IME Life New

‘भेरी बबई सिंचाईमा मिलेमतोमा तेब्बर बढी बीमा दाबी भुक्तानी’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट निर्माणाधीन भेरी बबई सिंचाई आयोजनाको ठेकेदारले वास्तविक भन्दा झण्डै तेब्बर बढी क्षतिपूर्ती कुम्ल्याएको तथ्य फेला परेको छ। सिंचाई आयोजनाले गरेको क्षतिपूर्ती दाबी मूल्याङ्कनमा बीमा सर्भेयर र बीमा कम्पनीका कर्मचारी समेतको मिलेमतोमा वास्तविकभन्दा बढी क्षतिपूर्ती दाबी भुक्तानी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा फेला परेको हो।

सिंचाई आयोजनाको क्षतिपूर्ती दाबी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणको अगुवाई स्थलगत छानबिन गर्न लगाएको थियो । छानबिन समितिले आयोगमा पेश गरेको प्रतिवेदनमा आयोजनाको ठेकेदार ग्वाङडोङ युआनटिआन रमन जेभीले वास्तविक क्षतिभन्दा बढी रकम दाबी भुक्तानी लिएको उल्लेख छ।

Esewa
Crest

सिंचाई आयोजनाको ठेकेदारले कम्पनीले कन्ट्रयाक्टर अल रिस्क अन्तर्गत राष्ट्रिय बीमा कम्पनीमा ५ वर्षे अवधिका लागि बीमा गराएको थियो । २०७७ साल असार ८ गते कम्पनीलाई ठेकेदारले केही दिनदेखि लगातार जारी झरीका कारण भेरी नदीमा आएको बाढीले कफर ड्याम लगायतको संरचनामा क्षति पुर्याएको दाबी गरेको थियो । बीमितले दिएको जानकारी पछि बीमा कम्पनीको अनुरोधमा एचपी सर्वेयर एण्ड इन्जिनियरिङ कम्पनीले  २०७७ असार २६ गते र कात्तिक २४ गते समेत गरी दुई पटक स्थलगत अध्ययन गरेर क्षतिपूर्ती दाबी भुक्तानीका सम्बन्धमा प्रतिवेदन तयार पारेको थियो  । प्रतिवेदनमा सर्भेयरले आव २०७६/७७ को वित्तीय प्रतिवेदनका आधारमा कूल ८ करोड ८८ लाख  २९ हजार ५९९ रुपैयाँ क्षति भएको उल्लेख गर्दै बीमालेख बमोजिमको अधिकको हकमा बीमालेख बमोजिम गर्नुपर्ने सुझाव सहित बीमा कम्पनीमा प्रतिवेदन दिएको थियो ।

राष्ट्रिय बीमा कम्पनीको दाबी भुक्तानी तथा पुनर्बीमा समितिको २०७८ भदौ ९ गतेको ५२ औं बैठकले सर्वेक्षण प्रतिवेदनका आधारमा ८ करोड ६० लाख रुपैयाँ क्षतिपूर्ती भुक्तानी गर्नुपर्ने देखिएको ठहर गर्दै सञ्चालक समिति समक्ष सिफारिश गर्यो । सञ्चालक समितिकाे २०७८ भदौ १२ गतेको बैठकले पुनर्बीमा समितिको सिफारिशको आधारमा ८ करोड ६० लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय गर्यो । सञ्चालक समितिको निर्णयको आधारमा २०७८ कात्तिक १७ गते राष्ट्रिय बीमा कम्पनीले ठेकेदार कम्पनीलाई बाढीका कारण क्षतिग्रस्त निर्माणाधीन आयोजनाका लागि ८ करोड ६० लाख रुपैयाँ क्षतिपूर्ती दाबी भुक्तानी समेत गरिदियो ।

क्षतिपूर्ती दाबी भुक्तानी दिंदासम्म सबै प्रकृया विधिसम्मत रुपमा पुरा गरेर दाबी भुक्तानी गरिएको देखिन्छ। किनकी

१) बीमा अवधिभित्रै बीमित कम्पनीले क्षतिपूर्ती दाबी गरेको छ

२) बीमकले क्षतिको स्थलगत यकीन गर्नका लागि सर्भेयर खटाएको छ

३ ) सर्भेयरले दुई दुई पटकसम्म स्थलगत अध्ययन गरेर राय सहितको प्रतिवेदन पेश गरेको छ

४ ) बीमा कम्पनीको दाबी समितिले सर्भेयरको प्रतिवेदनका आधारमा दाबी भुक्तानीका लागि सञ्चालक समिति समक्ष सिफारिश गरेको छ

५) सञ्चालक समितिले दाबी समितिको सिफारिशका आधारमा क्षतिपूर्ती दाबी भुक्तानी गर्ने निर्णय गरेको छ।

६) सञ्चालक समितिको निर्णय पछि कम्पनीले दाबी भुक्तानी गरेको छ।

यहाँसम्म सबै प्रकृया पुरा भएको देखिए पनि पहिलो त्रुटी सर्भेयरले क्षति मूल्यांकनका क्रममा गम्भीर लापरवाही गरेको फेला परेको छ। सर्भेयरले बीमित ठेकेदारले गरेको दाबी र उपलब्ध गराएको वित्तीय प्रतिवेदनका आधारमा क्षतिवापतको रकम यकीन गरेका छन् । सर्भेयरले अध्ययनका क्रममा ठेकेदार कम्पनीले आयोजनाको निर्माण प्रगतीका सम्बन्धमा जलश्रोत तथा सिंचाई विभागमा पेश गरेको प्राविधिक तथा वित्तीय प्रगती प्रतिवेदन, अन्तरिम भुक्तानी प्रमाण पत्र तथा रनिङ बिल (चालू बिल) हरूको अध्ययनलाई क्षति मूल्याङ्कनमा पुरै बेवास्ता गर्यो।

पहिलो चरणमा सर्भेयरबाट लापरवाही भएर क्षतिको अधिक मूल्याङ्कन भएकोमा दाबी भुक्तानी समितिले बीमालेख अन्तर्गतको एक्सेस लस(अधिक क्षति) को सीमा अनुसार क्षति रकमको १० प्रतिशत वा १ करोडमध्ये जुन बढी हुन्छ त्यति बराबर रकम कट्टा गर्नुपर्नेमा एकदमै न्यून रकम मात्र कट्टा गरेको पाइएको छ। छानबिन समितिले जम्मा २८ लाख २९ हजार ५९९ रुपैयाँ मात्र अधिक कट्टा गर्यो । सर्भेयरको प्रतिवेदनलाई नै आधार मान्ने हो भनेपनि अधिकवापतको रकम कट्टा गरेर बीमित ठेकेदारलाई ७ करोड ९९ लाख ४६ हजार रुपैयाँ मात्र दिनुपर्नेमा ८ करोड ६० लाख रुपैयाँ भुक्तानी गरिएको थियो ।

यसबाहेक अख्तियार सम्बद्ध श्रोतका अनुसार २०७७ असार मसान्तसम्ममा ठेकेदार ग्वाङडोङ युआनटिआन रमन जेभीले जलश्रोत तथा सिंचाई विभागमा पेश गरेको प्रतिवेदनमा ३ करोड रुपैयाँ बराबरको निर्माण तथा मर्मत कार्य सम्पन्न भएको उल्लेख गरेको थियो। असार मसान्तसम्मको प्रतिवेदनमा ३ करोड रुपैयाँ बराबरको कार्य प्रगती भएको उल्लेख भएकोमा सर्भेयरले ८ करोड रुपैयाँभन्दा बढी रकमको क्षति भएको प्रतिवेदन दिनु शंकास्पद देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS