IME Life New

बीमकको थप पूँजीको प्रावधानले नयाँ लगानीकर्ताको प्रवेश सहज बनाउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  बीमा क्षेत्रको नियामक निकायले जीवन तथा निर्जीवन बीमकलाई न्यूनत्तम चुक्ता पूँजीमा दोब्बर भन्दा बढी वृद्धि गर्न निर्देशन जारी गरेको छ । यसअघिको न्यूनत्तम चुक्ता पूँजी नै पुर्याउन बाँकी रहेको बेला समितिले अप्रत्यासितरुपमा चुक्ता पूँजी वृद्धि सम्बन्धी प्रस्ताव ल्याएको बीमकहरुको प्रतिकृया छ ।

बीमा समितिले बीमकको जोखिमको आधारमा चुक्ता पूँजीको व्यवस्थापन गर्नुपर्ने निर्देशन यसअघि नै जारी गरेको थियो । जोखिममा आधारित पूँजी(रिस्क बेस्ड क्यापिटल) सम्बन्धी निर्देशिकामा बीमकले बहन गर्ने जोखिमको भार थेग्न सक्ने गरी २०८४ सालसम्ममा पूँजीको व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । जोखिममा आधारित पूँजी भनेको निश्चित मात्रामा पूँजी हो जुन बीमा कम्पनीले आफ्नो जोखिम बहन गर्नको लागि तत्कालै उपलब्ध हुनुपर्छ। यो पूँजी कम्पनीले संभावित वित्तीय दायीत्व पुरा गर्ने क्षमता(सोल्भेन्सी) कायम राख्न सक्छ, र यसका सबै वित्तीय परिचालन आवश्यकता पूरा गर्न सक्छ भनी सुनिश्चित गर्नको लागि हो।

Esewa
Crest

तर अहिले बीमा समितिले आफैंले ल्याएको निर्देशिकाको मर्म विपरित थोरै कारोबार र जोखिम भएका तथा उच्च कारोबार र उच्च जोखिम भएका बीमकलाई पनि एउटै डालोमा हालेर पूँजी वृद्धिको लागि अनुचित दबाब दिएको छ । अर्कोतर्फ केही नयाँ बीमा कम्पनीले अपेक्षित व्यापार गर्न नसक्दा अहिलेकै पूँजी पनि उपयोगी हुन सकेको छैन । खराब प्रदर्शन गरिरहेका बीमकले नाफाबाट लगानीकर्तालाई बोनश शेयर वितरण गर्न सक्ने अवस्था नहुँदा अग्राधिकार शेयर(राइट शेयर)मार्फत् लगानीकर्तालाई थप लगानी गर्न बाध्य बनाउनु पनि उचित हुँदैन ।
बीमा समितिका पछिल्ला केही निर्देशिकाहरु बीमा क्षेत्रको सबलीकरणको उद्देश्यले भन्दा पनि निहित समूहको स्वार्थ पूर्तीको उद्देश्यले ल्याइएको भन्दै संगठितरुपमै बीमकले आलोचना समेत गरेका छन् । पूनर्बीमा निर्देशिका पनि यसको ज्वलन्त उदाहरण हो ।

पूँजी वृद्धिको दबाबले के हुनसक्छ संभावित असरः
१) सक्षम बीमकमा लगानी थपेर चुक्ता पूँजी पुर्याउने
व्यवसायीक प्रदर्शनी राम्रो गरेर लगानीकर्तालाई अपेक्षित प्रतिफल दिन सक्ने बीमकमा थप लगानीको लागी संस्थापकहरु र साधारण लगानीकर्ता समेत थप पूँजी लगानी गर्न मानसिकरुपमै तयार हुन्छन् । थप पूँजीले व्यवसाय विस्तारसँगै मुनाफा पनि विस्तार हुने अपेक्षामा यस्तो लगानीको लागि सकारात्मक वातावरण तयार हुन्छ ।

२) कमजोर बीमक आपसमा गाभिने
अपेक्षाकृतरुपमा राम्ररी व्यवसाय गर्न नसकेका बीमा कम्पनीमा थप पूँजी खन्याउनको लागी लगानीकर्ता सहजै तयार हुँदैनन् । यस्तो अवस्थामा समान स्थितिको अर्को कुनै बीमकसँग गाभिएर कम्पनीको चुक्ता पूँजी पु-याउने विकल्प उपलब्ध हुन सक्छ । वा कमजोर अवस्थाको कम्पनीलाई बलियो अवस्थाको कम्पनीले खरिद गरेर गाभ्ने विकल्प पनि छ । यो विकल्पले हाल रहेका बीमा कम्पनीहरुको संख्या घटाउनेछ । हाल बीमा समितिबाट इजाजत प्राप्त २० वटा निर्जीवन बीमा कम्पनी र १९ वटा जीवन बीमा कम्पनी संचालनमा रहेका छन् ।

३) पुराना बीमा कम्पनीमा नयाँ लगानीकर्ताको प्रवेश
बीमा कम्पनीको संचालकको रुपमा पहिचान बनाउने आकांक्षा बोकेर लामो समयदेखि नयाँ कम्पनीको इजाजत प्राप्त गर्न व्यग्रताका साथ पर्खिरहेका लगानीकर्तालाई संचालनमा रहेकै कम्पनीले संस्थापकको हैसियतमा प्रवेश गरेर थप चुक्ता पूँजीको जोहो गर्न सक्छन् । यसमा अहिलेकै संस्थापकहरुको कुनै समूहले गरेको लगानीको अंश कूल चुक्ता पूँजीमा कायम रहेको अहिलेको अंशको तुलनामा खुम्चिनेछ । नयाँ लगानीकर्ताले संस्थापक शेयर खरिद बिक्री गर्न पाँच वर्षसम्म कुर्नुपर्ने बाध्यता हुनेछैन ।

बीमा कम्पनीमा लगानी गर्ने प्रवद्र्धकले पाँच वर्षसम्म दोश्रो बजारमा संस्थापक शेयर खरिद बिक्री गर्न नपाउने प्रावधान छ । अहिलेको स्थितिमा नयाँ लगानीकर्ताले चुक्ता पूँजीको लागी चाहिने रकम र बीमा समितिको बिचौलियाले निर्धारण गरेको १० प्रतिशत घुस रकम समेतको व्यवस्था गरेर नयाँ कम्पनीको लागि स्वीकृति लिनुभन्दा पुरानै कम्पनीमा प्रवेश गर्नु उपयुक्त हुने केही बीमकको सुझाव छ ।

पुरानैमा प्रवेश गर्दाको फाइदाः
–तयारी संरचना र अनुभवी कर्मचारीको संमूह
–संस्थापक शेयर खरिद बिक्री गर्न पाँच वर्षसम्म कुर्नु नपर्ने
–नयाँ संरचना र जनशक्ति तयारीमा समय र पैसा दुबै खर्चेर जोखिम मोल्नु नपर्ने

संस्थापक शेयर खरिद बिक्रीको लागी बीमा समितिबाट पूर्व सहमति लिनुपर्ने बाध्यकारी प्रावधान रहेको छ । यसकारण पुरानै कम्पनीको संस्थापक शेयर खरिद बिक्रीमा बीमा समितिबाट कुनै बहानामा अंकुश लगाउने वा स्वार्थ पुरा नहुँदासम्म आलटाल गर्ने संभावनालाई नकार्न सकिदैंन ।

४) ठूलो चुक्ता पूँजीलाई लिएर नयाँ कम्पनीका लगानीकर्तासँग ठूलै घुसको बार्गेनिङ
बीमा समितिले हालकै चुक्ता पूँजीको आधारमा नयाँ बीमकलाई संचालन स्वीकृति दिंदा स्वीकृति दिन र दिलाउन भूमिका निर्वाह गर्नेले प्राप्त गर्ने घुसको आकार सानो हुनेछ । तर प्रस्तावित चुक्ता पूँजीको आधारमा नयाँ कम्पनीलाई स्वीकृति दिंदा प्राप्त हुने घुसको आकार दोब्बर हुनेछ ।

हामीले नयाँ लाइसेन्सको लागी चुक्ता पूँजी र स्पिड मनी बेग्ला बेग्लै खातामा जम्मा गर्यौ,बीमा कम्पनीको संस्थापक बन्न लालायीत एक व्यापारीले भने,धन्न हामीले पैसा दिई सकेका थिएनौं, अन्य केही लगानीकर्ताले स्पिड मनी नै बुझाइ सकेका छन् भन्ने सुनेका छौं । न्यूनत्तम चुक्ता पूँजी वृद्धिको दबाबले बीमा कम्पनीले प्रवद्र्धक र साधारण शेयरधनीलाई थप पूँजी लगानी गर्नको लागी विश्वस्त बनाउनुपर्छ । अहिले पूँजी बजारमा तरलता अभाव भइरहेको समयमा प्रवद्र्धक वा सर्वसाधारणले बोनश शेयर बाहेकको माध्यमबाट पूँजी जुटाउन सहज हुनेछैन । अर्कोतर्फ नयाँ बीमा कम्पनी संचालन गर्न पूँजी र घुस रकम समेत व्यवस्थापन गरेर तम्तयार रहेका संभावित नव प्रवेशी प्रवद्र्धकहरु संचालनमै रहेका कम्पनीमा शेयर लगानी गरेर संचालकको हैसियत प्राप्त गर्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS