काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ । कम्पनीले असार २० गते चुक्ता पूँजीको ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै आयोगमा निवेदन दिएको थियो । गत भदौ ३० गते आयोगमा पेश गरेको प्रस्तुतिकरण र असोज ६ गते पेश गरेको थप कागजजातको आधारमा हकप्रद शेयर निष्काशनका लागि अनुमति दिइएको आयोगले जनाएको छ ।
कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित एक करोड ८ लाख कित्ता हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद मार्फत संकलन गरेको पूँजीलाई आयोजना निर्माणका लागि प्रयोग गर्नै पर्ने सर्त तोकिएको छ । यसैको आधारमा ऋण र स्वःलगानीको अनुपात पनि कामय गर्नु पर्ने सर्त राखिएको छ । आयोगले जारी गरेका ऐन नियमावली निर्देशिका नियमको अधिनमा रहि पालना गर्नु पर्नेछ ।
आयोगले हकप्रद निष्काशनको स्वीकृति दिदा ६ वटा सर्तहरु अगाडि सारेको छ । उक्त सर्त अनुसार कम्पनी लगानी गरेको आयोजना सम्पन्न भए पश्चात सोको कुल लगात सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्ने र सोको जानकारी आयोगलाई दिनु पर्ने भनिएको छ ।