IME Life New

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतको अडानी ग्रुप इच्छुक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँदिल्ली । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अडानी ग्रुप इच्छा व्यक्त गरेको छ।

नेपाली राजदूतावास भारतले बुधबार नयाँदिल्लीमा आयोजना गरेको ‘दि पावर समिट २०२४’ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर आएको बताएका थिए। सोही क्रममा अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले नेपालमा ऊर्जामा लगानी गर्न इच्छा व्यक्त गरेका हुन् । ‘नेपालको ऊर्जा क्षेत्रको ठूलो सम्भावना देखेका छौँ’, उनले भने, ‘लगानीका लागि हामी इच्छुक छौँ।’

Esewa
Crest

कार्यक्रममा इप्पान अध्यक्ष कार्कीले धेरै ऊर्जाका आयोजनाहरु अघि बढेकोले भारतीय लगानीकर्ता र व्यवसायीका लागि अहिले सबैभन्दा ठूलो अवसर आएको बताएका हुन्। ‘नेपालमा सन २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्यसहितको मार्गचित्र तयार भइसकेको छ, यसले भारतीय लगानीकर्ताहरुलाई लगानीको लागि ठूलो अवसर निर्माण भएको छ, ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेशिन र उपकरणहरु समेत भारतबाटै आउने हुनाले व्यापार र व्यवसायका लागि पनि ठूलो अवसर सिर्जना हुँदैछ’, उनले भने।

नेपालले उत्पादन गर्ने उक्त परिमाणको विद्युतमध्ये १५ हजार मेगावाट भारत र बंगलादेशमा निर्यात गर्ने उद्देश्य राखेको र भर्खरैमात्र नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत खरिद विक्रीको दीर्घकालीन विद्युत व्यापार सम्झौता भएकोले भारतीय लगानीकर्ताले आँखा चिम्लेर नेपालमा लगानी गर्दा पनि फरक नपर्ने कार्कीको भनाइ थियो। नेपालमा अहिले करिब ३ हजार मेगावाट विद्युत उत्पादन हुँदा २ हजार ३०० मेगावाट निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको, ३ हजार ३०० मेगावाट निर्माणाधीन, ३ हजार ६०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा र १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा छन्। सबै गरेर ३० हजार मेगावाटका विद्युत आयोजनाहरु विभिन्न चरणमा रहेको र तत्कालै लगानी गरेर विकास गर्न सकिने ‘रेडि टु गो’ आयोजनाको संख्यासमेत धेरै रहेकोले भारतीय लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न कार्कीले आग्रह गरे।

ऊर्जा उत्पादकहरुको छाता संस्थाको हैसियतले इप्पानले नेपाल आउने जोसुकै लगानीकर्तालाई पनि सहजीकरण र सहयोग गर्ने पनि कार्कीले बताए। अहिले नेपाल र भारतबीच अन्तरदेशीय विद्युत व्यापार सम्झौता अन्तर्गत १ हजार मेगावाटसम्म विद्युत आदान प्रदान भइरहेको स्मरण गराउँदै कार्कीले निजी क्षेत्र पनि भारतीय निजी क्षेत्रसँग मिलेर ऊर्जा विकासमा सहकार्य गर्नुका साथै विद्युत व्यापारमा पनि सहभागिताका लागि अघि बढेको बताए। उनले भारतसँगको विद्युत आदानप्रदानका लागि नेपालमा ५ वटा कम्पनी स्थापना भइसकेको र अनुमतिपत्र कुरिरहेको पनि बताए।

अध्यक्ष कार्कीले आगामी बैशाख १२, १३ र १४ अर्थात अप्रिल २४,२५ र २६ मा इप्पानले हिमालयन हाइड्रो एक्स्पोको आयोजना गरिएको जानकारी दिँदै यसमा सहभागी हुन लगानीकर्ता, उत्पादनकर्ता, आपूर्तिकर्तालगायतलाई आग्रह गरे।

भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले नेपालमा ऊर्जामा लगानी गर्नका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे। ‘अहिले नेपालमा ऊर्जामा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको छ, लगानी सम्मेलनलाई लक्षित विभिन्न कानुनहरुसमेत संशोधन हुन लागेका छन्, अझ सहज वातावरण बन्दैछ’, उनले भने, ‘नेपालमा धेरै लगानीयोग्य आयोजना छन्, ढुक्क भएर लगानी गर्दा हुन्छ।’

समिटमा भारतको ऊर्जा मन्त्रालयका श्रीकान्त नागुलापालीले ऊर्जामा दुई देशबीच सहकार्य, समन्वय र सहजीकरण भइरहेको र भविष्यमा पनि यसैगरी अघि बढ्ने बताए।

लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै लगानी सम्मेलनमा आउन आह्वान गरे। केयर रेटिङ लिमिटेडका वरिष्ठ निर्देशक सव्यासची माजुमदारले नेपालको ऊर्जा विकासका लागि रेटिङ महत्वपूर्ण हुने बताए।

समिटमा नेपाल र भारतका ऊर्जासँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS