काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रुरु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले बोनस शेयरका लागि रुरु जलविद्युतको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७६४.३५ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ८७९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको शेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आज असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असोज २९ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्नका लागि आगामी कात्तिक ११ गते १९ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको नकसालस्थित लिसारा ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले बोनस वितरणपछि कायम हुन आउने चुक्तापुँजीको १ः०.८० को अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेकोले लगानी व्यवस्थापनका लागि हकप्रद निष्कासन गर्न लागेको जनाएको छ।