सुरक्षा प्रविधि र प्रणाली भित्रको बीमा व्यवसाय: सुभाष कोईरालाको लेख

आजको युग सूचना प्रविधिको युग भएकोले समय सापेक्ष सुरक्षा प्रविधिका विविध अवयवहरुको प्रयोगले यस क्षेत्रको व्यवसायलाई पनि चुस्त बनाउनु जरुरी देखिएको छ । विगतमा सूचना प्रविधि तथा जोखिमको न्यूनिकरण गर्न लगानी समेत नहुने परिपाटीले सूचना र तथ्यांकको अस्पष्टपना र दोहोरोपना भई सहि रुपमा विश्लेषण गर्न चुनौती रहेको देखिएबाट वर्तमान अवस्थामा बीमा क्षेत्रमा विभिन्न अनलाईन तथा अफलाईन सफ्टवेयरहरुको प्रयोग भई कार्यरत भैरहेको पाईएको छ । आज सुरक्षा प्रणाली र प्रविधि प्रयोग गरि आफूलाई अब्बल देखाउन समेत उचित बजेट व्यवस्थापन गरि लाभ लिने गरिएको देखिन्छ । योे प्रविधिले सेवाग्राहीको विविध सूचना र उनीहरुको जोखिम प्रति कम्पनीले लिने उत्तरदायित्व भएकोले सो को सुरक्षा तथा गोपनियता कायम राख्न गरिने प्रकृयागत विषय हो भनि मान्न सकिन्छ । यसै क्रममा बीमा समितिबाट समेत समय सापेक्ष आफूलाई परिवर्तन गर्न आवश्यक ठानी केन्द्रिय रुपमा सूचना आदानप्रदान गर्न तथा सूचनामा एकरुपता ल्याई सहि तथ्यांकको प्रयोग र विश्लेषण गर्दै अघि बढ्नका लागि स्वीकृत प्रदान गरिएका कम्पनीहरुसंग एकिकृत भई कार्य गर्ने जमर्को गरेको देखिन्छ ।

हाल विविध कम्पनीहरुले व्यवसाय गर्नका लागि ३–४ प्रकारका अनलाईन सफ्टवेयर मार्फत सूचना संरक्षण गर्ने गरेका भएतापनि अन्य खालका अनलाईन र अफलाइन सफ्टवेयरहरु समेत संगसंगै प्रयोग गरि आफूलाई सूचना प्रविधि मैत्री रहेको देखाउन तत्पर रहेको पाईन्छ । यसबाट कम्पनीहरुको कार्य गराईमा सरलता, छरितोपना त छदैछ साथै, कार्य प्रणालीका विभिन्न अवयवहरुलाई आफू अनुकूल नतिजा प्रयोग गर्नका लागि प्रचलनमा ल्याई कार्य गरिरहेका हुन्छन् ।

सफ्टवेयर प्रयोग गर्दैमा पूर्णरुपमा प्रविधि मैत्री भएको भन्ने मान्न किमार्थ सकिदैन तर उक्त प्रविधिको बहुउपयोग गर्दै आफ्ना कर्मचारीहरुले खोजेको र आवश्यक सूचनाहरु विश्लेषण गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने खालका पर्याप्त तालिमहरु सञ्चालन गर्नुका साथै आवश्यक सूचनाहरु आफ्नै टेबलको पहुँचमा हुने व्यवस्था गर्न सकेमात्र एक अर्थमा प्रविधि मैत्री हुन सक्ने देखिन्छ । यसका अलावा कर्मचारीको कार्य क्षेत्रमा देखिने मनोवृत्तिले समेत सुरक्षा प्रणालीलाई हरेक पटक चुनौती दिईरहेको हुन्छ ।

कागजातहरु(डकेट)को सुरक्षा गर्नु बीमाशुल्क लिए पश्चात व्यवसायको प्रथम दायित्व रहन्छ । तर के नेपालमा रहेका बीमा व्यवसायी वा कम्पनीहरुमा कागजातको सुरक्षा लिएर कुनै चिन्ता छ त? विभिन्न अध्ययन तथा सरोकारवालाहरुसंग गरेको सानिध्य तथा छलफलमा कुरा उठ्ने मात्रै गरेको छ तर सम्बन्धित विभागका पदाधिकारीलाई कुनै सरोकार नै रहेको देखिएन । काम अरुको थाप्लोमा पन्छाउने तर भाग भने खोज्ने प्रवृत्ति हुदासम्म कागजातको सुरक्षा गर्न कठिनाई हुने निश्चित नै छ ।

उदाहरणमा कुनै भवितव्य परि कुनै कम्पनीको मातहतमा रहेको डकेट आगलागी वा अन्य प्राकृतिक तवरले नाश भएमा ती डकेट पुनःप्राप्ति गर्ने कुनै उपाय नै छैन । डकेट नभई कम्पनीले कुनै पनि भुक्तानी दिदैन् । भलै दुई चार वटाको भुक्तानी गर्न मिल्ला । भर्खरै सानिमा लाईफ नामक कम्पनीको नारायणघाट शाखा रहेको भवनमा आगलागी भयो । थुप्रै पसल कवल सामान सहित नाश भयो । अन्यको तुलनामा उक्त कम्पनीको थोरै नोक्सान भयो । के डकेटहरु नाश भएका भए कागजातको सुरक्षा गरेको मानिन्थ्यो ? तत्पश्चात के उक्त कम्पनीले कुनै प्रविधि अवलम्बन गर्ने निर्णय गर्यो ? यी प्रश्न मात्र हुन। कुनै कम्पनीले पनि व्यवसाय भैसकेपछि कागजातलाई डकेट बनाई राख्न बाहेक कागजातको सुरक्षा गर्न मनासिब ठानेका छैनन् ।

जुन कम्पनीको डकेट राख्ने कोठामा गई हेर्यो, क्याविनेटमा मिलाएर राखेकै देखिन्छ । १० वा १५ वर्ष पछि वा अवधि पछि गयो पूरा  धुलाम्य, किराले खाएका र स्थान अभावले खप्टाएर राखेका यातायात कार्यालयमा फाईल राखेजस्तै देखिन्छन् । सबैको अवस्था त्यस्तै छ । सुधा गर्न अतिरिक्त जनशक्ति चाहिने भएकोले अतिरिक्त बजेट चाहिन्छ । कार्यान्वयन गर्न जिम्मा लिनै गार्हो  जुन कार्य सामान्य कर्मचारीले गर्ने खालको भएको पाईन्छ ।

व्यवसाय पश्चात डकेटको व्यवस्थापन अवधि वा कुुनै पनि भुुक्तानी भएको ५ वर्ष पश्चातसम्म वा बृहत लेखा परीक्षण सम्पन्न हुदासम्म आवश्यक पर्ने भएकोले कागजातहरुको डिजिटलाईजेसन नै मुख्य ध्येय हुन जरुरी देखिन्छ । शुरुमा खर्च लागे तापनि डिजिटलाईजेसन शुरु गरेको केहि समय पश्चात सामान्य भई नियमित कार्य सरह नै हुने गर्दछ । जसबाट आवश्यक परेको खण्डमा र भवितव्य भई नोक्सान भएमा समेत सम्पूर्ण डकेटको प्रति प्रिन्ट गरि पुनःप्राप्ति गर्न सकिन्छ । यसका अलावा पोलिसी समेत डिजिटलाईजेसन भई सुरक्षित हुने हुदा कालान्तरमा सहज तवरले अप्ठेरो समयमा पनि कार्य गर्न सकिन्छ तर यसका नियन्त्रणका लागि निश्चित कर्मचारीलाई मात्र अख्तियारी दिनु पर्दछ । यसका लागि अतिरिक्त सफ्टवेयर पाईने भएकोले प्रयोग गर्न सकिन्छ ।

दावीमा सरलता गर्दा व्यवसायमा बढोत्तरी हुुने निश्चित नै छ । आफ्ना शाखा कार्यालय मार्फत निवदेन दिई अख्तियार प्राप्त अधिकारीको रोहवरमा मात्र दावी भुक्तानी गर्ने प्रचलनलाई लचिलो बनाई शाखाबाट समेत निश्चित रकमको दावी भुक्तानी प्रदान गर्ने व्यवस्था गर्न सके दूरदराजबाट दावी लिन केन्द्रमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सकिने देखिन्छ । तर यसका लागि नियन्त्रणात्मक कार्यविधि बनाई लागू गर्ने र शाखामा कार्यरतको क्षमता भने अभिवृद्धि भएकै हुनुपर्दछ । अन्यथा मौजुदा अवस्थामा दावी प्रदान गर्ने तरिकाले कम्पनीलाई प्रविधिले खासै फाईदा पुर्याउन सक्दैन् । भुक्तानी पश्चात दावी झोला(क्लेम व्याग)लाई उपलब्ध कागजात समेत डिजिटलाईजेसन गरि संरक्षण गर्न सकिने देखिन्छ ।

डिजिटलाईजेसनको व्यवस्थाले कम्पनीमा ओगटेको स्थानलाई पुनः वा अर्को उद्देश्य पूर्ति गर्न प्रयोग गर्न सकिन्छ । जसबाट डकेट व्यवस्थापन सरल हुने देखिन्छ । बैंकहरुको सूचना चोरी गरि लुटपाट गर्ने गिरोहबाट बैक क्षेत्र केहि सजग भई सुरक्षाको घेरा बढाएको अवस्थामा बीमा क्षेत्र हालसम्म सूचना ह्याक हुने सम्भावनाबाट भर्जिन भएकै मान्नुपर्दछ । अतः यो अवस्था कायम राख्न र सूचना चोरी हुनबाट बचाउन फायरवाल लगायत अन्य सुरक्षित प्रविधिमा लगानी गर्न आवश्यक भैसकेको देखिन्छ । के थाहा आगामी दिन बीमाको सूचना ह्याक भई सूचना चोरी हुन वा गडवडी गर्ने सम्भावना पो छ कि? सुरक्षामा लगानी मात्र नभई कार्य गर्ने प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्न समेत थप लगानी आवश्यक देखिन्छ ।

बीमा समितिले हालसम्म बीमा व्यवसाय भौतिक कागजातका आधारमा मात्र बीमा बिक्रि गरिने गरि स्वीकृत गरेको र सोहि प्रचलन भएकोले नया तरिकाहरुको प्रयोग गरि अनलाईनबाट समेत पोलिसी बिक्री गर्ने हिसाबले अगाडि बढ्न आवश्यक देखिन्छ । भारत लगायत अन्य देशहरुमा यस प्रकारको अनलाईन पोलिसी विक्री गर्ने व्यवस्था भएकोले आवश्यक कागजातहरु बुझिलिएर डिजिटलाईजेसन पश्चात पोलिसी बिक्री गराउन सके बीमाको भविष्य थप उज्जवल रहने देखिन्छ ।
(कोईराला बीमाका जानकार हुन्, लेखकका व्यक्तिगत विचार हुन् )

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार