काठमाडौं । भारतीय लगानीको जीवन बीमा कम्पनी एलआइसी नेपालको माउ कम्पनी एलआइसी इण्डियाले थप सवा ८० करोड ६७ लाख भारतीय रुपैयाँ पूँजी थप्ने भएको छ ।
भारतीय संचार माध्यमहरुका अनुसार १ अर्ब २९ करोड रुपैयाँ लगानी गर्नको लागी भारतीय नियामक निकाय बीमा नियामक तथा विकास प्राधिकरण (आइआरडिएआई)ले हिजो मंगलबार स्वीकृति प्रदान गरेको हो ।
एलआइसी नेपालको हालको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । संस्थापक लगानीकर्ता एलआइसी इण्डियाबाट लगानी थपिएपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९२ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।
अहिले माउ कम्पनीले दिएको पूँजीका आधारमा कम्पनीले बाँकी शेयरधनीहरु सँग पनि ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सक्ने भएको छ । यस आधारमा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७७ करोड रुपैयाँ नाघ्नेछ ।
नेपालको बीमा नियामक बीमा समितिले गत चैत्रमा सबै बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै जीवन बीमा कप्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ न्यूनत्तम चुक्ता पूँजी कायम गर्नुपर्ने निर्देशन दिएको थियो । समितिले सबै बीमा कम्पनीहरुलाई यो पूँजी कायम गर्नको लागी २०७९ चैत्रसम्मको म्याद उपलब्ध गराएको छ ।
एलआईसीले माउ कम्पनीबाट पैसा ल्याउने निर्णय गरे पनि यसको स्वीकृति भने बीमा समितिबाट लिनु पर्नेछ । कम्पनीले उक्त हकप्रद शेयर निष्काशन पछि केहि प्रतिशत बोनस शेयर निष्काशन गरेर तोकिएको चुक्ता पूँजी जुटाउन सक्ने देखिएको छ । एलआईसीले अर्को कुनै कम्पनी सँग मर्जर नगरी पूँजी जुटाउने योजना बनाएको छ । बीमा समितिले अन्य कम्पनीहरुलाई हकप्रद शेयर निष्काशनमा रोक लगाउदै गर्दा एलआईसीले भने हकप्रद शेयर मार्फत नै पूँजी जुटाउने भएको हो ।
भारतीय पूँजी बजारमा गत मे महिनामा सूचीकृत भएको एलआइसी इण्डियाले सेप्टेम्बर २७ मा पब्लिक लिमिटेड कम्पनीकोरुपमा पहिलो साधारण सभा गर्ने भएको छ । बुधबार यो कम्पनीको शेयर दोश्रो बजारमा १ हजार ५ सय ४९ रुपैयाँमा कारोबार भएको छ ।