काठमाडौं । रिभर फल्स पावरको आइपीओमा ६ लाख २१ हजार ८४४ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार दोस्रो दिन अर्थात् बिहीवार साँझ ५ बजेरसम्म यी आवेदकहरुबाट ७३ करोड ३१ लाख ४० हजार रुपैयाँ बराबरको ७३ लाख ३१ हजार ४०० कित्ताको शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव ८८ गुणा बढी आवेदन परेको हो ।
पहिलो चरणमा चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानियमा आइपीओ विक्री गरी बाँडफाँड समेत सम्पन्न गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यको ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर बाँडफाँड गरेको हो ।
सर्वसाधारणले यो आइपीओ खरीदका लागि छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ११ गतेसम्म विक्री खुला हुनेछ । यस आइपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ । आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
आवेदकले विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ ।