IME Life New

सुदन गुरूङले गृह मन्त्रालय सम्हालेको ४ दिनमै सडक दुर्घटनामा २५ जनाले गुमाए ज्यान, ३९५ घाइते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीद्वारा हालै सार्वजनिक गरिएको सात दिनको सवारी दुर्घटना सम्बन्धी इन्फोग्राफिक्सले नेपालको सडक सुरक्षाको भयावह र कहालीलाग्दो चित्र प्रस्तुत गरेको छ। प्रहरीको तथ्याङ्क अनुसार देशका विभिन्न भागमा दिनहुँ दर्जनौँ नागरिकले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने सयौँ अंगभंग भइरहेका छन्।

पछिल्लो सात दिनको विवरण केलाउँदा सडक दुर्घटनामा पछिल्ला सात दिनमा मात्रै ३९ जनाले ज्यान गुमाउँदा ७८३ घाइते भएका छन् । यस्तै, शुक्रबारमात्रै हुम्ला, धनुषा, काभ्रे र दोलखामा भएका भयानक दुर्घटनामा परी एकै दिन ११ जनाले ज्यान गुमाए।

Esewa
Crest

गृहमन्त्री सुदन गुरूङले दोश्रो पटक गृहमन्त्री पदमा सपथ लिएको जेठ २६ देखि २९ गतेसम्मको चार दिनको अवधिमा मात्र सडक दुर्घटनामै परेर २५ जनाको ज्यान गएको छ। एक सातामा ३९ जनाको मृत्यु भएकोमा ६० प्रतिशत भन्दा बढीको ज्यान यी पछिल्ला ४ दिनमा गएको छ।

नेपाल प्रहरीका अनुसार जेठ २३ देखि २९ गतेसम्म ७ दिनको अवधिमा देशभर विभिन्न स्थानमा भएको सडक दुर्घटनामा ७८३ जना घाइते भएका छन्। जसमध्ये पछिल्लो चार दिनको अवधिमा मात्र ५० प्रतिशत अर्थात् ३९५ जना घाइते भएका हुन् ।

एसियाकै सबैभन्दा खतरनाक राजमार्गः

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) र एसियन ट्रान्सपोर्ट अब्जरभेटरिको पछिल्लो प्रतिवेदन अनुसार नेपालको सडक दुर्घटना र मानवीय क्षतिको दर दक्षिण एशिया तथा समग्र एशियाली क्षेत्रमै अत्यधिक उच्च र चिन्ताजनक छ। नेपालमा प्रति १ लाख जनसंख्यामा सडक दुर्घटनाबाट हुने मृत्युदर करिब २८. रहेको डब्लुएचओको अनुमान छ। यो संख्या एशिया प्रशान्त क्षेत्रको औसत (१५.२) र दक्षिण एशियाको औसत (१६.१) भन्दा झन्डै दोब्बर हो।

अन्य एशियाली देशहरूले सडक दुर्घटना घटाउँदै लगेका छन्, नेपालमा भने सन् २०१० देखि २०२१ को बीचमा मृत्युदर १३% ले बढेको छ। त्यसैले, प्राविधिक र तथ्याङ्कीय रूपमा नेपालका राजमार्गहरूलाई एशियाकै सबैभन्दा जोखिमपूर्ण र खतरनाक मार्गहरूमध्ये एक मान्न सकिन्छ।

नेपालमा हुने दुर्घटनाहरू बहुआयामिक कारणले गर्दा भइरहेका छन्:

  • चालकको लापरवाही: झन्डै ७० देखि ९० प्रतिशत दुर्घटना चालकको लापरवाहीका कारण हुने गर्छन्। जसमा तीब्र गति, उछिन्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, र  लामो दूरीमा एकैजना चालकले सवारी हाँक्दा चालकहरूमा थकान हुनु मुख्य हुन्।

  • सडकको दयनीय अवस्था: नेपालका धेरै राजमार्गहरू खाल्डाखुल्डीले भरिएका, साँघुरा र तीब्र मोडहरू भएका छन्। सडकहरूमा आवश्यक डिभाइडर, संकेत चिन्ह र रात्रिकालीन बत्तीको चरम अभाव छ।

  • यान्त्रिक गडबडी: पुराना सवारी साधन, कमजोर ब्रेक, ओभरलोडिङ र नियमित चेकिङ तथा मर्मतसम्भारको अभावले गर्दा गुड्दागुड्दै सवारी साधन नियन्त्रण बाहिर जाने गर्दछन्।

  • भौगोलिक चुनौती: नेपालको पहाडी भूभाग आफैँमा चुनौतीपूर्ण छ। वर्षायाममा पहिरो, हिउँदमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण कम भिजिबिलिटी हुँदा दुर्घटना अझ बढ्ने गर्छ。

अन्य दक्षिण एशियाली देशहरूको तुलनामा नेपालमा दुर्घटना हुँदा मृत्यु हुनेको अनुपात धेरै हुनुको पछाडी यस्ता कारणहरू छन्ः

  • फितलो कानून कार्यान्वयन: नेपालमा सडक सुरक्षा सम्बन्धी कडा राष्ट्रिय रणनीति र सवारी साधनको सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिएको छैन। राजमार्गहरूमा सुरक्षा बार नहुनुले पनि गाडीहरू सिधै भीरबाट खस्ने गर्छन्।

  • पहाडी भूगोल र भीरपाखा: नेपालका अधिकांश राजमार्गहरू पहाड र भिरालो जमिनमा बनेका छन्। सवारी साधन सडकबाट नियन्त्रण गुमाउँदा सिधै ३०० मिटर वा १ किलोमिटर तल खोंचमा खस्ने गर्दछन्, जसले गर्दा दुर्घटना हुनासाथ बच्ने सम्भावना न्यून हुन्छ र घटनास्थलमै धेरैको मृत्यु हुन्छ।
  • तत्काल उद्धारको अभाव: अन्य देशहरूको तुलनामा नेपालका राजमार्गहरूमा तत्कालै ट्रमा केयर, एम्बुलेन्स सेवा र दक्ष प्राथमिक उपचार टोली पुग्न सक्दैन। अस्पताल पुर्‍याउन ढिलाइ हुँदा सामान्य उपचारले निको हुने घाइतेहरूले पनि बाटोमै छटपटिएर ज्यान गुमाउनु पर्ने बाध्यता छ।

  • सवारी साधनको प्रकृतिको मिश्रण: नेपालका सडकहरूमा तीब्र गतिका बस-ट्रकदेखि मोटरबाइक र पैदलयात्रीहरू एउटै साँघुरो लेनमा गुड्नु पर्ने बाध्यता छ, जसले गर्दा दुई पाङ्ग्रे र पैदलयात्रीहरू सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन्।

नेपाल प्रहरीको पछिल्लो सात दिनको तथ्याङ्कले सडक सुरक्षालाई सरकारले अब ‘राष्ट्रिय संकट’ घोषणा गरेर तीब्ररूपमा काम गर्नुपर्ने बेला आएको प्रष्ट पार्छ। क्यामेरा तेर्साउन लगाएर मन्त्रालयमा कुचोले बढार्ने वा पार्कमा हाैंसिदै टेबुल उचाल्ने भन्दा पनि यस्ता संवेदनशील र गम्भीर समस्या सम्बोधनमा गृहमन्त्रीको ध्यान पुग्नुपर्छ।

सडक दुर्घटना रोक सडक फराकिलो पारेर मात्र पुग्दैन भन्ने पछिल्ला दुर्घटनाहरूले प्रष्ट पारिसकेका छन्। ट्राफिक नियमको पूर्ण पालना, सुरक्षित पूर्वाधार, र तत्काल उद्धार प्रणालीको विकास नगरेसम्म नेपाली सडकहरूमा भइरहेको यो मानवीय नरसंहार रोकिने देखिँदैन। पहिलो पटक गृहमन्त्री हुँदा नारायगढ बुटवल सडक खण्डमा यात्रा गर्ने क्रममा ठेकेदारलाई निर्देशन दिन अघि सरेको भएपनि सुरक्षित यात्रासँग सरोकार राख्ने सडक पूर्वाधार बाहेकको बाँकी दुई विषयहरू गृहमन्त्री सुदन गुरूङको मन्त्रालयको जिम्मेवारी अन्तर्गतको काम हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS