काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक लक्ष्मीप्रसाद दासको कार्यकाल थप्ने प्रस्ताव गरेको छ । कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ ।
दासको कार्यकाल यहि माघ १५ गते नै सकिसकेको छ । तर लाइफ इन्स्योरेन्स कर्पोरेसनले केन्द्रिय कार्यालयबाट नेपालका लागि प्रमुख कार्यकारी अधिकृत नपठाए पछि अर्को सिइओको व्यवस्था नभएसम्मको अवस्थालाई मध्यनजर गर्दै ६ महिनाका लागि कार्यकाल थप गर्ने निर्णय गरेको हो भारतबाट प्रमुख कार्यकारी अधिकृत आउनु पर्ने भएकाले उताबाट नआएसम्मका लागि बहालवालाले नै कार्यभार सम्हाल्नु पर्ने हुन्छ ।
एमबिएसम्म अध्ययन गरेका दाससँग एलआइसी नेपालमा विताको चार वर्ष सहित बीमा क्षेत्रमा ३० वर्षको अनुभव रहेको छ । एलआइसी अफ इन्डियामा अधिकृतस्तरबाट सेवा सुरु गरेका दास नेपाल आउनु अगाडी भारतको उडिसा राज्यको भुवनेश्वरस्थित एलआइसी अफ इन्डियाको डिभिजन कार्यालयमा सिनियर डिभिजनल म्यानेजरका रूपमा कार्यरत थिए । दासले एल.आई.सी. अफ इण्डियाको सूचना प्रविधि, मानव संसाधन, प्रशासन, मार्केटिङ लगायत प्रायः सबै विभागमा कार्य गरी अनुभव सँगालिसकेका छन् ।