काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आइपीओ आज सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ आज सोमबार ४ बजे क्यापिटलको कार्यालयमा बाँडफाँड हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी आज बाँडफाँडको तयारी गरेको जनाएको छ ।
अन्तिम दिन रिभर फल्स पावरको आइपीओमा मागभन्दा ८.३३ गुणा बढीको आवेदन परेको छ । बैशाख २८ गतेदेखि सार्वजनिक निष्काशन गरेको आइपीओमा अन्तिम दिन १८ लाख ३८ हजार ४३१ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार अन्तिम दिन साँझ ५ बजेसम्ममा यी आवेदकहरुबाट २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ताको शेयर खरीद माग भएको हो ।
कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँड गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्काशन गरेको हो ।
यस आइपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था थियो। आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ ।