काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८० नाघेको छ। १३० भन्दा बढी घाइते भएका छन् । बाटोमा सुख्खा पहिरो गएकाले उद्धार कार्यमा चुनाैती भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार भेरी नगरपालिकामा ३०, नलगाड नगरपालिकामा ६, कुशे गउँपालिकामा ७ र छेडागाड नगरपालिकाका १ जनाको ज्यान गएको छ। यसैगरी रुकुम पश्चिममा जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको छ।
घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पतालमा पुर्याइएको छ । शक्तिशाली भूकम्पका कारण जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिका क्षेत्रमा ठूलो क्षति भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।