काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७७ /७८ को लागि लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बिहिबार सम्पन्न संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई कुल १० दशमलव ५२६३ लाभांश दिने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुँक्ता पूजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १ सय ५ रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरुले पाउनेछन् । कम्पनीले कार्तिक ११ गते दशौं वार्षिक साधारणसभा आब्हान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।