काठमाडौं । बंगलादेशको आर्थिक मामिला सम्बन्धी मन्त्रिपरिषद् समितिको बुधबारको बैठकले नेपालबाट विद्युत आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको हो । अर्थमन्त्री आह्म मुस्तफा कमालको अध्यक्षतामा बुधबार भएको बैठकले सैद्धान्तिक स्वीकृती दिएको हो ।
बैठकमा बिजुलीको महशुल दर भने खुलाइएन । द बिजनेश स्टाण्डर्डका अनुसार यो प्रस्ताव आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा राखिनेछ । यसअघि गत भदौ ११ गते विद्युत, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालबाट जलविद्युत आयात गर्ने लगभग अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।
बंगलादेशले नेपालमा हिउँदमा बढी माग भएका बेला आफ्नो अतिरिक्त बिजुली निर्यात गर्ने अवसर प्राप्त गर्न हिउँद अघि नै नेपालबाट बिजुली आयात गर्ने योजना थियो । बंगलादेशमा जाडोमा बिजुलीको माग घट्छ भने नेपालमा बढ्छ ।
भारतले बंगलादेशलाई भारतीय प्रसारण पूर्वाधारमार्फत नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न अनुमति दिन सहमति जनाएको छ । बंगलादेश–नेपाल ऊर्जा तथा ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त स्टेयरिङ कमिटी (जेएससी) र संयुक्त कार्यसमिति (जेडब्लुसी)को यही वैशाख १ गते बसेको दुईदिने बैठकले नेपालबाट ४० मेगावाट विद्युत् आयात सुरु गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
पावर सेलका महानिर्देशक मोहम्मद हुसेनले भारतको भूभाग हुँदै नेपालबाट विद्युत आयात गर्न सक्ने क्षमता भएको बहरामपुर–भेरमारा प्रसारण लाइनबाट ४० मेगावाट विद्युत् आयात गरिने जानकारी दिएका छन् ।
योजना अनुसार बंगलादेशले सेवा प्रदायकको रुपमा भारतीय कम्पनीमार्फत नेपालबाट बिजुली आयात गर्नेछ। पहिले भारतीय प्रसारण लाइनबाट नेपालबाट बिजुली ल्याउने र त्यसपछि बंगलादेशलाई बिक्री गर्नेछ ।
हाल, बंगलादेशले भारतबाट बिजुली आयात गरिरहेको छ भने भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगमले बंगलादेश पावर डेभलपमेण्ट बोर्डलाई बिजुली बिक्री गरिरहेको छ। ढाका र काठमाडौंबीचको विद्युत व्यापारको हकमा नेपाल विद्युत प्राधिकरणले विद्युत व्यापार निगम र बंगलादेश पावर डेभलपमेण्ट बोर्ड दुबैसँग सम्झौता गर्नुपर्नेछ।
४० मेगावाट आयात योजना बाहेक बंगलादेशले भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट जलविद्युत ल्याउन चाहेको समेत द बिजनेश स्टाण्डर्डले उल्लेख गरेको छ ।
नेपालका लागि बंगलादेशमा विद्युत निर्यात शुरू भएसँगै तेश्रो मुलुकमा बिजुली निर्यातको यो पहिलो अवसर हुनेछ। नेपाल विद्युत प्राधिकरणले दक्षिणी छिमेकी मुलुक भारतसँग बिजुली खरिद बिक्री गरिरहेको छ।