काठमाडौं । आज मे १, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । कुनै पनि कामका लागि मजदुर महत्वपुर्ण मानिन्छ ।
सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गर्यो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।
सरकारले मजदुर दिवसको दिनमा सार्वजनिक विदा दिए पनि ठुला ठुला उद्योग तथा कलकारखानादेखि लिएर प्राइभेट कम्पनीहरुले आफ्ना कामदारहरुको बीमा समेत गर्दैनन् । कामका दौरानमा वार्षिक कयौ श्रमिकहरुले अकालमा ज्यान गुमाउनु पर्छ । केहि कम्पनी तथा उद्योगहरुले धेर थोर क्षतिपुर्ती दिए पनि उनिहरुलाई बीमाको दायरामा समेट्न चाहदैनन् ।
मजदुरहरुका लागि धेरै किसिमका बीमा गराउन सकिन्छ । जीवन बीमा कम्पनीहरुले ट्रम पोलिसी बिक्री गरिरहेका हुन्छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले स्वास्थ्य बीमादेखि लिएर दुर्घटना बीमा गरिरहेका हुन्छन् । सामान्यतया एउटा मजदुरका लागि ८ वटा पोलिसीहरु आवस्यक पर्दछ । बीमा गर्नेहरुले कुनै एउटा पोलिसी खरिद गरे पछि सबै किसिमको जोखिम बहन हुन्छ भन्ने भ्रममा रहेका हुन्छन् ।
उमेर र अवस्था अनुसार विभिन्न किसिमका पोलिसी आवस्यक पर्दछ । जस्तै साविधिक जीवन बीमा, आवधिक जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ्य बीमा, घर तथा सम्पत्ती बीमा, मोटर बीमा, घातक रोग बीमा, यात्रा बीमा आदी । काम, पद र उमेर अनुसार बीमा गर्दा एउटै व्यक्तिले धेरै वटा साविधिक जीवन बीमा गर्नु पर्छ । विश्वका कतिपय देशले बीमा कम्पनीहरुबाट खरिद गरिएको पेन्सन प्लानलाई पनि कर्मचारी सञ्चयकोष तथा सामाजिक सुरक्षा कोषको मान्यता दिने गरेको पाइन्छ ।
नेपाल सरकारले सामाजिक सुरक्षा कोषलाई ऐन मार्फत अनिवार्य गरेकाले यसमा आवद्ध हुने श्रमिकले धेरै किसिमका बीमा सुरक्षा पाउने गरेका छन् । तर अझै पनि लाखौ कम्पनी तथा फर्महरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सकेका छैनन् । सरकारले पनि बीमा कम्पनीहरुबाट खरिद गरिएको जीवन बीमा पोलिसीलाई यस्ता कोष सरह मान्नु पर्ने देखिन्छ ।
मजदुरहरु जति धेरै आफु सुरक्षित भएको महशुस गर्न सक्छन् । त्यति नै प्रोडक्टिभिटी बढ्छ । सरकारले मजदुरहरुको बीमालाई अनिवार्य गर्न सकेमा श्रमिकहरु सुरक्षित हुन सक्ने थिए ।