IME Life New

अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिल्छ, शेयर बजारले छिट्टै नयाँ रेकर्ड बनाउँछ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि शेयर बजार लगातार बढिरहेको छ। पछिल्लो दुई दिनमै शेयर बजार करिब १२५ अंकले बढेको छ।

बजारप्रति लगानीकर्ताको पनि विश्वास बढ्दै गएको देखिन्छ। कारोबार रकम पनि दैनिकजसो बढिरहेको छ। अर्थतन्त्र पनि सकारात्मक नै देखिन्छ। अब बजारले नयाँ रेकर्ड कायम गर्ने जानकारहरु बताउँछन्।

Crest

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल सबैतिर सकारात्मक माहौल बनिरहेकोले शेयर बजारले २–४ महिनामै नयाँ रेकर्ड कायम गर्ने बताउँछन्। ‘अहिलेको शेयर बजारको आकार हेर्दा यसअघिको ३२०० को इन्डेक्स केही पनि होइन, यो २–४ महिनामै तोडिन्छ’, उनले भने, ‘यही सकारात्मक माहौल बनिरहे बजारले ४००० हजारको विन्दुमा पार गर्नु सामान्य हुनेछ।’

अहिले दैनिकजसो बढिरहेको कारोबारले बजारमा बुलिस यात्रा सुरु भएको मान्न सकिने ढकाल बताउँछन्। ‘अघिल्लो बुलमा २२ अर्ब रुपैयाँसम्म कारोबार भएको थियो’, उनले भने, ‘अब ३५–४० अर्ब रुपैयाँको कारोबार हुन सक्छ।’

नयाँ सरकारका अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीको तालमेल मिल्ने भएकोले शेयर बजार सकारात्मक ढंगले अगाडि बढ्ने ढकाल बताउँछन्। ‘शेयर बजारले रुचाएका व्यक्ति अर्थमन्त्री भएका छन्, उनको गभर्नरसँग राम्रो तालमेल छ’, उनले भने, ‘त्यसैले अब आउने वार्षिक मौद्रिक नीति शेयर बजारअनुकूल नै आउनेमा लगानीकर्ता ढुक्क छन्।’

पछिल्लो समय ब्याजदर पनि सिंगल डिजिटमा आएकोले अब बैंकहरुमा थुप्रिएको पैसा पनि शेयर बजारमै आउने ढकालले बताए। ‘अन्य क्षेत्रमा अझै लगानी गर्ने वातावरण बनेको छैन, त्यसैले बैंकबाट पैसा आउने भनेको शेयर बजारमै हो’, उनले भने, ‘किनकि शेयर बजारमा बैंकहरुबाट प्रवाह भएको कर्जा जोखिममा पर्दैन। शेयर तरल सम्पत्ति हो। २–३ दिनभित्रै बेच्न सकिन्छ।’

अहिलेको गठबन्धन सरकार स्थिर रहनेमा लगानीकर्ता विश्वस्त रहेको पनि ढकालले बताए। ‘त्यसैले सरकार स्थिर रहेको अवस्थामा शेयर बजारले पनि गति लिन्छ’, उनले भने।

अर्का भेट्रान लगानीकर्ता एवं इन्भेस्टर्स फोरमकै पूर्वअध्यक्ष छोटेलाल रौनियार पनि अहिलेका अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिल्ने भएकोले शेयर बजारले गति लिनेमा शेयर लगानीकर्ता ढुक्क रहेको बताउँछन्। ‘यही कारणले पछिल्ला केही दिनदेखि बजार बढिरहेको हो’, उनले भने, ‘अब मौद्रिक नीतिले पनि लगानीकर्ताले उठाउँदै आएका माग समेटिने सम्भावना छ।’

विदेशी मुद्राको सञ्चित १६ महिना आयात धान्ने रहनु, रेमिट्यान्स भित्रिने क्रम बढ्दै जानु, महँगी नियन्त्रण हुँदै जानुले पनि शेयर बजार बढ्नलाई टेवा पुगिरहेको रौनियारको तर्क छ। ‘अहिले सबैतिर सकारात्मक महौल छ’, उनले भने, ‘यही बेला अर्थमन्त्री भएर विष्णु पौडेल आएका छन्, उनी शेयर लगानीकर्ताले पत्याएका व्यक्ति हुन्।’

बैंकमा थुप्रिएको पैसा शेयर बजारमा ल्याउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लचिलो व्यवस्था ल्याउन सक्ने रौनियार बताउँछन्। ‘अहिले दैनिकजसो कारोबार पनि बढिरहेको छ, थप लगानी भित्रिएमा शेयर बजार बढ्न अझै टेवा मिल्नेछ’, उनले भने।

लामो समयदेखि बजार तल्लो विन्दुमा रहेकोले अब माथि नै जानेमा आशावादी हुन सकिने रौनियार बताउँछन्। ‘पहिलेको रेकर्ड ब्रेक गर्न कति समय लाग्ला, त्यो अनुमान म गर्दिनँ तर बजारले गति लिनेमा भने म ढुक्क छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS