काठमाडौं । नेपाल एयरलाइन्सले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा हुने उडान समय परिवर्तन गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि कात्तिक २३ गतेबाट मर्मतसम्भारको काम सुरु हुने भएकोले नेपाल एयरलाइन्सले नारिता, दोहा र दुबईको उडान समय परिवर्तन गरेको हो। भोलिबाट त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द रहनेछ।
नेपाल एयरलाइन्सका अनुसार काठमाडौं–नारिता उडान अब राति ९ बजेर १५ मिनेटमा हुने। यसअघि ११ बजेर ५० मिनेटमा उडान हुँदै आएको थियो।
त्यसैगरी नारिता–काठमाडौं उडान भने अब स्थानीय समयअनुसार बिहान ९ बजेर २५ मिनेटमा हुनेछ। यसअघि बिहान ११ बजेर २५ मिनेटमा हुँदै आएको थियो।
काठमाडौं–दोहा उडान पनि अब राति ९ बजेर ३० मिनेटमा हुनेछ भने दोहा–काठमाडौं उडान स्थानीय समयअनुसार बिहान २ बजेमा हुनेछ। यसअघि काठमाडौं–दोहा उडान राति ११ बजे र दोहा–काठमाडौं उडान स्थानीय समयअनुसार बिहान ३ बजेर २५ मिनेटमा हुँदै आएको थियो।
त्यस्तै काठमाडौं–दुबई उडान अब राति ९ बजेर ३५ मिनेटमा र दुबई–काठमाडौं उडान स्थानीय समयअनुसार बिहान ४ बजेर १० मिनेटमा हुनेछ। यसअघि काठमाडौं–दुबई उडान राति ११ बजेर १५ मिनेटमा र दुबई–काठमाडौं उडान स्थानीय समयअनुसार बिहान ४ बजेर १० मिनेटमा हुँदै आएको थियो।