काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको पहिचान विवरण अध्यावधिक गर्ने र पोर्टफोलियो निर्धारण गर्ने कामका लागि दोस्रोपटक थपेको म्याद पनि गुज्रिने अवस्था देखिएको छ।
प्राधिकरणले पहिलोपटक असार १६ गते सार्वजनिक सूचना प्रकाशन गर्दै असार २६ गतेभित्र व्यक्तिगत विवरण अध्यावधिक र पोर्टफोलियो निर्धारण गराउन सर्भेयरलाई जानकारी गराएको थियो। प्राधिकरणको एकीकृत सूचना प्रणाली ‘इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम, आईआरएमआईएस’मा समस्या देखिएपछि असार २६ गते पुनः सूचना प्रकाशन गरेर साउन १० गतेसम्मका लागि म्याद थपेको छ।
प्राधिकरणले दोस्रोपटक प्रकाशन गरेको सूचनामा बीमा प्राधिकरणको एकीकृत प्रणालीमा आएको समस्याले बीमा सर्भेयरको पोर्टफोलियोका लागि निवेदन पेस गर्ने समय थपिएको उल्लेख छ।
सर्भेयरका अनुसार प्राधिकरणले तयार पारेको सूचना प्रविधि प्रणालीमा संस्थागत सर्भेयरको विवरण अध्यावधिक गर्ने प्रणालीले काम नै गरेको छैन। पटक–पटक प्रयास गर्दा पनि विवरण अध्यावधिक गर्न नसकेको विषयमा प्राधिकरणमा गुनासो गर्दा समेत समस्या समाधान हुन नसकेको सर्भेयरहरुको गुनासो छ।
जहिले सम्पर्क गर्दा पनि हामी सिस्टम बनाउँदैछौँ भन्ने जबाफमात्र पाइने गरेको गुनासो गर्दै संस्थागत सर्भेयरका प्रतिनिधिले नियामकले भरपर्दो प्रणाली बनाउन नसक्नु अपेक्षित नभएको बताए।












