IME Life

बीमा पेसाले धेरै थोक दियो, सबैभन्दा ठूलो त मेरो सपना साकार गर्यो: सिनियर एजेन्सी म्यानेजर भट्टराई

SPIL
NIC ASIA
काठमाडौं । दुर्गा भट्टराई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर हुन्। सिटिजन लाइफको सुरुवातसँगै भट्टराईले पनि बीमा क्षेत्रको सुनौलो यात्रा तय गरेकी थिइन्। हुन त सुरुवाती चरणमा एसियन लाइफ इन्स्योरेन्समा पनि काम गरेकी भट्टराईले तत्कालीन समयमा निकै थोरैजनाको बीमा गराएर यो पेसाबाट बाहिरिएकी थिइन्। अहिले भट्टराईले बीमा क्षेत्रमा जीवन बीमा कम्पनीले दिने मुख्य पुरस्कारहरु अधिकांश नै पाउन सफल भएकी छिन्।
सुनसरीको धरान–६ पानबारीकी भट्टराईको बीमा क्षेत्रको यात्रा रोचक छ। उनले आफू सीधै बीमा पेसामा आबद्ध भएको भन्दा पनि अन्य पेसा व्यवसाय अँगाल्दै बीमासम्म आइपुगेको बताइन्। २०५८ सालमा एसएसलसी दिएकी भट्टराईले बीकमसम्मको अध्ययन पूरा गरेकी छन्। त्यसपछि भने उनले अध्ययन–अध्यापनभन्दा पनि आफ्नो व्यावसायिक र पारिवारिक जीवनलाई नै अघि बढाउन थालेको बताइन्।
सिनियर एजेन्सी म्यानेजर भट्टराईले इन्स्योरेन्स खबरसँग भनिन्, ‘सुरुमा त मलाई बीमा क्षेत्रमा काम गर्न सक्छु जस्तो आत्मविश्वास थियो। साँच्चै भन्नुपर्दा बीमाका बारेमा मलाई राम्रोसँग थाहा पनि थिएन। तर, जब बीमा क्षेत्रमा म प्रवेश गरेँ, मैले आफ्नो जीवनमा नसोचेका प्रगतिहरु हासिल गर्न सफल भएँ। अहिले बीमाले मेरो स–सानादेखि ठूला आवश्यकता त पूरा गरेको छँदैछ, त्योभन्दा महत्वपूर्ण कुरा त मेरो जीवन नै बद्लेको, मेरो सपना पूरा भएको छ।’
तीन करोड बीमाशुल्क भित्र्याउन सफल
भट्टराईले सिटिजन लाइफमा आबद्ध भएयता करिब ३ करोड रुपैयाँबराबरको बीमाशुल्क संकलन गर्न सफल भइसकेकी छिन्। उनले अभिकर्ताको हैसियतले नै विभिन्न देश घुम्ने अवसर पाइरहेकी छिन्। ‘विदेश भ्रमणको अवसरहरु आए’, उनले भनिन्, ‘व्यक्तिगत कारणले घुमघाम गर्न भ्याएको छैन, चाँडै नै जान्छु होला।’
भट्टराईले आफ्नो घरमा चाहिने विभिन्न सामग्रीदेखि जीवनमा अपरिहार्य हुने सम्मानसमेत बीमा पेसाले दिएको बताइन्।
आरोह–अवरोह पार गर्दै बीमामा
सिटिजन लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजर दुर्गा भट्टराई भनेर चिनिनु अघिको उनको पृष्ठभूमि निकै चाखलाग्दो छ। जागिरेभन्दा पनि व्यवसायीका रुपमा उनले आफ्नो करिअरको सुरुवाती समय बिताएकी थिइन्। कुनै समय कुखुरापालनदेखि लिएर केबल व्यवसायसम्मको अनुभव लिइन्। सुरुवातमा कुखुरापालन व्यवसाय रोजेकी उनले ‘सासको धन मेरो नभन’ भन्ने उखानजस्तै कुखुरालाई कुनै पनि बेला रोग लाग्न सक्ने र आफ्नो लगानी उच्च जोखिममा पर्ने देखेपछि आफ्नो व्यावसायिक यात्रा मोडेकी थिइन्। भट्टराईले कुखुरापालनपछि केबल व्यवसायमा लागिन्। त्यो पेसामा पनि खटिए जति प्रतिफल नहुने देखिएपछि उनले सहकारीमा काम गर्न सुरु गरिन्। त्यहाँ पनि उनको मन अडिएन। अन्ततः जीवन बीमा अभिकर्ता पेसा रोजिन् र त्यसैलाई निरन्तरा दिइरहेकी छिन्। उनी भन्छिन्, ‘यसमा मलाई सन्तुष्टि र खुसी दुवै मिलेको छ।
भट्टराईले बीमा पेसा आफ्ना लागिमात्र नभई आमबीमितहरुको सेवामा समर्पित हुने पेसा रहेको बताएकी छिन्। उनले बीमा गराउने अभिकर्ता वा बीमा कम्पनीको धर्म भए पनि त्यसबाट प्रत्यक्ष लाभ बीमित वर्गले नै पाउने भएकाले बीमा गर्ने व्यक्ति नै पहिलो पक्ष हुने बताइन्। आफ्नो जीवनमा बीमामा प्रवेश गर्नुभन्दा अघि अन्य सहकारीलगायत विभिन्न संघसंस्थामा पनि आफूले काम गरेको उनले बताएकी छिन्।
बीमा क्षेत्रमा काम गर्दा छुट्टै ऊर्जा मिल्यो
बीमा क्षेत्रमा काम गर्दा आफूलाई ऊर्जा मिलेको भट्टराई बताउँछिन्। अन्य पेसा व्यवसायमा गरेको चिनजानलाई बीमा क्षेत्रमा जोड्न पाउँदा आफूले आम्दानी गर्न पाइने पक्ष उनलाई बीमाको सुन्दर पक्षमध्ये एक लाग्ने गरेको छ। बीमामा लागेर उनले घर बनाएकी छिन्, जग्गा जोडेकी छिन् र आफ्ना बालबच्चालाई शिक्षादीक्षा दिलाएकी छिन्। यसका साथै आफूले पनि समाजमा सम्मान प्राप्त गरेकी छिन्।
परिचित मान्छेले छिट्टै प्रगति गर्न सक्छन्
बीमा क्षेत्रमा परिचित मान्छेले निकै प्रगति गर्न सक्ने भट्टराईको भनाइ छ। आफू जति परिचित भयो, त्यति नै व्यावसायिक दायरासमेत बढ्ने भएकाले बीमा क्षेत्रले व्यक्तिलाई दिने प्रतिफल निक्कै ठूलो हुने उनले बताइन्। बीमाले दिने सुविधा आफ्नो मेहनत गुणा हुने भएकाले अभिकर्ता पेसालाई सोचेभन्दा धेरै फरक पाएको उनको अनुभव छ।
१३ वर्ष सहकारीमा काम गरेपछि बीमामा मोडियो यात्रा
सहकारीमा काम गरेको १३ वर्ष पूरा भएपछि भट्टराईले बीमा अभिकर्ता पेसा सुरु गरेकी हुन्। आफूलाई सिटिजन लाइफका हेमराज श्रेष्ठले नै यो पेसामा लाग्न प्रेरणा दिएको उनले बताइन्। बीमा क्षेत्रमा लागेकै कारण आज आफूले ठूलो सफलता पाएको र यो स्थानमा पुर्याउन मद्दत गर्ने सबै आमबीमित, सिटिजन लाइफ इन्स्योरेन्स, नियामक निकाय नेपाल बीमा प्राधिकरणलगायत आफ्ना आफन्त तथा शुभचिन्तकमा उनले निकै धन्यवाद दिन चाहेकी छिन्।
बीमा पेसालाई हेर्ने दृष्टिकोण बद्लिएको छ
विगतमा बीमामा काम गर्ने अभिकर्तालाई एजेन्ट वा दलालको संज्ञा दिने भए पनि अहिले समाजमा बीमा अभिकर्तालाई हेर्ने दृष्टिकोण बद्लिएको भट्टराईको भनाइ छ। अहिले बीमा अभिकर्ताको मेहनतलाई सम्मान गर्ने नागरिकहरुको संख्या बढेको र अभिकर्ताकै कारण लाभ लिएका नागरिकको पनि संख्या बढ्दो क्रममा रहेको उनले बताइन्।
बीमा गरिबलाई बढी आवश्यक
हालसम्म बीमा भनेको पैसा भएको र हुनेखाने वर्गले गर्ने भन्ने मान्यता रहँदै आए पनि आगामी दिनमा गरिबहरुले समेत बीमामा जोडिन आवश्यक रहेको सिनियर एजेन्सी म्यानेजर भट्टराईको भनाइ छ। उनले सबै व्यक्तिको जीवनमा जोखिम हुने भएकाले बीमा सबैलाई आवश्यक रहेको बताइन्। त्यसका साथै उनले बीमा गर्ने भनेको आर्थिक अवस्था न्यून भएका व्यक्तिका लागि बढी रहने पनि बताइन्।
हालसम्म बीमाशुल्क तिर्न सक्ने क्षमता भएकाले मात्र बीमा गर्न सकेकोमा आमामी दिनमा सरकारले बीमाको दायराभन्दा बाहिर रहेको सीमान्तकृत वर्गलाई अझै बढी बीमाको दायराभित्र समेट्ने कार्यक्रम ल्याउनुपर्ने भट्टराईको सुझाव छ। ‘घातक रोगको जोखिमबाट बच्न पनि बीमाले मद्दत गर्छ’, उनले भनिन्, ‘बीमाबाट लाभ पाउनेहरुको संख्या बढ्दै जाँदा अहिले बीमा बुझ्नेहरुले खोजी–खोजी बीमा गर्न थालेका छन्।’
निडर अभिकर्ता छिट्टै सफल हुने
बीमामा सफलता पाउन सक्दिनँ भनेर पछाडि हट्नेभन्दा पनि सकेसम्म अघि बढ्नुपर्ने भट्टराईको भनाइ छ। ‘सुरुआतमा आफ्ना कुरा स्पष्टसँग राख्न संकोच लाग्ने भए पनि अप्ठेरो नमानी अघि बढ्नुपर्ने रहेछ’, अभिकर्ता पेसामा लाग्न चाहनेलाई टिप्स दिँदै उनले भनिन्, ‘बीमा प्राविधिक विषय भएकाले अनुभवी अभिकर्तासँग बेहिच्किचाहट सिक्ने कोसिस गर्नुपर्छ।’
आफ्नो घर–परिवारबाट पनि साथ पाएकाले बीमामा सफलता पाएको भट्टराईको भनाइ छ। बीमा अति जरुरी रहेको र त्यसका बारेमा आफ्नो घरमा धेरथोर जानकारी रहेकाले पनि आफूलाई बीमामा काम गर्न सहजता कायम भएको उनले बताइन्। उनले भनिन्, ‘जसले लागिपरेर काम गर्छ, उसले सफलता पाउने सम्भावना पनि निकै रहन्छ।’
आर्थिक मन्दीको असर, जीवन बीमामा न्यून
आर्थिक मन्दीको असर बीमामा कम रहेको उनको अनुभव छ। अहिले मन्दीको बेलामा पनि जोखिम बढेको भन्दै उनले बीमा गराउन आउनेहरुको संख्यामा खासै कमी नरहेको सुनाइन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS