काठमाडौं । नेपालले हालै राष्ट्रिय कृत्रिम बुद्धिमत्ता नीति लागू गर्नुका साथै राष्ट्रिय एआई केन्द्र स्थापना गरी डिजिटल रूपान्तरणतर्फ महत्वपूर्ण कदम चालेको सन्दर्भमा, वर्ल्ड फोरम फर एथिक्स इन बिजनेसले काठमाडौंस्थित द सोल्टी होटलमा “AI for Humanity: Navigating the Great Societal Challenges of the AI Age” विषयक विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख वक्ता तथा WFEB का अध्यक्ष डा. सञ्जय प्रधानले कृत्रिम बुद्धिमत्ताले (एआई) नेपालका लागि सिर्जना गर्ने अपार सम्भावना र त्यससँगै देखा परिरहेका चुनौतीबारे प्रकाश पारे । उनले एआईले राष्ट्रिय विकासलाई तीव्रता दिन, सुशासनलाई सुदृढ बनाउन तथा युवाहरूलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै मानव मर्यादा, लोकतान्त्रिक मूल्य तथा मानवीय स्वायत्तताको संरक्षण गर्ने जिम्मेवार र नैतिक एआईको विकास तथा प्रयोगमा विशेष जोड दिए ।
सुशासन, संस्थागत रूपान्तरण तथा नैतिक नेतृत्वका क्षेत्रमा रहेको आफ्नो अन्तर्राष्ट्रिय अनुभव साझा गर्दै डा। प्रधानले नैतिकता र नवप्रवर्तन एकअर्काका प्रतिस्पर्धी नभई परिपूरक पक्ष भएको बताए । उनका अनुसार प्रविधिगत उत्कृष्टतासँगै नैतिक नेतृत्वलाई आत्मसात् गर्ने राष्ट्रहरू नै एआई युगमा दीर्घकालीन रूपमा सफल हुनेछन्।
डा. प्रधानले आगामी नोभेम्बर २०२६ मा आयोजना हुने WFEB को ग्लोबल समिटपछि ‘नेशनल एआई फर ह्युम्यानिटी फोरम’ आयोजना गर्ने प्रारम्भिक राष्ट्रहरूमध्ये नेपाल पनि बन्न सक्ने प्रस्ताव राखे । उाले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज तथा युवाहरूलाई एउटै मञ्चमा ल्याई समावेशी, उत्तरदायी तथा नैतिक कृत्रिम बुद्धिमत्ताको भविष्य निर्माण गर्न यस्तो फोरम महत्वपूर्ण हुने बताए ।
नेपालप्रतिको आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दै उनले भने, “कृत्रिम बुद्धिमत्ताको भविष्य अन्ततः मानवताको कथा हो। एआई मानवजातिका लागि सबैभन्दा ठूलो अवसर बन्छ वा सबैभन्दा ठूलो जोखिम, त्यो प्रविधिले होइन, हामीले त्यसलाई कस्तो विवेक, मूल्य र नेतृत्वका साथ मार्गदर्शन गर्छौं भन्ने कुराले निर्धारण गर्नेछ।”
कार्यक्रममा WFEB अन्तर्गत ‘एआई फर ह्युम्यानिटी’ की संयोजक तथा आर्ट अफ लिभिङ नेपालकी कर्पोरेट प्रोग्राम्स निर्देशक नीभा माथेमा प्रधान ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको समापनमा उनले धन्यवाद ज्ञापन गरे ।
आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर के. सिंह ले डा. प्रधानलाई मायाको चिनो प्रदान गरी सम्मान गरे । कार्यक्रमको सञ्चालन टिम भेन्चर्सका प्रमुख कार्यकारी अधिकृत तेन्जिङ सोनाम गोन्सारले गरेका थिए ।
कार्यक्रममा आर्ट अफ लिभिङका पूर्वअध्यक्षहरू, सदस्यहरू तथा शुभेच्छुकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
वर्ल्ड फोरम फर एथिक्स इन बिजनेस बेल्जियमको ब्रसेल्समा मुख्यालय रहेको अन्तर्राष्ट्रिय सार्वजनिक हितको प्रतिष्ठान हो। गुरुदेव श्री श्री रविशंकरको प्रेरणाबाट स्थापित यस संस्थाले विगत दुई दशकमा विश्वभरका व्यवसाय, सरकार, शैक्षिक क्षेत्र तथा नागरिक समाजका एक लाखभन्दा बढी नेतृत्वकर्तालाई नैतिक नेतृत्व र उत्तरदायी व्यवसाय प्रवर्द्धनका लागि एउटै मञ्चमा ल्याउँदै आएको छ। संस्थाको ‘AI for Humanity’ ’ पहलले मानव मर्यादा र मानवीय स्वायत्तताको संरक्षण गर्दै कृत्रिम बुद्धिमत्ताको जिम्मेवार विकास, प्रयोग तथा सुशासनमार्फत मानव कल्याण प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
यसअघि सन् २०१६ मा आर्ट अफ लिभिङ नेपालले पहिलो पटक WFEB को स्याटेलाइट सम्मेलन आयोजना गरेको थियो, जसमा ७५० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त सम्मेलनले समाजका विभिन्न क्षेत्रबाट उत्साहजनक सहभागिता र सकारात्मक प्रतिबद्धता प्राप्त गर्दै नेपालमा नैतिक नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय संवादको महत्वपूर्ण आधार तयार गरेको थियो।












