काठमाडौं । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (सीडीजेएमसी) का प्राध्यापक तथा विद्यार्थीहरुको स्टार अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । मंगलवार बल्खुस्थित केन्द्रीय विभागको समन्वयमा अस्पतालका डाक्टर तथा नर्सहरुको टोलीले प्राध्यापक तथा विभागका अध्ययनरत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । अस्पतालका अनुभवी चिकित्सकहरुले रक्तचाप, मधुमेह, गाइनो लगायतको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।
अस्पतालले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरुको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ । विभागीय प्रमुख डा। कुन्दन अर्यालले विद्यार्थीलाई शिक्षणसँगै अन्य रचनात्मक कार्यमा सहभागी गराउने उददेश्यले स्टार अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बताए ।
उनले आगामी दिनमा विभागले विद्यार्थीका लागि अन्य रचनात्मक क्रियाकलाप गर्दै जाने बताए । उपप्राध्यापक डा. देवराज अर्यालले विभागले रचनात्मक काम गर्ने कार्यक्रम अन्तर्गत स्टार अस्पतालको समन्वय गरेर शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको बताए ।
उपप्राध्यापक डा. अर्यालले यस्ता काम गर्दा विद्यार्थीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हुने र अस्पतालको पनि प्रचार हुनेगरी काम गरिएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरता दिँदै सबैले सकारात्मक रुपमा लिन आवश्यक रहेको जनाए ।
उपप्रध्यापक डा. घमराज लुईंटेलले पनि अस्पतालहरुको सामाजिक जिम्मेवारी पनि रहेकाले अस्पतालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्नु सह्रानीय काम भएको बताए ।
उनले भने,‘अस्पातलहरुको सामाजिक जिम्मेवारी पनि हो । विभागका प्राध्यापक र विद्यार्थीहरुको स्वास्थ्य निःशुल्क गर्न सकारात्मक कुरा हो ।’ उनले स्टार अस्पतालहरुले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविरहरु गर्ने गरेको भन्दै विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरी विद्यार्थीहरुको स्वास्थ्य समस्याको बारेमा थप जानकारी लिने अवसर मिलेको बताए ।
उनले अगामी दिनमा पनि विभागले यस्ता कामहरु निरन्तर गरिरहेने उल्लेख गरे । उनले मानसिक र शारीरिक अवस्था राम्रो भएमात्रै शिक्षा राम्रो हुने धारणा राखे । उनले स्वास्थ्य र शिक्षा एक अर्काका परिपूरक भएकाले शिक्षा लिनको लागि शिक्षक र विद्यार्थीको स्वास्थ्य अवस्था स्वस्थ हुन आवश्यक रहेको जनाए । गुणस्तर शिक्षा लिनको लागि स्वस्थ शिक्षक र स्वस्थ विद्यार्थी हुन जरुरी रहेको बताए ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तह तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थी ईक्सा लिम्ब्रूले स्टार अस्पतालले विद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दा खुशी भएको बताएका छन । उनले विभागमा नै आफ्नो स्वास्थ्य सम्बन्धि समस्याका बारेमा निःशुल्क जानकारी लिन पाउँदा उत्साहित भएको बताए ।
उनले विभागले स्टार अस्पतालसँगको सहकार्यले आफूले स्वास्थ्य परीक्षण गरी जानकारी लिन र शिक्षा आर्जन दुवै लिने अवसर मिलेको भन्दै आगामी दिनमा पनि यस्ता कार्य निरन्तर आवश्यक रहेकोजानकारी दिए । तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थी महेश पाण्डेले स्टार अस्पतालले विभागमा आएर विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्नु विद्यार्थीहरुको लागि लाभदायी रहेको उनको भनाई छ ।
उनले विभागले अस्पतालसँग समन्वय गरी विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गराउनु सकारात्मक काम भएको बताए । त्यस्तै, तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थी बाबुराम आचार्यले विभागले अध्यापनमा मात्रै भन्दा पनि यस्ता खालका रचनात्मक खालका कार्यक्रम गर्न आवश्यक रहेको बताए । उनले अस्पतालहरुलाई सामाजिक जिम्मेवारी पनि भएकाले विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्नु उदाहरणीय कार्य भएको जनाए । स्टार अस्पतालले पछिल्लो समय विद्यालय तथा क्याम्पसहरुमा समेत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ ।