काठमाडौं । नेपालमा वित्तीय उदारीकरणको फलस्वरुप निजी क्षेत्रको संलग्नतामा आवस्यकता भन्दा धेरै बीमा कम्पनीको स्थापना भएको पाइन्छ । लाइसेन्स राजको विकास सँगै चुनाव अगाडी नयाँ बीमा कम्पनी स्थापना गर्ने ट्रेण्डले नेपालमा अत्याधिक मात्रामा बीमा कम्पनी स्थापना भएका छन् ।
अर्थतन्त्रको विस्तारको तुलनामा बीमा कम्पनीको संख्यात्मक वृद्धिले समग्र अर्थतन्त्रको विकासमा अपेक्षाकृत सहयोग पुग्नुको सट्टा अस्वस्थ प्रतिस्पर्धा, कमजोर सुशासन, न्यून पूँजी आधार आदि पक्षबाट प्रणालीगत जोखिम सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गरी वित्तीय क्षेत्रलाई सवल, सुदृढ र सक्षम तुल्याउन बीमा समितिले बीमा कम्पनीहरु गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी नीति कार्यान्वयनमा ल्याएको छ ।
संस्थाको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, पूँजी वृद्धि गर्न, नयाँ प्रविधि र व्यवस्थापकीय दक्षता हासिल गर्न, संस्थाको बजार हिस्सा बढाउन र रणनीतिक श्रेष्ठता हासिल गर्नका लागि गाभ्ने/गाभिने तथा प्राप्तिलाई माध्यमको रुपमा लिइने गरेको देखिएको छ ।
त्यसैले बीमा समितिले पछिल्लो समय लिएको मर्जरको नीतिका कारण अहिले बीमा कम्पनीहरुलाई मर्जर नगरी सुखै छैन । बीमा समितिको नीति अनुसार अहिलेसम्म एउटा मात्रै मर्जर सफल भएको छ । अन्य १७ वटा कम्पनी मर्जर प्रकृयाँमा छन् ।
अहिलेको मर्जर न्युनतम चुक्ता पूँजी पुर्याउने उद्देश्यमा मात्रै केन्द्रित देखिन्छ । त्यसैले गर्दा सिनर्जी इफेक्ट पाउन मुस्किल हुने विज्ञहरुको बताउछन् । तर मर्जर गरे पछि केहि न केहि सिनर्जी इफेक्ट रहन्छ । मात्रै को कसरी मर्जर जान्छन् भन्ने कुरा प्रमुख चासोको विषय हो ।
अझै पनि केहि कम्पनी आफै पूँजी जुटाएर अगाडी बढ्ने सोचमा छन् । तर अहिलेको प्रमुख चासो भनेको पूँजी मात्रै जुटाउने नभइ कम्पनी आकार कत्रो हुने र क्षमता कति हुने भन्ने पनि हो । मर्जर नगरी पूँजी मात्रै थप्दा ओभर क्यापिटलाइज हुने सम्भावना उच्च रहन्छ । तर मर्जरबाट पुर्याइएको पूँजी सँगै व्यवसाय पनि जोडिन्छ । पूँजी मात्रै जुटाउनेलाई व्यवसाय बढाउनु पर्ने ठुलो दवाव रहन्छ । तर मर्जर पछि कायम भएको कम्पनीले सजिलै गुणस्तरका अतिरिक्त क्षमता पनि बढाउन सक्छ ।
मर्जरको सहमति गर्न र संझौता पत्रमा जति हस्तारक्षर गर्न सजिलो छ त्यसलाई सफल बनाउन धेरै नै कठिन छ । मर्जरका क्रममा सबैभन्दा पहिलो र ठुलो समस्या सञ्चाकलको हो । दोस्रो ठुलो समस्या कर्मचारीको हुन्छ । सञ्चालक र कर्मचारीहरुमा जहिले पनि एक अर्काले हप्ने भन्ने विषयमा मनमुटाव रहन्छ । कसैले पनि आफ्नो आत्मस्वाभिमानलाई गुमाउन चाहदैनन् । त्यसैले मर्जरमा जहिले पनि विन विन को अवस्थाका लागि प्रयास गर्नु पर्छ ।
हाम्रो सबैभन्दा ठुलो समस्या भनेको मर्जर पछि दुई कम्पनीको कल्चर मिल्दैन । को सिनियर को जुनियर भन्ने विवाद रहन्छ । यसले कर्मचारीहरु फ्रस्टेड हुने अवस्था आउछ । अर्को कम्पनीबाट आएको कर्मचारी आफु भन्दा माथि देख्ने वित्तीकै कतिपय कर्मचारीलाई चित्त बुझ्दैन । अर्को तर्फ मर्जर पछि आफ्नो पोजिसन के हुने भन्ने कुराले पनि तनाव गराउछ ।
मर्जरका क्रममा कहिले पनि कर्मचारी हटाने गल्ति गर्नु हुँदैन । बीमा समितिले निर्देशन मार्फत सम्पुर्ण कम्पनीहरुलाई मर्जरका क्रममा कर्मचारी हटाउन नपाउने व्यवस्था गरिदिएको छ । कर्मचारी धेरै भए भन्ने लाग्यो भने अवको १० वर्षसम्म नयाँ कर्मचारी भर्ना नगर्ने रणनीति बनाउनु पर्छ ।
यदि एउटै स्थानमा धेरै वटा शाखा रहने अवस्था आयो भने अर्को ठाउँमा नयाँ शाखा स्थापना गर्ने वा उक्त शाखालाई स्थानान्तरण गर्न सकिन्छ । अर्को तर्फ एकै स्थानाका दुई शाखा गाभ्दा दुई जना शाखा प्रमुख मध्ये कसलाई बनाउने भन्ने विवाद रहन्छ । शाखा प्रमुख भइरहेको व्यक्तिलाई शाखा प्रमुखबाट हटाउदा कहिलेकाही समस्या सिर्जना हुन्छ ।
यसका लागि स्वतन्त्र कन्सल्ट्यान्ट झिकाउदा सबैभन्दा राम्रो हुन सक्छ । यस्तो कन्सल्ट्यान्टले स्वतन्त्रपुर्वक काम गर्छ । उसको निर्णयलाई दुबै पक्षले मान्नु पर्छ । कन्सल्ट्यान्टले एउटा क्राइटेरिया बनाउन सक्छ । वरिष्ठता, कार्य अनुभवको समय, शैक्षिक योग्यता, उसको डेलिभर गर्न सक्ने क्षमता लगायतका सूचकले सिनियारिटी क्रियट गर्छ । त्यस पछि एक जना शाखा प्रमुख र अर्को उप शाखा प्रमुख भनेर तोकिदिन सक्छ । यसलाई पनि स्वीकार गर्न नसक्ने बाहिरिएर जादा पनि केहि फरक पर्दैन । अर्को तर्फ मर्जरका क्रममा कतिपय विषय वस्तुमा कम्परमाइज गर्ने संकृतिको विकास गर्नु पर्छ ।
नेपालमा अझै पनि बीमा क्षेत्रको मर्जरको कल्चर स्थापित हुन सकेको छैन । हिमालयन र एभरेष्टले निर्जीवन बीमा तर्फको मर्जरमा एउटा उदाहरण र अभ्यास स्थापित गरिदिएको छ । तर जीवन तर्फ अहिलेसम्म एउटा पनि मर्जर सफल भएको छैन । त्यसैले केहि सफल मर्जरले पनि अन्य मर्जरलाई सफल बनाउन ढोका खोल्नेछ । एक दुई वटा मर्जर सफल भएर स्थापित भएका कतिपय मान्यताले पनि अन्य कम्पनीहरुमा स्वीकारोक्तिको अवस्था सिर्जना गर्नेछ । त्यसैले मर्जरको संस्कृति बस्न आवस्यक छ ।
त्यसैले अहिलेको अवस्थामा मर्जरका लागि बीमा समितिले सबै कुरामा दिशानिर्देश मात्रै गर्ने भन्दा पनि कम्पनीहरु आफैले मर्जर सफल बनाउनका लागि आन्तरिक रणनीनि बनाउनु पर्ने हुन्छ । अर्को तर्फ मर्जरमा उच्च व्यवस्थापन तहका कर्मचारी तथा सञ्चालकमा सकारात्मक सोच हुनु पर्छ ।
सिनर्जी इफेक्ट
यदि राम्रो कल्चरको विकास भयो भने मात्रै बीमा क्षेत्रमा सिनर्जी आउन सक्छ अन्यथा गाह्रो पर्ने बीमा विज्ञ भोजराजको विश्लेषण छ । उनले भने ‘राम्रो कल्चरको विकास भयो भने वन प्लस वन बराबर थ्रि पनि होला ।’
सिनर्जी आउनका लागि बजार पनि विस्तार हुँदै जानु पर्छ । मर्जर पछि कम्पनीको नेटवर्थ धेरै ठुलो हुन्छ । नेटवर्थ ठुलो हुने वित्तीकै अहिले लिन नसकिएको व्यवसायमा पनि पहुँच बढाउन सकिन्छ । नयाँ प्रोडक्ट क्रियट गर्न सकिन्छ ।
कम्पनी ठुलो हुने वित्तीकै पुनर्बीमाको पनि राम्रो सपोर्ट हुन्छ । अहिले कम्पनीहरुले जोखिम नै बहन गर्न पाइरहेका छैनन् । बहन गर्ने क्षमता बढ्ने वित्तीय कम्पनीहरु क्रियटिभ हुन सक्छन् । कम जोखिम युक्त व्यवसायलाई आफुले लिएर बढि जोखिमपुर्ण व्यवसायको पुनर्बीमा गर्न सकिन्छ । यहिबाट कम्पनीहरुले सिनर्जी पाउने हो । अर्को तर्फ मर्जर पछि फरक फरक व्यवसायिक क्षेत्र भएका कम्पनी जोडिन्छन् । यसले गर्दा कम्पनीलाई पोर्टफेलियो व्यवस्थापन गर्न पनि सजिलो हुनेछ । कुनै प्रोडक्टमा नोक्सानी मात्रै बेहोरिरहेको कम्पनीले अर्को कम्पनीको कुनै सफल प्रोडक्टलाई जोडेर पोर्टफेलियो मिलाउन सक्नेछ ।
केहि वर्ष कर्मचारी तथा व्यवस्थापन खर्च अधिक रहे पनि कम्पनीले आफ्नो क्षमता एक्पोज गर्दै गर्दा त्यस्तो खर्चलाई पनि सजिलै व्यवस्थापन गर्न सक्नेछ । दुई कम्पनीका फरक फरक क्षमता भएका कर्मचारीको संयोजन हुँदा थप सिनर्जी आउन सक्छ । अर्को तर्फ नराम्रा र अन-प्रोडक्टिभ कर्मचारीलाई पनि कम्पनी ठुलो हुँदा त्यसको जोखिम घटाउन सकिन्छ ।