काठमाडौैं । घलेम्दी हाइड्रोले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी ९६.६२ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीको रिजर्भ १६ करोड ३८ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ९८.९१ रुपैयाँ रहेको छ।