सेयर बजारका आम सर्वसाधारण लगानीकर्तामा अक्सर उल्टो प्रबृत्ति देखिने गर्छ । जब बजारमा गिरावट आएर बिक्री चाप पर्न थाल्छ, तब जति घाटामा भए पनि सेयर बेचेर बाहिरिने लगानीकर्ताहरुको प्रबृत्ति हुन्छ । सर्बसाधारण लगानीकर्ताहरुमा यस्तो भान पर्छ कि घाटामा पनि सेयर बिक्री गरेर बाहिरिएन भने मेरो सम्पति सखापै हुन्छ । अनि त्यही बेला बजारिया विश्लेषकहरु घाटा कम गर्ने सुत्र भन्दै सर्र्बसाधारणलाई सेयर बिक्री गर्न उक्साउँछन् । बजारमा चरम निराशा सिर्जना भएको बेला कतिपय लगानीकर्ताहरुमा अब बजारमा केही आश नरहेको भन्दै जीवनभरि थेग्न नसकिने घाटामा सेयर बिक्री गरेर सधैंका लागि बजारबाट बाहिरिने प्रबृत्ति हुन्छ ।
रात पछि दिन आए जस्तै सेयर बजारमा सधैं निराशा मात्रै रहन्न । कुनै दिनदेखि सेयरको मूल्य बढ्न थाल्छ । अनि फेरि अर्काथरि विशलेषकहरु सल्बलाउन थाल्छन् । अब सेयर बजारमा सूचक यहाँ पुग्छ र त्यहाँ पुग्छ भन्दै अंक नै तोकेर सर्वसाधारणलाई उक्साउन आउँछन् । सामाजिक संजाल र मिडियाबाट त्यस्ता ज्योतिषबाजीहरु खुबै फस्टाएको देखिन्छ । अनेक बहानाबाजी गरेर यो सेयर किन र त्यो सेयर किन भन्दै निशुल्क सल्लाह दिनेहरु सक्रिय हुन्छन् । जसलाई सेयर बजारको आधारभुत कुराहरु थाहा हुँदैन, उही ठूलो विश्लेषक बनेर देखापर्छ । कोही रियल बुल शुरु भयो भन्दै डंका पिट्छन्, कोही आफ्नो कम्पनीको मार्केंटिड गर्दै सेयर किन्न र किनाउन मरिहत्ते गर्छ ।
सेयर बजारमा घट्दो बजारमा जति मूल्यमा भए पनि सेयर बिक्री गरेर बाहिरिने प्रबृत्ति हावी हुन्छ र कारोबार रकम कम हुँदै जान्छ भने बढ्दो बजारमा जति महंगो मूल्यमा पनि सेयर किनेर थुपार्ने प्रबृत्ति देखापर्छ । सेयरको मूल्य दिनदिनै सर्किट हानेर बढ्न थालेपछि किन्नेहरुको तछाड मछाड हुन्छ । बजारमा सबै कम्पनीको सेयर मूल्य नबढ्नसक्छ । माग र आपुर्तिको खेलमा आधारित रहेर खेलाडीहरुले साना कम्पनीको सेयर मूल्य उफार्दै लान्छन् । जुन कम्पनीको सेयर मूल्य जति उफ्रिन्छ, सर्बसाधारण लगानीकर्ताहरु त्यसैमा झुम्मिन्छन् ।
संस्थागत र ब्यक्तिगत लगानीकर्ताहरुको प्रबृत्ति फरक हुने गर्छ । संस्थागत लगानीकर्ताहरु आफ्नो योजना र रणनीित अनुसार चल्छन् भने ब्यक्तिगत लगानीकर्ताहरुमा लहड हावी हुन्छ । संस्थागत लगानीकर्ताहरुमा अध्ययन विशलेषण र जोखिमबहन क्षमता उच्च हुन्छ भने ब्यक्तिगतमा कम । त्यस्तै नेप्से सूचकको आधारमा लगानी गर्ने कि कम्पनीको अबस्था र सेयर मूल्यको आधारमा भन्ने कुरा पनि अर्को महत्वपूर्ण पाटो हो ।
वियरिस बजारमा हकप्रद जस्ता कुराहरुको हल्लाले नकारात्मक असर पार्छ र जति धेरै हकप्रद बिक्री गर्ने हल्ला गर्छ, त्यो कम्पनीको मूल्य उति नै घट्न थाल्छ किनभने हकप्रद किन्न लगानीकर्तासँग पैसा हुँदैन । बुलिस बजारमा हकप्रद जस्ता उल्टै पैसा लगानी गर्नुपर्ने र सेयर कित्ता थपिएर बजारमा आपुर्ति बढी हुने अबस्थामा पनि हकप्रद बिक्री गर्न खोज्ने कम्पनीको मूल्य बढ्छ । हकप्रद सेयर लगानीकतालाई कम्पनीले मायाँ गरेर सित्तैमा दिएको नभई सेयर बिक्री गरेर पैसा थुत्न खोजेको हो भन्ने बुझ्न कोही चाहँदैन । बुलिस र बियरिस बजारमा हकप्रदबारे लगानीकर्तामा उल्टो सोचाई हुन्छ । वास्तवमा हकप्रद सेयरको लोभमा दोस्र्रो बजारमा सेयरको मूल्य उचालेर किन्नु घाटाको ब्यापार नै हो ।
लगानीकर्तामा निराशा छाएर बियरिस भएको बजारमा सेयर बजारमा प्रबेश गरेर राम्रा कम्पनीको सेयर किन्न उत्प्रेरित गर्दा पागल भनेर आरोप लगाउनेहरुको जमात बढ्छ । यो बेला बजार प्रबेश गर्नु मुर्खता हो भन्ने सोचाईले प्रभाव जमाएको हुन्छ । सेयर बजारमा लगानी गर्नु गुमाउनु हो, आफ्नो पैसा र लगानीलाई खरानी वा संकटमा पार्नु हो भन्ने सोचाई हावी हुने गर्छ । तर जब सेयरको मूल्य बढ्दै गएर बुलिस चरण शुरु हुन्छ, कमाउने ठाउँ नै सेयर बजार हो भन्ने मान्यता स्थापित हुनथाल्छ । फलानाले यति कमायो रे, बजार बढेर सेयरको मूल्य आकासियो रे भन्ने हल्ला गाउँका चियापसलहरुमा समेत हुन थालेपछि सेयर बजारमा थामिनसक्नुको भीड देखा पर्छ । यस्तो बेला जस्तो पायो त्यस्तो कम्पनीको सेयर नकिन भनेर भन्दा दुस्मनी कमाउनु हुन्छ । आफुले कमाएर हामीलाई रोक्न खोज्यो भन्ने भाष्य स्थापित हुन्छ । बुलिस बजारमा आँखा चिम्लिएर सेयरमा लगानी खोज्नेहरु ओईरिन्छन् ।
२०७२।०७३ भन्दा अगाडिको बुलिस बजारमा पुतलीसडकका ब्रोकर कार्यालयहरुमा महिलाहरुको भीड थामिनसक्नु हुने गर्दथ्यो । त्यो बेला सेयर किन्न रोक्न खोज्ने ब्रोकरहरु ती महिलाहरुको नजरमा दुस्मन ठहरिन्थे, मलाई ब्रोकरले सेयर किनिदिएन भन्ने गुनासो आम हुन्थ्यो तर बजारमा बियरिस चरण शुरु भएर सेयरको मूल्य न्युन हुँदै गएपछि ती महिलाको भीड एकाएक हरायो र ब्रोकर कार्यालयमा एक जना पनि लगानीकर्ता फेला नपर्ने स्थिति आयो । अहिले कारोबार प्रणालीमा लाखौं लगानीकर्ताले ब्रोकर कार्यालय नगई घरमै बसेर अनलाईन युजर आईडीबाट पहुँच कायम गर्नसक्ने हुनाले भाौतिक उपस्थितिको त्यो भीड त देख्न सकिदैन, तर प्रबृत्ति भने उही छ । सेयर किन्न ब्रोकरले लिमिट हालि दिएन भन्ने गुनासाहरु सुनिन थालेका छन् । यद्यपी त्यसरी लिमिट हाल्न ब्रोकरसँग स्रोत छ कि छैन र लिमिट दिएपछि लगानीकर्ताले किनेको सेयर वापतको पैसा तिर्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने महत्वपूर्ण प्रश्न छ ।
चरम निराशा छाएको बजारमा कसैलाई सेयर बजारमा छिर्न सल्लाह दिने हो भने कुटाई खानुपर्ने पनि हुनसक्छ भने बुलिस बजारमा कसैलाई रोक्न खोजियो भने त्यसले कुटाई भेट्छ । तर सेयर बजार जोखिमै जोखिमले भरिएको बजार हुँदा कसैलाई सेयर किन्न वा बेच्न उक्साउनु आत्मघाती काम हो । सेयर बजारमा आउ वा नआउ भन्ने अधिकार कसैलाई पनि छैन । जसले जोखिम लिएर, लगानी रणनीति बनाएर, अध्ययन विश्लेषण गरेर, बजारको खेल बुझेर आउँछ उसलाई त स्वागत नै गर्नुपर्छ तर जसले बुझेको छैन, उसलाई पनि बजारमा आएर बुझ्ने, अनुभव हासिल गर्ने अधिकार छ र त्यसो गर्न दिनुपर्छ । नाफा र घाटाको हिसाब अलग हो । सेयर बजार बुलिस होस् वा बियरिस, लगानीकर्ताका लागि आफ्नो गुरु आफै हो ।
अब सेयर बजारमा निराशाको बादल हटेर आशावादी चरण शुरु भएकाले सेयरको मूल्यका साथै कारोबार रकम पनि बढ्दै जानसक्छ । यसका लागि बैंकमा तरलताको अबस्थामा सुधार, घट्दो ब्याज दर, अनुकुल बजेट तथा अन्य सरकारी नीति, नयाँ ब्रोकरहरुको आगमन लगायतका धेरै कुराहरुले आधार दिनसक्छन् । थरि थरिका विश्लेषकहरुले मानिसहरुलाई उराल्दाका असरहरु पनि हुनसक्छन् । यस्ता कुराहरुलाई मिहिन रुपमा विश्लेषण गर्ने फर्सत धेरैलाई नहुन सक्छ तर ठूलो माछा समात्ने ध्याउन्नमा धेरै लाग्छन् ।
सेयर बजारमा माथि बर्णन गरिएको उल्टो प्रबृत्ति जहिले पनि रहन्छ र स्वार्थको टकरावले नै बजारलाई चलायमान बनाउँछन् । बेच्नेले आफ्नो स्वार्थ पुरा भएको ठान्दछ भने किन्नेको नाफा गरुला भन्ने स्वार्थ हुन्छ । यस्तो बजारमा प्रबेश गर्ने सबैले कमाउन भने सक्दैनन् । दोस्रो बजारमा प्रबेश गर्ने अल्पकालीन लगानीकर्ता मध्ये ५ प्रतिशतसम्मले कमाउने हो । आम रुपमा भन्दा सेयरको मूल्य बढ्दा नाफा सुरक्षित गर्नेले कमाउने र उचालिएको मूल्यमा माथि टुप्पोेमा गएर किन्नेले गुमाउने हो तर चलाख कतिपय लगानीकर्ताहरुले बियरिस बजारमा बेचेर बुलिस बजारमा किनेर पनि कमाईरहेका हुन्छन् । कुन कम्पनी कुन मूल्यमा किन्ने र कुन मूल्यमा बेचेर नाफा सुरक्षित गर्ने वा लामो समयका लागि लाभांशमा आधारित लगानी गरेर बस्ने भन्ने नितान्त निजी कुरा हुन् ।