मैले पनि मेरो कम्पनी हो भनेर काम गरेकी छु। म सधैँ मेरो काम हो भनेर हिँड्छु। कम्पनीको काम हो भनेर मैले कहिले पनि हिँडेकी छैन। आफ्नै काम आफ्नै कम्पनी सोचेर अगाडि बढेको भएर नै होला आज मैले पनि सफलता पाएकी छु।’
रीतालाई महिलाका लागि काम गर्ने र महिलाका लागि केही गर्न सधैँ अगाडि बढ्न मन लाग्छ। कम्पनीमा रीताले महिलालाई सधैँ अगाडि बढ्न प्रेरित गर्ने गरेकी छन्। कम्पनीमा पनि रीताले महिला संगठन विस्तार गरेकी छन्। महिलालाई सधैँ सत्कर्मको बाटो हिँड्न सल्लाह दिने र काम गर्न प्रेरित गर्ने हौसला दिने गरेको रीता सुनाउँछिन्।

बीमा सचेतना कार्यक्रम लिएर गाउँ–गाउँ जाँदा कस्तो प्रतिक्रिया आउँछ ? भन्ने प्रश्नमा रीता जबाफ दिन्छिन्, ‘सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आउँछन्। बीमा बुझिसक्नुभएका मानिसले बीमालाई राम्रो भन्नुहुन्छ। बीमाले गर्दा हामीले राहात पाएका छौँ, बीमा हाम्रा लागि दरिलो खम्बा भएर उभिएको छ भन्नुहुन्छ। कतिपयले बीमा गराउन खोज्नुहुन्न। बीमाले मरेपछि मात्रै पाइन्छ भन्नुहुन्छ। तर, बीमा बुझाउँदै जाँदा हामीले सचेतना कार्यक्रम गराउँदै जाँदा पछि बीमा बुझेर राम्रो रहेछ भन्नुहुन्छ।’पछिल्लो समय बीमा प्राधिकरणको बीमा सचेतना कार्यक्रमले पनि बीमा बुझाइमा सकारात्मक प्रभाव परेको रीताको अनुभव छ। ‘हरेक बीमा कम्पनीले पनि बीमा अभियानलाई सशक्त रुपमा अगाडि बढाएका छन्। यसले भोलिको दिनमा राम्रो नतिजा ल्याउनेछ’, उनले भनिन्।
सचेतना कार्यक्रम लिएर जाँदा रीता जहिले पनि ‘सबैलाई बीमा गराउनुहोस्। बीमा अपरिहार्य छ। बीमाले आजमात्रै होइन भोलिको भविष्य पनि सुनिश्चत गर्दछ’ भनेर शिक्षा दिने गरेकी छन्। निम्न वर्गमा न्यून आय भएकालाई बीमामा फोकस गर्ने गरेको उनले बताइन्। ‘न्यून आय भएको घरमा भोलि आम्दानी गर्ने एकजनाको मृत्यु भयो भने त्यो घरमा आर्थिक संकट पर्छ’, रीता थप्छिन्, ‘त्यसकारण आजको दिनमा एक कप चियाको पैसा बचाएर बीमा गरायो भने भोलि बीमाले अभिभावकको काम गर्छ भनेर सम्झाउने गरेकी छु।’

एक्ली छोरी मान्छे भएर बीमा क्षेत्रको उच्च तहमा पुग्न परिवारको ठूलै भूमिका रहेको रीताको भनाइ छ। ‘मेरा श्रीमान र छोराहरुको सपोर्टले गर्दा आज म यो स्थानमा आइपुगेकी हुँ’, उनले भनिन्, ‘परिवारले मलाई हौसला दिएर यहाँसम्म पुर्याउनुभयो। यसका लागि म मेरा परिवारका सदस्यलाई धन्यवाद दिन चाहन्छु।’

परिवारका साथै कम्पनीले पनि आफूलाई उत्तिकै सहयोग गरेको रीता बताउँछिन्। ‘कम्पनीको टिमले मलाई सधैँ हौसला दिएको छ। यसका लागि पनि म कम्पनीप्रति सधैँ आभारी रहनेछु’, उनले भनिन्।

पछिल्लो समय प्राधिकरणको अभिकर्ता अनलाइन परीक्षाले गर्दा बीमा बजारमा राम्रा र व्यावसायिक अभिकर्ता भित्रिरहेकोमा रीता खुसी छिन्। ‘बीमा बजारका लागि यो धेरै राम्रो कुरा हो। एक अभिकर्ता एक बीमा कम्पनी अभियानले पनि बीमा बजार राम्रो भएको छ’, उनको अनुभव छ।
कम्पनीले दिने हरेक टार्गेट मिट गर्ने गरेको रीताको भनाइ छ। बीमा क्षेत्रकी एक हस्ती महिलाका रुपमा आफ्नो परिचय बनाएकी रीता विभिन्न अवार्डबाट सम्मानित भएकी छन्। उनले ११ वटा देशको भ्रमणसमेत गरिसकेकी छन्।

सिटिजन लाइफको टिम राम्रो भएकै कारण आज यो स्थानमा पुग्न सफल भएको रीता बताउँछिन्। ‘कम्पनीले जहिले पनि सबैलाई एकरुपले हेर्ने गरेको छ। यो सिनियर त्यो जुनियर कम्पनीले भन्दैन। अभिकर्ता, कर्मचारी, उच्च व्यवस्थापन सबैलाई एउटै व्यवहार छ’, उनले भनिन्, ‘अझ हाम्रो कम्पनी अभिकर्तालाई विशेष प्राथमिकता दिएर अगाडि बढेको छ। किनकि अभिकर्ता भनेको कम्पनीका मेरुदण्ड हुन्। अभिकर्ता बिना कम्पनीको व्यवसाय असम्भव छ। त्यही कारण पनि हामीले कसरी हुन्छ अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम दिएर बजार बढाउने गरेका छौँ। कम्पनीले अभिकर्तालाई सधैँ सम्मान गरेको छ। कर्मचारी र एजेन्टलाई सिटिजन लाइफले उत्कृष्ट, एड्भान्स लेभलको तालिम दिने गरेको छ।’

सिटिजन लाइफ पछिल्लो समय डिजिटल अवधारणामा जोड दिँदै आइरहेको छ। यस अवधारणाले ग्राहक तथा कम्पनीलाई सहज भएको छ। अहिले कम्पनीमा ९९ प्रतिशत अभिकर्ताले अनलाइनबाटै काम गर्ने गरेका छन्। साथै, कम्पनी नयाँ–नयाँ अभियान, समय तथा ग्राहकसापेक्ष पोलिसीमा जोड दिँदै आइरहेको छ। आगामी दिनमा पनि ग्राहकलाई सहज र सरल हुने योजना ल्याएर बीमा बजारमा एक दरिलो कम्पनीका रुपमा स्थापित हुनेमा प्रतिबद्ध छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS