काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८ औँ वार्षिक साधारणसभामा ६ जना सञ्चालक चयन भएका छन्। सञ्चालकमा संस्थापकतर्फ ४ जना निर्विरोध निर्वाचित भएका हुन् भने सर्वसाधारणतर्फ निर्वाचनमार्फत दुईजना विजयी भएका हुन्।
बैंकको ३८ वर्षको इतिहासमा सञ्चालक चयनका लागि यो दोस्रोपटक निर्वाचन भएको हो। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार सम्पन्न सभामा संस्थापकतर्फ दिपंकर शाक्य उदय, पृथ्वीबहादुर पाँडे, प्रजन्य राजभण्डारी र मदनकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्। संस्थापकतर्फ पर्वतकुमार कार्की, सूर्यप्रकाश लाल श्रेष्ठ र किरणप्रकाश पाण्डेले उम्मेदवारी फिर्ता लिएका थिए।
यसैगरी सर्वसाधारणतर्फ निर्वाचनमार्फत २ जना सञ्चालक चयन भएका छन्। सञ्चालकमा निर्वाचित हुनेमा कविकुमार टिबरेवाला र शालिकराम बेल्वासे रहेका छन्। सर्वसाधारणतर्फ ६ जनाले उम्मेदवारी दिएकोमा बरुण श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए। सञ्चालकमा विकास थापा, बन्दना पाठक र बन्दना थापाले उम्मेदवारी दिए पनि निर्वाचित भएनन्।
सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। सभाले सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ।