IME Life
GBIME

संसारभर नै पूँजी परिचालनको माध्यम शेयर बजार हो ? चन्द्रप्रसाद ढकाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ । मैले व्यवसाय शुरु गर्दा कल्पना नै नगरेको महासंघको अध्यक्ष पद जति मेरा लागि गर्वको बिषय हो त्यत्तिनै यसले जिम्मेवारीवोध लिएर आउँने रहेछ । त्यो मैले पदभार ग्रहण गरेपछि बोध गरे । ७७ वटै जिल्लामा करिब ६ लाख सदस्यहरुको मेरो परिवार बनेको छ । उहाँहरुको आशा र भरोसाको केन्द्रलाई हामीले अगाडि बढाउनु छ । उहाँहरुको समृद्धि कुनै न कुनै रुपमा महासंघसंग जोडिएको छ । अध्यक्षको नाताले त्यसको जिम्मेवारी म र हामी कार्यसमिति पदाधिकारीको काँधमा आएको छ ।

तर मैले अध्यक्षता ग्रहण गर्दा अर्थतन्त्रमा समस्या निक्कै चुलिइसकेको थियो । यसैबीच अध्यक्षता ग्रहण गर्ने वित्तिकै , निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरि राष्ट्रिय सभाले विधेयक पारित गर्यो । हतार हतार सम्माननीय प्रधानमन्त्री लगायत उच्च नेतृत्व कहाँ पुग्यौ । सम्माननीय प्रधानमन्त्री यहाँहरुको सदासयताले अहिलेका लागि यो रोकिएको छ । तर फेरि कहिले खुल्छ टुंगो छैन् ।

Crest

त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका समयमा निक्कै मिहिनेत गरेर नेपाल भारत बिजनेस समिट गर्यौ, हाम्रो भारतीय साझेदार सिआइआइसंग मिलेर । हामीले विदेशी लगानी बढाउने वाचा त गर्यौ, तर गत आर्थिक बर्षमा अघिल्लो बर्षभन्दा ६० प्रतिशत कम विदेशी लगानी भित्रियो, जम्मा ७ अर्ब रुपैया हाराहारी । नेपालमा संचालित प्राय सबै वहुराष्टिय कम्पनी राम्रो मुनाफा कमाइ रहँदा पनि नयाँ लगानी आइरहेको छैन । अमेरिकी सरकारले केहि समय अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण देखिएको छ । यदि त्यसो हो भने सम्माननीय प्रधानमन्त्रीज्यू सुधार आवश्यक छ ।

यो अर्थतन्त्रमा निराशाको एउटा सूचक हो । यस्ता सूचक हरु बढदै गएर अर्थतन्त्र मन्दीमा जाने हो । अमेरिकाको नेसनल व्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी हो । सम्माननीय प्रधानमन्त्री करिब डेढ बर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो केहि घटनाक्रम सम्झन चाहन्छु ।

हरेक बर्ष जेठ १५ बार्षिक बजेट आउने दिन हो । यसपटक उक्त दिनलाई हामीले बढि आशा गरेका थियौं । हामीले आग्रह गरेका थियौ, अर्थतन्त्र मन्दीमा गैसक्यो, सरकारको विशेष सहयोग बजेट मार्पmत चाहिन्छ भनेर । केहि दिर्घकालीन सकारात्मक प्रभाव पर्ने बिषय बजेटमा समेटिए । जस्तो कि जग्गा र वातावरणीय प्रभाव सम्बन्धि बिषय । खनिजजन्य पदार्थको उत्खनन र निर्यातका बिषय । जसलाई हामीले स्वागत ग-यौं । तर मन्दीलाई सम्बोधन गर्ने बिषय बजेटमा अटाएनन् । व्यवसायी निराश भए ।

त्यसपछिको हाम्रो आशा मौद्रिक नीतिमा थियो । ठूलो अपेक्षा सहित निजी क्षेत्रका तिनवटै संस्थाले सुझाव पेश गर्यौ । मौद्रिक नीति सार्वजनिक हुनु एक महिना अघि हामी र अन्तराष्ट्रिय वित्त निगमले एउटा प्रतिवेदन सार्वजनिक गरेका थियौ । जस अनुसार निजी क्षेत्रको अर्थतन्त्रमा योगदान ८१ प्रतिशत देखिएको थियो ।

निजी क्षेत्रमा करिब ५० लाखले रोजगारी पाएका थिए । ९५ प्रतिशत भन्दा बढि निर्यात निजी क्षेत्रको थियो । ८० प्रतिशत भन्दा बढि राजश्व निजी क्षेत्र र सर्वसाधारणले बुझाउने गरेका थिए । हामीलाई आशा थियो यति ठूलो योगदान गरेको निजी क्षेत्रका प्राय सबै संस्था एकै ठाउँमा आएर दिएको सुझाव कार्यान्वयन हुन्छ । तर भएन । किन निजी क्षेत्रलाई यसरी वेवास्ता गरिन्छ म अभै बुझन सकिरहेको छैन । मैले राम्रोसंग बुझेको छु, सबै पेशाको विशेष महत्व छ । डाक्टरले हाम्रो ज्यान बचाउने क्षमता राख्छन । त्यसैले हामी भगवान पनि भन्छौ । तर डाक्टरका लागि अस्पताल कि त सरकारले बनाइदिनुपर्यो कि निजी क्षेत्रले ।

न्जिनियरले अदभूत संरचना निर्माण गर्न सक्छन । तर लगानी त कि सरकारले गर्नुपरो कि निजी क्षेत्रले । पत्रकारले समाजलाई सुसुचित गर्ने र डोर्याउने काम गर्न सक्छन । तर मिडिया त कि सरकारले खोलिदिनुपर्यो कि निजी क्षेत्रले । सरकारले यसरी लगानी गर्न कहाँबाट पैसा ल्याउछ त यो पनि एक पटक हेरौ । सरकारी बजेटका मुख्य चार स्रोत हुन्छन् । राजश्व, विदेशी ऋण, विदेशी अनुदान र स्वदेशी ऋण । अब के मैले भनिरहनुपर्छ यसमा सबैभन्दा बढि योगदान कस्को छ । अवश्य राजश्वको छ । त्यो कहाँबाट आउँछ त ? त्यसैले म भन्न चाहन्छु, लगानी, उत्पादन, रोजगारी, राजश्व र वृद्धिको मुख्य स्रोत निजी क्षेत्र हो । तर यो निजी क्षेत्र मौद्रिक नीतिमा पनि निराश भयो ।

त्यसपछि गत बर्ष निजी क्षेत्रको विरोधका वापजुद जारी भएको चालु पूँजी मार्गदर्शनमा संसोधन हुने भयो । हामी खुशी भयौ । संसोधन भएर पनि आयो । निजी क्षेत्रको आंशिक माग संसोधन पनि भयो । तर त्यही दिन एकिकृत निर्देशनमा संसोधन भएर आयो । त्यसमा के भनियो भने एउटा साझेदार निष्कृय कर्जाको सूचीमा पर्यो भने अर्को पनि पर्यो । बक्यौता किस्ता तिरे पनि वाच लिष्टबाट हट्न ६ महिना लाग्छ । अब के भन्ने ?
निजी क्षेत्रलाई किन सहुलियत नदिइएको भनेर सोध्यौ भने, अहिले नै कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशत कर्जा गैसक्यो तर पनि आर्थिक वृद्धि भएन त्यही भएर नदिएको भन्ने जवाफ आउँछ । हो ९० प्रतिशत कर्जा प्रवाह भएर पनि किन वृद्धि भएन अध्ययन गरौं न । यत्तिकै दोष जति उद्यमी व्यवसायीलाई दिएर उम्किन मिल्छ ?

सहज हुँदा बैंक वित्तिय संस्थाले पनि कर्जा दिएका होइनन र ? केन्द्रिय बैंकले पनि त्यो ऋण अनगमन गरेकै होइन र यत्तिका बर्षसम्म ? अनि दोषजति उद्यमी व्यवसायीलाई मात्र । यो समस्या सबै मिलेर सिर्जना भएका हो भने समाधान पनि त सबै मिलेर निकालौं । त्यो ९० प्रतिशत भित्र कति उत्पादनमूलक क्षेत्रमा गएको छ हेरौं । कति अन्यत्र गएको छ हेरौ । वृद्धिका लागि के कर्जामात्रै आवश्यक हुन्छ वा अन्य पनि । सरकारले खर्च गर्नुपर्छ कि पर्दैन ।

म विद्धान अर्थशास्त्रीहरुलाई पनि भन्न चाहन्छु । यहाँहरुले निजी क्षेत्र भन्ने वित्तिकै घरजग्गा, शेयर र व्यापार मात्रै लगानी गरेका छन भनेर लेख्ने बोल्ने गरेका छन् त्यो गलत हो । के यी क्षेत्र चाहिँदैनन र ? संसारभर नै पूँजी परिचालनको माध्यम शेयर बजार हो । फेरि अन्यत्र भएको लगानी पनि हेर्नुपर्ला नि । लगानीका अवसर नभएपछि कर्जाको केहि रकम जग्गा र सेयरमा गएको होला । यहाँहरुले के बुझिदिनुपर्यो भने अन्यत्र भएको लगानी पनि बजारमा माग नहुँदा खुम्चिदै गएको छ । बैंक वित्तिय संस्थाको कर्जा तिर्न समस्या भएर विस्तारै बैंकहरुको खराब कर्जा बढदै जानेछ ।

अहिले बिजुली उत्पादन भएको छ तर बेच्न पाएको छैन । उत्पादनमूलक उद्योग संचालन गर्न झन कठिन छ । त्यसै कारण व्यापारमा रुची हुन्छ । तै पनि हामी काम गरिरहेका छौ । समस्या यथावत नै रहेका बेला डेडिकेटेड फिडर र टंकलाइनको बिषय आयो । अध्ययन नगरि सबैले रकम बुझाउन सूचना जारि भयो । हामी फेरि सम्माननीय प्रधानमन्त्री कहाँ गयौ । यहाँले तत्काल लाइन नकाटन निर्देशन दिएपछि केहि राहत भएको छ ।

सम्माननीय प्रधानमन्त्री यहाँले निजी क्षेत्रका समस्या समाधान गर्न प्रयास गर्नुभएको छ । हामी निक्कै आभारी छौ र धन्यवाद पनि दिन चाहन्छौ ।
हामीले यहाँकै उपस्थितिमा चीनमा पनि नेपाल चीन लगानी सम्मेलन गर्यौ । सिसिपिआइटीले सम्मानसाथ नेपालसंग सहकार्य गर्ने गरि कार्यक्रम आयोजना गर्यो । रुचि देखिएको छ । तर हामी उहाँहरुलाई बोलाएर के अफर गर्ने ।  हाम्रा मूलभूत समस्या अझै समाधान भएका छैनन् । लगानीकर्ताले निक्कै सकस भोग्नुपर्दछ ।

सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री यहाँ उपस्थित विद्धत वर्ग सहित अन्तराष्टिय मुद्रा कोषजस्ता अन्तराष्टिय संस्थाहरुलाई पनि म भन्न चाहन्छु, के निजी क्षेत्रलाई यसरी लखेटेर अर्थतन्त्र चल्छ ? संसारभर नै पूँजी परिचालनको माध्यम शेयर बजार हो
बिकास साझेदारहरुसंग पनि समदुरी आवश्यक छ । अर्थतन्त्र संचालनमा विदेशी निकायको सुझाव र सल्लाह सुधारका लागि लिने हो, आफ्नो जनतालाई अप्ठेरोमा पार्न लिनु हुँदैन ।

अहिले अन्तराष्टिय मुद्रा कोषका सानो ऋणका कारण अर्थतन्त्र जोखिममा पर्ने अवस्था आएको छ । अहिले हाम्रा सबै सूचक ठिकठाक छन मिल्छ भने त्यो ऋण तिरिदिएपनि हुन्छ । लामो समय नेपालमा कार्यालय नभएका कारण कोषलाई नेपालको अर्थव्यवस्थाबारे सही जानकारी नभएको हामीले पनि छलफलमा महसुस गरेका छौ । अनावश्यक हस्तक्षप सहनु हुँदैन ।

हेर्नुस त अर्थतन्त्रको हालत कस्तो भै सक्यो । निजी क्षेत्र चलायमान हुन नसक्दा राजश्व घटिरहेको छ । सरकारी खर्च चलाउन आर्थिक बर्षको शुरु देखि नै आन्तरिक ऋण उठाउन थालिएको छ । उच्च मुल्यवृद्धि छ । हामी चाहन्छौ एउटा पारदर्शी र निजी क्षेत्र मैत्री प्रणालीको बिकास होस । साना उद्यमी जसको पहुँच छैन उहाँहरुलाई सहयोग बढि चाहिन्छ । उहाँहरुले सहज रुपमा व्यवसाय गर्ने वातावरण वनाइदिनुपर्छ । त्यसतर्फ हामी सबै प्रयास गरौं ।

किनभने अर्थतन्त्रमा अब सानोतिनो परिवर्तनले सुधार सम्भव छैन् । यसको उदाहरण सेयर बजार लक्षित केन्द्रिय बैंकको नीति लगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको छ । हामीले समयमा सही नीति लिन सकेनौ । अब टालटुले नीतिले सुधार सम्भव छैन् । अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ । बैंक वित्तिय संस्थाहरुसंग करिब ५ खर्ब रुपैया लगानी गर्न सक्ने रकम छ । आपूर्ति अधिक हुँदा ब्याज घटनुपर्ने हो र उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने हो । तर त्यसो हुन सकेको छैन् ।

विदेशी विनिमय संचिति सम्भवतः हालसम्मकै उच्च छ । भारतसंग स्थिर विनिमयदरका कारण कुनै ठूलो विनियम जोखिम पनि छैन् । तर गत बर्ष अघिल्लो बर्षभन्दा ६० प्रतिशत कम वैदेशिक लगानी भित्रियो । रेमिट्यान्स हालसम्मकै उच्च महिनामै १ खर्ब १६ अर्ब रुपैया भित्रिएको छ । यसले न बजारमा माग बढाएको छ न औपचारिक रुपमा आयात नै उच्च भएको छ । यी र यस्ता विरोधाभाषपूर्ण तथ्यांक अहिलेको अर्थतन्त्रमा देखिएको छ । यो मूलतः सर्वसाधारणले अर्थव्यवस्थाप्रति विश्वास गुमाउँदै गएर एकैपटक लगानी र बजारको माग घटेको छ भने बजार भाउ निरन्तर बढिरहेको छ । नेपाली अर्थतन्त्रमा संरचनात्मक समस्या रहेको यसले देखाएको छ । त्यसलाई अहिले पनि हल गरेनौ भने जोखिम गहिरिँदै जानेछ ।

अब टालटुले नीतिले सम्बोधन गर्न नसक्ने हुँदा नया पुस्ताको आर्थिक सुधारको तत्काल घोषणा गर्नु आवश्यक छ । पछिल्ला तीस बर्षमा युगान्तकारी राजनीतिक परिवर्तन भएपनि अर्थतन्त्रमा तात्विक सुधार हुन सकेन । अहिलेको अर्थव्यवस्थाको जग विसं २०४८ ताका थालिएको सुधारले अब थेग्न सक्दैन् ।

त्यसैले सम्माननीय प्रधानमन्त्रीबाट तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरिय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु अत्यन्त आवश्यक छ । उक्त आयोगको अध्यक्ष सम्माननीय प्रधानमन्त्री नै रहने र निजी क्षेत्रका छाता संगठनका अध्यक्ष अनिवार्य रुपमा समावेश हुनुपर्नेछ । अर्थ, उद्योग मन्त्रालय योजना आयोग र नेपाल राष्ट बैंकको उच्च नेतृत्व आयोगमा रहनु हुनेछ ।

आयोगको समयावधि एक बर्षको हुनेछ भने तत्कालको समस्या समाधानको उपाय तीन महिनाभित्र पेश गरिनेछ । बाँकी अवधिमा नया पुस्ताको सुधारको खाका तयार पारि सम्बन्धित निकायलाई बुझाएर आयोग विघटन गर्न सकिनेछ । नयाँ आयोग वनाउँदा खर्च बढने हुँदा खर्च कटौति संगै प्रभावकारी रुपमा संचालन गर्न निम्न उपाय अवलम्बन गर्न सकिनेछ । यसको संचालनमा निजी क्षेत्रले पनि योगदान दिनेछन् ।
१ं. आयोगमा सदस्यहरुलाई सवारी साधान सुविधा र वैठक भत्ता उपलब्ध गराइनेछैन ।
२. होटल रिसोर्ट आदिमा वैठक वा अन्य छलफल आयोजना गरिनेछैन । सरकारी निकाय वा महासंघ लगायतका निजी क्षेत्रका कार्यालयमा वैठक आयोजना गरिनेछ ।
३. आयोग संचालनका लागि वैदेशिक सहायता लिइनेछैन । अन्य सहयोग औचित्य र आवश्यकता हेरि तय गरिनेछ ।
४. अन्यत्रको सुधार हेर्ने नाममा वैदेशिक भ्रमणमा पठाइनेछैन ।

हामी मिलेर काम गर्यौ भने समाधान सम्भाव छ । नेपालको निजी क्षेत्र दरिलो छ । कोभिड लगत्तै झण्डै ६ प्रतिशतको आर्थिक वृद्धि दिनसक्ने क्षेत्र हो यो । निजी क्षेत्रको मनोबल बढाउने बिषयमा सरकार सकारात्मक हुनुपर्छ । हामीले निजी क्षेत्रको मर्यादाक्रमको बिषय उठाएका छौ । सम्माननीय प्रधानमन्त्रीज्यू मुख्य सचिवज्यू सकारात्मक हुँदाहुँदै पनि काम हुन सकेको छैन् । काममा तदारुकता सरकारी संयन्त्रमा पनि आवश्यक छ ।

हामी सबै मिलेर अगाडि बढ्यौ भने सुधार सम्भव छ तत्काल सम्भव छ । यतिमात्रै होइन आगाी दुइ तीन दशकको सुधारको खाका तयार पारि बिकासमा फड्को मार्न सक्ने सम्भावना पनि छ । अन्त्यमा सम्माननीय प्रधानमन्त्रीज्यू लगायत हाम्रो निमन्त्रणा स्वीकार गरेर पाल्नु भएको सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु ।

(काठमाडौंमा बिहीबार आयोजित ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा राखिएको विचार)

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS